मेलम्ची आयोजनालाई अख्तियारको प्रश्न काठमाडौँमा कहिले हट्छ धूलो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 20, 2017 | 06:14:39 AM मा प्रकाशित

laxmi  sunrise bank

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धूलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो, त्यसबारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले मङ्गलबार छलफल गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र कहिले धूवाँ र धूलोबाट मुक्त होइन्छ भन्दै नागरिकका तर्फबाट चासो र चिन्ता बढेपछि आयोगले आयोजनाका पदाधिकारीलाई बोलाएर छलफल गरेको आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आयोजनाको कार्यप्रगति र काठमाडौँ उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धूवाँ, धूलोले पारेको नकारात्मक प्रभावका बारेमा सम्बन्धित सरोकार निकायका प्रमुखसँग जानकारी लिँदै तत्काल पुनःनिर्माण गर्न निर्देशन दिनुभयो ।

सम्बन्धित निकायबीच समन्वयको अभावमा धेरै ठाउँमा कमजोरी देखिएको भन्दै प्रमुख आयुक्त बस्न्यातले काठमाडौँ उपत्यका खानेपानी आयोजनाको वितरण प्रणाली ठीक नभएको र नागरिकले शीघ्र रूपमा सेवा पाउने उपायका बारेमा सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो ।

आयुक्त नवीनकुमार घिमिरेले मेलम्ची खानेपानी आयोजनाले जुन गतिमा काम गर्नुपर्ने हो, त्यसअनुसार नभएको उल्लेख गर्दै जनताको चासोका विषयलाई छिटो सम्बोधन गर्न आयोजनालाई आग्रह गर्नुभयो । जनताले मेलम्ची आयोजना कहिले सम्पन्न हुन्छभन्दा पनि धारामा कहिले पानी आउँछ भनेर चासो राख्ने गरेको भन्दै त्यसका लागि भइरहेका प्रयासका बारेमा प्रस्ट रूपमा जानकारी दिनुपर्ने दायित्व आयोजनाको हो कि होइन भनेर प्रश्न गर्नुभएको थियो ।

राष्ट्रिय गौरवको आयोजना भन्ने तर काम गर्ने प्रवृत्तिचाहिँ पुरानै शैलीको भएको भन्दै अर्का आयुक्त डा. गणेशराज जोशीले ढिला गर्ने प्रवृत्तिको अन्त्य गरेर जिम्मेवारीबोधका साथ काम गर्न आयोजनाका अधिकारीलाई आग्रह गर्नुभयो । समस्या देखाएर पन्छने प्रवृत्ति बढ्दै गएको भन्दै अर्का आयुक्त डा. सावित्री थापा गुरुङले समन्वय गरेर कार्य सम्पादन गर्नुपर्ने र आम नागरिकले अनुभव गर्ने गरी आयोजनाको काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोगका सचिव राजन खनालले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यमा देखिएका कमजोरीलाई सुधार गरेर काठमाडौँको आवश्यकता पूरा गर्न सक्ने गरी आयोजनाको काम सम्पन्न हुनुपर्ने धारणा राख्नुभयो । मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र आयोजनाका परियोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले धेरैजसो पाइप बिच्छ्याइएको स्थानमा कालोपत्र र पुनःनिर्माणको काम भएको भए पनि केही स्थानमा भने नभएको बताउनुभएको थियो । गोरखापत्रमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved