पहिलो चरणको सबै मतपत्र छापियो, दोस्रो चरणको छाप्न सुरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 07, 2017 | 07:55:11 AM मा प्रकाशित

laxmi  sunrise bank

 पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको मतपत्र छपाइ सकिएको छ । छापिएका मतपत्रलाई निर्वाचन आयोगले धमाधम सम्बन्धित जिल्लामा पठाउन थालेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतपत्रसहितका निर्वाचन सामग्री कात्तिक २५ भित्र सम्बन्धित जिल्लामा पठाइसकिने बताए ।

सर्वोच्च अदालतको आदेशपछि आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको अलगअलग मतपत्र छाप्ने निर्णय गरेको थियो । एउटै पानामा तल र माथि दुवै मतपत्र छाप्ने तयारी भएका बेला उक्त निर्णयलाई परिवर्तन गरी आदेशअनुसार आयोगले अलगअलग मतपत्र छापेको हो ।

कात्तिक १० बाट एउटै पानामा मतपत्र छाप्ने कार्यतालिका थियो तर सर्वोच्चको आदेशका कारण १२ गतेबाट अलगअलग मतपत्र छाप्न थालिएको थियो । अलगअलग छाप्नुपर्ने भएपछि थप समय लाग्ने अनुमानविपरीत एक दिनअगावै सबै मतपत्र छापिएको छ । पहिलो चरणको मतपत्र २० गतेसम्म छापिसक्ने र दोस्रो चरणको २१ गतेदेखि छाप्ने कार्यतालिका थियो तर एक दिनअगावै पहिलो चरणको छाप्ने काम सकिएपछि दोस्रो चरणको छाप्न थालिएको छ ।

आयोगले कात्तिक २० गते जनक शिक्षा सामग्री केन्द्रलाई दोस्रो चरणको सुर्खेत, दैलेख, सल्यान, अछाम, डोटी, डडेलधुरा र कञ्चनपुर ७ जिल्लाका प्रतिनिधिसभातर्फका १२ र प्रदेशसभातर्फका २४ वटा निर्वाचन क्षेत्रको मतपत्र छाप्न निर्देशन दिइसकेको छ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको गरी ७५ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् । प्रत्येक सभाका लागि १२ प्रतिशतका दरले बढी संख्यामा मतपत्र छापिएको उनले बताए । पहिलो चरणका लागि छापिएका मतपत्र २२ जिल्लामा पठाइसकिएको छ ।

‘उम्मेदवार कम भएकाले सानो आकारका मतपत्र हुँदा छपाइ छिटो भएको हो,’ आयुक्त दाहालले भने, ‘दोस्रो चरणमा पनि काठमाडौं र तराईका केही जिल्लाबाहेकका मतपत्र पहिलो चरणकै जस्तै आकारमा हुनेछन् ।’ पहिलो चरणमा २ देखि बढीमा १७ जना उम्मेदवार छन् । अधिकांश निर्वाचन क्षेत्रमा १० जनाभन्दा कम उम्मेदवार छन् । त्यसअनुसार ‘ए फोर’ पानाभन्दा पनि केही सानो आकारका मतपत्र तयार भएका छन् । पहिलो चरणमा तेर्सोमा चारवटा र ठाडोमा पाँचवटा लहर हुने गरी २० वटा चिह्न अट्न सक्ने गरी मतपत्र छापिएको छ । प्रत्येक निर्वाचन क्षेत्रको फरकफरक मतपत्र हुनेछ । मतपत्रमा कम उम्मेदवार भएका स्थानमा थोरै र बढी भएका स्थानमा त्यही संख्यामा निर्वाचन चिह्न छन् ।

दोस्रो चरणमा प्रतिनिधिसभातर्फ ३१ र प्रदेशसभातर्फ ३५ जनासम्म उम्मेदवार छन् । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ २० जनाभन्दा बढी उम्मेदवार भएका निर्वाचन क्षेत्र १४ छन् । प्रदेशसभातर्फ २० बढी उम्मेदवार हुने क्षेत्रको संख्या पनि त्यही हाराहारीमा छ । २० भन्दा बढी उम्मेदवार भएका निर्वाचन क्षेत्रमा त्यहीअनुसार ठाडोमा निर्वाचन चिह्नको लहर थपिनेछ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाको २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । दोस्रो चरणमा धेरै मतदाता र निर्वाचन क्षेत्र छन् । आयोगले सबै मतपत्र छापेर मंसिर ११ भित्र जिल्ला पठाइसक्ने लक्ष्य राखेको छ ।

मतदाताले तीन थरी मतपत्र पाउनेछन् । सेतो कागजमा हरियो मसीले चिह्न रहेको प्रतिनिधिसभाको र सेतो कागजमा कालो मसीले चिह्न छापिएको प्रदेशसभाको मतपत्र हुनेछ । सेतो कागजमा रातो मसीले चिह्न छापिएको समानुपातिकतर्फको मतपत्र हुनेछ । एक मतदाताले तीनवटा मतपत्रमार्फत चारवटा मतदान गर्न पाउने प्रवक्ता ढकालले बताए । समानुपातिकतर्फ एउटै पानामा दुवै सभाको मतपत्र छापिएको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved