जंगलमै बास बसेर सडक निर्माण गर्दै गाउँले

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 06:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्यूठानको जुम्रिकाँडाका स्थानीयबासी गाउँमा मोटरसाइकल चल्ने सडक पुर्‍याउन जुटेका छन्। नगरपालिकाले पदमार्गका लागि बजेट विनियोजन गरेपछि जंगलमै बास बसेर प्यूठान नगरपालिका–५ जुम्रिकाँडा चान्जाका बासिन्दा सडक निर्माणमा जुटेका हुन्।


चान्जा जाने घोरेटो बाटोसमेत नहुँदा स्थानीयले दुःख पाएका थिए। नगरपालिकाले पदमार्ग निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयले मोटरसाइकल पनि गुडाउन मिल्ने गरी २ मिटर चौडा बाटो बनाउन थालेका हुन्।


यहाँका २३ घरपरिवारका एकजना अनिवार्य बाटो खन्न आएको जुम्रिकाँडा–ठूलोगाउँ–लिस्ने–ठाकठोके–चान्जा पदमार्ग निर्माण उपभोक्ता समिति अध्यक्ष किमबहादुर घर्तीले बताए। ‘कात्तिक १३ गतेबाट बाटो खन्न थालेका छौं,’ उनले भने, ‘झन्डै १ किमि निर्माण पूरा भइसकेको छ।’


जिप पुग्ने सडक नभए पनि मोटरसाइकलसम्म गुड्न मिल्ने बनाउन जुटेको घर्तीको भनाइ छ। उनका अनुसार दसैं–तिहार मान्न घर आएका युवा बाटो खन्न भन्दै यसपालि कामको खोजीमा भारत समेत गएका छैनन्।


जंगलमै ‘क्याम्प’ बनाएर बाटो निर्माणमा जुटेको घर्तीले बनाए। सडक निर्माणमा युवादेखि वृद्धसम्म गैंती, झेम्पल लिएर कस्सिएको वडाध्यक्ष लछुमन भण्डारीले बताए। ‘पदमार्ग निर्माणका लागि बजेट परेपछि हौसिएका छौं,’ ६३ वर्षीय हस्तबहादुर खडकाले भने, ‘आफू हिँड्ने बाटो पनि बन्ने, पैसा पनि कमाइने खुसी नहुने कुरै भएन।’


स्थानीय देवीराम खडकाले दैनिक साढे ५ सय रुपैयाँ ज्याला तोकेर काममा जुटेको बताए। चान्जा पुग्ने पैदल मार्गसमेत नहुँदा बजेट विनियोजन गरेको प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपति बताउँछन्। ‘अन्यत्र मोटरबाटोका लागि बजेट माग्छन्,’ उनले भने, ‘चान्जामा तत्काल मोटरबाटो सम्भव नभएर पदमार्ग बनाउन लागिएको हो।’


प्राविधिक मूल्यांकन गरी बजेट नपुगे थप बजेट विनियोजन गरेरै भए पनि यस पटक पदमार्ग बनाएरै छाड्ने कक्षपतिले बताए। जुम्रिकाँडा ठूलोगाउँदेखि चान्जा करिब ६ किलोमिटर दुरीमा पर्छ। कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved