मन्दिर–मस्जिद धाउँदै उम्मेदवार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 06:51:45 AM मा प्रकाशित

laxmi  sunrise bank

कात्तिकयता बाँकेका धार्मिक स्थलमा मेला–पर्वको रौनक छ । उम्मेदवार मतदाताको मन जित्न मन्दिर, मस्जिद, गुरुद्वारा र चर्च धाउन थालेका छन् । उनीहरू धर्मगुरुहरूसँग आशीर्वाद थाप्छन्, मतदातासँग मत माग्छन् ।

यसले विभिन्न समुदायबीचको सम्बन्ध अझ कसिलो बनाएको छ । उम्मेदवारलाई भोट बढाउने अवसर जुरेको छ । धार्मिक स्थलमा हुने कार्यक्रममा भीड जम्मा हुने भएकाले निर्वाचन प्रचारप्रसारमा सजिलो भएको छ ।

संघीय समाजवादी फोरम नेपालबाट बाँके प्रतिनिधिसभा क्षेत्र २ मा उम्मेदवारी दिएका इस्तियाक राई सोमबार नेपालगन्जको फुल्टेक्रास्थित हडिया बाबा मन्दिर पुगे । त्यहाँका हिन्दु पुजारीसँग आशीर्वाद लिए । यहाँ जिल्लाकै सबैभन्दा ठूलो भण्डारा आयोजना गरिएको छ । जम्मा भएका सयौं भक्तजनका बीचमा आफ्नो परिचय दिएर भोट मागे । भक्तजनहरूसँग प्रसाद ग्रहण गरे । 

सोही प्रतिनिधिसभा क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार पशुपतिदयाल मिश्रा भण्डाराको उद्घाटन कार्यक्रममा हडिया बाबा पुगेका थिए । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओमप्रकाश आजाद पनि त्यहाँ पुगे । प्रतिनिधिसभा र प्रदेश निर्वाचनले नेताहरूलाई धार्मिक स्थलमा पुग्नुपर्ने बनाएको छ । उम्मेदवारहरू मुस्लिम समुदायले नमाज पाठ गर्ने दिन शुक्रबार मस्जिद पुग्न थालेका छन् । 

यसअघि नेपालगन्जको बीपीचोक नजिकै रहेको शिख समुदायको गुरुद्वारामा आयोजित भण्डारामा पुगेका थिए । ‘भोट माग्न घरदैलोमा व्यस्त छु । धार्मिक भण्डारामा पनि सहभागी भइरहेको छु,’ वाम गठबन्धनका उम्मेदवार मिश्राले भने, ‘सबै समुदायका धार्मिक कार्यमा पुगिरहेको छु ।’

फोरमका उम्मेदवार इस्तियाक राई पनि विभिन्न समुदायका धार्मिक कार्य र भण्डारामा सहभागी भइरहेको बताउँछन् । सर्वसाधारणले बोलाएका सबै स्थानमा पुगिरहेको उनले जनाए । मन्दिर व्यवस्थापनका लागि पनि उनी प्रतिबद्वता जनाइरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ।  

‘नेपालगन्ज धार्मिक सद्भावको सहर हो । सबै समुदायको धर्मलाई सम्मान गर्छु,’ राईले भने, ‘धार्मिक कार्यमा सहभागी हुँदा धेरैसँग भोट माग्न सहज भएको छ ।’ 

नेपालगन्जका मुस्लिम र मधेसी मतदाता तरल छन् । निर्णायक मत पनि उनीहरूकै हो । नेपालगन्जको एकलैनीमा मात्रै ८० प्रतिशत मत मुस्लिम समुदायको छ । उपमहानगरमा करिब २८ प्रतिशत मुस्लिम छन् । नेपालगन्जमा मतदानको अघिल्लो रातलाई ‘कतलकी रात’ भनिन्छ । त्यही रात भोट कसलाई दिनेबारे निर्णय हुने गरेको छ । त्यसैले उम्मेदवारहरू मुस्लिम अगुवाहरूलाई रिझाउने कसरतमा जुटेका छन् । धर्मगुरु र अगुवाहरूसँग भेटघाटलाई सघन पारेका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved