यसरी भइरहेको छ तरकारीमा ब्रह्मलुट ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 07:12:55 AM मा प्रकाशित

laxmi  sunrise bank

किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

प्रतिवेदनले व्यापारीले तरकारीमा न्यूनतम ७१.४३ प्रतिशतदेखि अधिकतम एक सय २२ दशमलव २२ प्रतिशतसम्म नाफा लिएर उपभोक्तालाई बिक्री गरेको देखाएको छ । आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले किसानको तरकारी मूल्यमा प्रतिकेजी ४५ रुपैयाँदेखि ५० रुपैयाँ थप गरी व्यापारीले उपभोक्तालाई बिक्री गर्दै आएको जानकारी दिए ।

‘परल मूल्यमा किलोमै ५० रुपैयाँ थपेर व्यापारीले उपभोक्तालाई तरकारी बिक्री गरेका कारण तरकारीको मूल्य महँगिएको हो’, निर्देशक श्रेष्ठले भने,‘संकलक, थोक बिक्रेता र खुद्रा बिक्रेतासम्मको तीन तहमा सहभागी व्यापारीले सहजै यो परिमाणमा नाफा लिने गरेका छन् । यसका कारण उपभोक्ताको भान्छा महँगिएको हो ।’

तरकारीको मूल्य अकासिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ध्यानाकर्षण भएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा कात्तिक २६ मा बसेको सर्वपक्षीय बैठकबाट बढ्दो तरकारीको मूल्य नियन्त्रण गर्न आपूर्ति विभागलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आपूर्ति विभागले तरकारीको मूल्य शृंखलाबारे अध्ययन गर्न विभागकै निर्देशक निरज पौडेलको संयोजकत्वमा टोली गठन गरेको थियो ।

टोलीले कात्तिक २८ देखि सोमबारसम्म स्थलगत अध्ययन गरी विभागलाई प्रतिवेदन बुझाएको छ । टोलीले काभ्रे पाँचखाल, धादिङ, नुवाकोट र मकवानपुरको दामन, पालुङ, बज्रबाराही र टिस्टुङका तरकारी उत्पादक, स्थानीय संकलक तथा व्यापारी, कालिमाटी बजारका व्यापारी, खुद्रा व्यापारीलगायतसँग अन्तत्र्रिmया गरी प्रतिवेदन तयार पारेको हो ।

‘अध्ययन गरी तयार पारिएको प्रतिवेदन यसै साता प्रधानमन्त्री कार्यालयलाई बुझाउँछौं’, निर्देशक श्रेष्ठले भने, ‘अन्तत्र्रिmयामा सहभागी व्यवसायीले खुला अर्थतन्त्र नीतिका कारण व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउनुपर्ने मागसमेत गरेका छन् ।’

प्रतिवेदनले किसानबाट तरकारी खरिद गरी थोक बिक्रेताले विभिन्न प्रकारका तरकारीमा प्रतिकिलोमा ४२.८६ प्रतिशतदेखि ७७.७८ प्रतिशतसम्म नाफा उपभोक्ताबाट असुल गर्ने गरेको औंल्याएको छ ।

यस्तै, थोक बिक्रेताबाट तरकारी खरिद गरी खुद्रा व्यापारीले २५ प्रतिशतदेखि ३३ प्रतिशतसम्म नाफा लिने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, किसानबाट खरिद गरिएको तरकारी थोक बिक्रेतादेखि खुद्रा बिक्रेतासम्मले भने ७१.४३ प्रतिशतदेखि एक सय २२ दशमलव २२ प्रतिशतसम्म मुनाफा आर्जन गर्दै आएको प्रतिवेदनले औंल्याएको छ ।

अध्ययन अवधिमा काभ्रे र धादिङका किसानबाट औसत ५५ रुपैयाँ प्रतिकिलो काउली खरिद गरी थोक व्यापारीले ८० रुपैयाँमा बिक्री गरेको उल्लेख गरिएको छ । सोही काउलीलाई खुद्रा व्यापारीले भने सय रुपैयाँमा बिक्री गरेको बताइएको छ ।

यस्तै, काभ्रे र धादिङका किसानबाट प्रतिकिलो ७० मा खरिद गरी थोक व्यापारीले सय रुपैयाँ प्रतिकिलोमा बोडी बिक्री गरेका छन् । खुद्रा व्यापारीले त्यही बोडी एक सय २० रुपैयाँमा बिक्री गरेको अध्ययनका क्रममा भेटिएको छ ।

तरकारी उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी चार तहसम्मको व्यापारी तरकारी व्यवसायमा संलग्न रहेको फेला परेको छ ।प्रतिवेदनले तरकारीको मूल्य सस्तो बनाउन किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्दा पार गर्नुपर्ने तहलाई घटाउनुपर्ने सुझाव दिएको छ । मूल्य नियन्त्रणका लागि उत्पादनको बजार व्यवस्थापन गर्न किसान सहकारीको सहभागितामा कालिमाटीलगायत ठूला बजारमा तरकारी बिक्री केन्द्रको व्यवस्थापन हुनुपर्ने सुझाव पनि दिइएको छ ।

स्थानीय व्यापारी तथा मध्यस्थकर्ताको घेराबाट किसानलाई मुक्त गराउन किसानलाई सहुलियत दरमा कृषि ऋणका साथै सहज रूपमा बीउबीजन र विषादीको सुविधा उपलब्ध गराउनुपर्ने र राज्यले हस्तक्षेपकारी भूमिका निर्वाह गरी बिचौलियाले मनोमानी रूपमा निर्धारण गर्ने मूल्यलाई अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ ।

सस्तिँदै तरकारी

प्रतिकिलो डेढ सयदेखि पौने दुई सय किलोमा तरकारी पाइने उपत्यकामा पछिल्लो दुई दिनदेखि मूल्य घट्न थालेको छ । तरकारीको मागअनुसार पर्याप्त परिमाणमा तरकारी आपूर्ति हुन थालेपछि मूल्य घट्ने क्रम सुरु भएको छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार तराईको चितवन, सर्लाही र नवलपरासी तथा उपत्यका वरिपरिका पाँचखाल, नौबिसे, धादिङ र ललितपुरबाट नयाँ उत्पादन भएको काउली, बन्दा र टमाटर भित्रिन थालेपछि मूल्य घट्न थालेको हो ।

‘पर्याप्त परिमाणमा तरकारी भित्रिन थालेपछि सोमबारदेखि प्रत्येक तरकारीमा १५ देखि २० प्रतिशत हाराहारीमा मूल्य घटिसकेको छ,’ घिमिरेले भने, ‘यही अवस्थामा पर्याप्त परिमाणमा तरकारी भित्रिने हो भने मंसिर महिनामा अहिलेको मूल्यमा झन्डै ५० प्रतिशतले कमी आउने सम्भावना छ ।’

कम आपूर्तिका कारण पछिल्लो समय साढे चार सय टन तरकारी भित्रिने कालिमाटीमा सोमबारदेखि करिब ६ सय टन र बल्खुमा दुई सय टन हाराहारीमा तरकारी आउन थालेको छ । कालिमाटीमा सात सय टन खपत हुन्छ भने बल्खुमा करिब तीन सय टन खपत हुन्छ ।

कुन तहमा कति हुन्छ मूल्य परिवर्तन (प्रतिशतमा) अन्नपुर्णपोष्टमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved