नक्सालमा निषेध गरिएका नवराज सिलवालको सिंहदरबार यात्रा, देउवाले रोके, जनताले चुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2017 | 08:21:05 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो राजनीतिक अनुभव भएका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गरिरहे पनि नवराज सिलवाल चुनाव जित्नेमा ढुक्क थिए । एमाले–माओवादीको संयुक्त वाम गठबन्धनबाट संयुक्त उम्मेदवार भएका कारण पनि उनी आफ्नो विजय निश्चित देखिरहेका थिए । 

राजनीतिक दलमा प्रवेशकै हिसाबले कांग्रेसका अनुभवी उम्मेदवारसँग चुनाव लड्न सिलवाललाई एक प्रकारले गाह्रो थियो । अर्कोतर्फ सजिलो पनि । 

उनले सजिलो बाटो अपनाए । कांग्रेस पार्टीबाट उनी पीडित बनाइएका थिए । उनले राजनीतिबाट पीडित भएकोले न्याय माग्न जनताकहाँ आएको एजेन्डा ल्याए । प्रहरी महानिरीक्षक नियुक्तिमा कांग्रेस सभापति शेरबहादुर देउवाले अन्याय गरेपछि उनी डीआईजी पदबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका थिए । 

२९ वर्ष प्रहरी सेवामा रहँदा दोस्रो नभएका सिलवाल जुन दिन आफूभन्दा मुनिका व्यक्तिलाई सलाम ठोक्नुपर्ने नियतिमा पुगे, त्यसपछि त्यो संगठनमा बस्न जरुरी देखेनन् । नेपाल प्रहरीमा त्यसअघि पनि कनिष्ठलाई वरिष्ठले सलाम गरिरहेको इतिहास थियो । तर, उनले यो नियति हटोस् भनेर कानुनी लडाइँ सुरू गरे । 

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले उनलाई प्रहरी महानिरीक्षक बनाउन परमादेशसहितको फैसला ग¥यो । सरकारले टेरेन । बरू, दोस्रो वरीयताका प्रकाश अर्याललाई नियुक्ति ग¥यो । त्यसविरूद्ध सिलवाल सर्वोच्च गए । न्याय माग्न अदालत गएबापत सरकार र प्रहरी नेतृत्वको योजनामा उल्टै पक्राउ गरियो । देउवा नेतृत्वमा सर्वोच्चकै प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइयो । त्यसपछि त न्यायको ढोका बन्दै भयो । अदालतलाई राजनीतिक दबाबमा राखियो ।

सर्वोच्चकै प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको बृहत् पूर्ण इजलासले प्रकाश अर्यालको नियुक्तिलाई सदर गर्ने आश्चर्यजनक फैसला सुनाउँदा सिलवालको एक वर्ष जागिर बाँकी थियो । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिलवाल नेतृत्वतहमा पुग्न योग्य हुँदाहुँदै पनि डीआईजीबाटै राजीनामा गर्न बाध्य बनाइए ।

एमाले राजनीतिमा प्रवेशसँगै ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उनले टिकट पाए । पार्टीले उनलाई कांग्रेस युवा नेता उदयशमशेर राणाविरुद्ध उठाएको थियो । राणा आफैंमा सिलवालका अघिल्तिर चुनौती थिए । 

सत्ता, पावर, पहुँच, पैसा, गुन्डा । देशको समग्र अर्थतन्त्रको ढुकुटीभित्र उदय शमशेरको हालीमुहाली थियो । तर, निर्वाचन सकिएर मतगणना सुरू भएपछि अर्थराज्यमन्त्री समेत रहेका राणाको ‘हालीमुहाली’को पासा पल्टिन थाल्यो । 

अन्तिम मतगणना सकिएसँगै शनिबार राति सिलवाल २६ हजार ९ सय ५१ को भारी मतले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । राणालाई सिलवालले ६ हजार २ सय २२ मतान्तरले पछारेका छन् । चुनावी प्रतिस्पर्धामा जित हात नलाग्दै सिलवाललाई भावी गृहमन्त्रीका रुपमा हेरिन थालेको थियो । संयुक्त वाम गठबन्धनको सरकार बनेपछि उनी गृहमन्त्री बनेको खबर सुन्न मतदाता र शुभचिन्तक आतुर देखिन्छन् ।

‘यो नेपालका सबै प्रहरीहरूको जित हो, न्याय हो,’ नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष वसन्त कुँवरले भने, ‘आम प्रहरीले प्रमुख भनेर हेरेको व्यक्तिलाई भ्रष्ट राजनीतिक नेतृत्वले जुन किसिमको अन्याय ग¥यो, त्यसैले सिलवालको भविष्य सुरू भयो ।’ पूर्वएसएसपी समेत रहेका कुँवरका अनुसार सिलवाल असाधारण व्यक्ति थिए, उनी प्रहरीको नेतृत्वभन्दा धेरै माथि आँकिएका थिए ।  

तर, उनी आफैं भने मन्त्री बन्ने नबन्ने कुरा आफ्नो प्राथमिकतामा नरहेको बताउँछन् । ‘मलाई अन्याय भएको थियो, म न्यायका लागि राजनीतिमा आएको मान्छे, म जनताको सेवामा समर्पित हुन्छु,’ सिलवाल भन्छन्, ‘प्रहरीमा रहँदा पनि मलाई पद ठूलो कुरा थिएन, न्यायका लागि लडेको मात्र थिएँ, मेरा लागि पद ठूलो रहेन ।’ 

सुरुवाती अग्रता उनको ६३ मतबाट भएको थियो । यो अग्रता डेढ सय, दुई सय, पाँच सय, हजार गर्दै जब पाँच हजार नाघ्यो, त्यसपछि निर्वाचन अधिकृतको कार्यालयबाहिर भीड बढ्न सुरू भयो । उनलाई विजयको माला पहि¥याउन शुभचिन्तक हतार गरिरहेका थिए । 

‘२९ वर्ष राज्यको सेवा गरेको व्यक्तिलाई जुन किसिमले पीडा दिइयो र उहाँ जनताकहाँ न्याय माग्दै भोट माग्न जानुभयो, त्यो नै मुख्य एजेन्डा हो, जनताले उहाँलाई न्यायदिए,’ गोदावरी नगरपालिका–१० का पुष्कर कुँवर भन्छन्, ‘राज्य निकायबाट यस्तो अन्याय अरुलाई नहोस् भन्दै जनता उहाँको पक्षमा खुलेर लागेको देखियो ।’ 

कुँवरका अनुसार अर्को एजेन्डा, सुशासन थियो । सिलवाल २९ वर्षसम्म राष्ट्रसेवामा रहँदा कतै भ्रष्टाचार गरेको देखिएन । बरू भ्रष्टाचारको विरोध गर्दा उनी सेवाबाटै हट्न बाध्य भए । ‘यस्ता कुराले जनताको मन छोएको थियो,’ कुँवर सम्झन्छन् । 

विकास र समृद्धिका लागि लागिपर्ने सिलवालको अर्को एजेन्डा थियो । कुँवरका अनुसार राणा जितेपछि यहाँका जनताले विकास चाहेका थिए, तर त्यस्तो अनुभूति भएन । विकट क्षेत्रका भूकम्पपीडित जनता पालमुनि बसिरहे, उनीहरूले राणाबाट राहत पाएनन् । ‘कांग्रेस देशभरि हार्नुमा म त सिलवाल प्रकरण र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग मुख्य कारण हो भन्ने बुझ्छु,’ कुँवरले भने, ‘कांग्रेस यदि सच्चिएको भए यस्तो दुर्दशा हुने थिएन ।’ 

कुँवरका अनुसार यो विजयसँगै आफ्ना एजेन्डा कार्यान्वयन गर्न सिलवाललाई चुनौती थपिएको छ । ‘यदि आफ्ना प्रतिबद्धता पूरा गर्न नसकेको खण्डमा अर्कोपटक सिलवालको अवस्था राणाकै जस्तो हुन्छ,’ कुँवर भन्छन्, ‘राजनीति सेवा हो भन्ने हिसाबले काम गर्न जरुरी छ ।’  

चापागाउँमा भएको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘नवराज सिलवाललाई जिताएर पठाउनुस्, डीआईजीभन्दा दुई÷तीन तह माथिकाले सलाम गर्ने ठाउँमा पु¥याउँछु ।’ ओलीको त्यस किसिमको अभिव्यक्तिले पनि सिलवालप्रति मतदाताले भरोसा राखेका रहेछन् । अन्यायमा पारेको व्यक्तिलाई पुनःजनताको सेवामा फर्काउने ओलीको त्यो अभिव्यक्तिले सिलवाललाई जनताले ‘परीक्षण’ गर्न चाहेको कुँवरको धारणा छ । 

प्रहरीमा उच्च ओहोदामा आसीन भएका व्यक्ति राजनीतिमा आएका उदाहरण नरहेका हैनन् । पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह माओवादी प्रवेश गरे । समानुपातिक सांसद बनेर कार्यकाल पूरा गरे । पूर्वएआईजी गणेशराज राई नयाँशक्तिमा प्रवेश गरेको केही समयमै छोडे । कतिपय पूर्वप्रहरीले चुनाव पनि लडेका छन्, तर प्रत्यक्ष निर्वाचनमा यस्तो जित निकाल्ने भने खासै छैनन् । 

संयुक्त वाम गठबन्धनले देशैभरि विजय हासिल गर्दा चार वर्षअघि मुख्यदल बनेको कांग्रेस तेस्रो दलका निम्ति संघर्ष गरिरहेको छ । कांग्रेसका प्रभावशाली नेताहरू बुढो रुख ढलेझैं चुनावमा पछारिएका छन् । 

यो हुनुमा कांग्रेस नेतृत्व, उसले गर्ने सरकार सञ्चालन पद्धति, अलोकप्रिय निर्णय, असक्षम नेतृत्वलाई दोष दिइन थालेको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले फेसबुकमा लेखेका छन्, ‘पार्टी सञ्चालन पद्धतिमा सुधार गरिएन भने अब कांग्रेस अगाडि बढ्न सक्दैन ।’ 

विजयपछि सिलवालले कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । प्रहरी महानिरीक्षक नियुक्तिमा आमने–सामने सिलवाल र देउवाको संसदीय यात्रा सुरू भएको छ । सम्भवतः सिलवाल सत्तामा र देउवा प्रमुख प्रतिपक्षी दलको सभापतिको हैसियतमा संसदमा हुनेछन् । ओलीको भनाइ कार्यान्वयन भए सिलवाल प्रहरी नेतृत्व नियुक्ति गर्ने ठाउँमा पुग्छन्, उनकै सिफारिस मन्त्रिपरिषद्मा जानेछ ।   

यो चुनावले कांग्रेस नेतृत्व र शुभचिन्तकलाई पार्टी सुधारका लागि सन्देश दिएको सिलवालले बताएका छन् । ‘अब हामी पाँच वर्ष सत्तामा रहेर सरकार कसरी सञ्चालन गर्नुपर्छ, राज्यका निकायहरू कस्तो बनाइनुपर्छ, सुशासन कसरी दिनुपर्छ कांग्रेसलाई देखाउँछौं,’ सिलवालले भने, ‘हामीले काम गरेको देखेर, सिकेर पाँच वर्षपछि कांग्रेस चुनावमा जाओस्, जनताको मन जितोस् शुभकामना छ ।’ 

सिलवालले आफूलाई विजय गराउन मेहनत गर्ने पार्टीका कार्यकर्ता, शुभचिन्तक, मतदाता र सद्भाव राख्ने सबै नेपालीलाई धन्यवाद दिएका छन् । उनले आफू जनताको सेवामा सधैं रहिरहने प्रतिबद्धता जनाएका छन् । सुशासन राष्ट्रिय साप्ताहिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved