‘भेहिकल फ्रि जोन’ भएपछि सुन्दर बन्दै ठमेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 05:42:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी चापका कारण अस्तव्यस्त बनेको पर्यटकीय क्षेत्र ठमेल ‘भेहिकल फ्रि जोन’ भएपछि सुन्दर देखिएको छ । कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाइएको हो । 

जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण, नरसिंहचोकबाट पश्चिम र ठमेलको चोकबाट पश्चिम–दक्षिणका क्षेत्र ‘भेहिकल फ्री जोन’ भएका हुन् । ठमेललाई ‘भेहिकल फ्रि जोन’ बनाउनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ–संस्थाको सहयोग रहेको ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए ।

अभियानका अभियन्तासमेत रहेका श्रेष्ठका अनुसार सवारीसाधनको चापले कुरुप बन्दै गएको ठमेललाई ढिलै भए पनि सुन्दर बनाउन लागिएको छ । “ठमेललाई ‘भेहिकल फ्रि जोन’ बनाउने महाअभियानमा सफल भयौं ।” उनले भने, “यो १८ बर्ष पहिले नै मैले सोचेको थिएँ । तर त्यतीबेला अहिलेकोजस्तो साथ सहयोग पाउन सकिएन ।”

निकै लामो प्रयासपछि सफल भएको ‘भेहिकल फ्रि जोन’ का कारण ठमेल क्षेत्रमा पर्यटकहरू खुला तरिकाले हिँड्न थालेका छन् भने व्यवसायीहरूले पनि सहजको अनुभूति भएको बताएका छन् । “बिहान साढे सात बजेदखि राति १० बजेसम्म ठमेल क्षेत्रमा सवारी प्रवेशमा रोक लागेसँगै कुरुप ठमेल सुन्दरतामा परिणत भएको छ ।” एक व्यवसायीले भने, “योजना बनाएर अघि बढ्ने हो भने सबै संभव हुँदोरहेछ ।”  

ठमेल क्षेत्रलाई थप विकास गर्नका लागि व्यवसायीले आफूखुसी बनाएका होर्डिङ बोर्ड हटाएर निश्चित मापदण्डका होर्डिङ बोर्ड राख्ने, पार्किङलाई व्यवस्थित बनाउने, अब बन्ने नयाँ भवनहरूमा पार्किङसहितको बनाउने तयारी गरीरहेको पर्यटन ब्यवसायी समेत रहेका श्रेष्ठले जानकारी दिए । “आज अभियानको दसौं दिन हो । थोरै व्यवसायीबाहेक सबै सहमतीमा आइसक्नुभएको छ ।” श्रेष्ठ भन्छन्, “ठमेल मेरो मात्रै होइन् । सबैको ठमेललाई सुन्दर बनाउन जरुरी छ । जुन सफल भइसक्यो ।” कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved