निजी अस्पतालले बिरामी ठग्ने शैली अनौठो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 06:56:17 AM मा प्रकाशित

laxmi  sunrise bank

जनतालाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले खुलेका ठूला अस्पतालको ठग्ने शैली अनौठो पाइएको छ । कसैको ध्यान नजाने हिसाबले ठूला अस्पतालले बिरामी ठग्ने गरेका छन् । दुई महिनादेखि निरन्तर आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा जनताले विश्वास गरेका अस्पतालले बिरामी ठग्ने शैली अनौठो फेला परेको हो।


विभागका महानिर्देशक कुमारप्रसाद दाहालले निजी अस्पतालको बिरामी ठग्ने शैली देखेर आफू चकित परेको बताए । ‘बिरामीले निजी अस्पतालको ढोका प्रवेश गरेदेखि बिरामी कुरेकोसम्म पैसा असुल्ने गरेका छन्, विभागले संकलन गरेको बिलमा यस्तो देखिएको हो,’ महानिर्देशक दाहालले भने।


प्रवेश शुल्क २३, बिरामी कुरेको ५५० रुपैयाँ


विभागले गरेको अनुगमनका क्रममा काठमाडौंको ईशान बाल तथा महिला अस्पतालले फरक शैलीमा बिरामीसँग रकम असुल्ने गरेको पाइएको छ । ‘अस्पतालको बिलमा उल्लेख भएअनुसार ढोका प्रवेश गरेको २३ रुपैयाँ ८१ पैसा र बिरामी कुरेबापत प्रतिदिन पाँच सय ५० रुपैयाँ छ । यस्तो लुट संसारमा कहीँ पनि हुँदैन,’ दाहालले भने, ‘यस्तो ठगीप्रति सम्बन्धित निकाय मौन बस्नु आश्चर्यको विषय हो ।’ डा। उपेन्द्र देवकोटाको न्युरो अस्पताल बाँसबारी, बी एन्ड बी अस्पताल ग्वार्कोले बिरामीसँग दोहोरो शय्या शुल्क, नर्सिङ, नर्सिङ सेवा शुल्क, बेड शुल्क, वेड सर्भिस चार्जजस्ता शीर्षकमा करोडौँ रुपैयाँ ठगेको बिलमा देखिएको छ ।


तीन अस्पतालमाथि मुद्दाको तयारी


आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गैरकानुनी रूपमा बिरामीसँग करोडौँ रकम ठगी गरेको आरोपमा मुद्दा चलाउन आइतबार महानगरीय प्रहरी परिसर हनुमानढोकामा आवश्यक सम्पूर्ण फाइल पठाएको छ । विभागका अनुसार तीन अस्पतालविरुद्ध ठगीको मुद्दा चलाइनेछ । ‘स्वास्थ्य सेवाका नाममा अराजकता मौलाएको छ, यसलाई नियन्त्रण गर्न नसके गरिब र विपन्न नागरिकले स्वास्थ्योपचार पाउने आधार गुम्नेछ,’ दाहालले भने, ‘बाँसबारीस्थित न्युरो अस्पतालमा एक बिरामीको अप्रेसनबापत पाँच लाख लिएको देखिएको छ । अस्पतालले अतिरिक्त सेवाबापत फेरि ५० हजार लिएको छ । यस विषयमा सम्बन्धित निकायले आवाज उठाउन आवश्यक छ ।’

निजी अस्पतालको ठगीविरुद्ध प्रमाणसहित मुद्दा अगाडि बढाइएको यो पहिलो घटना हो । विभागले बिरामीसँग गैरकानुनी रूपमा रकम असुलेको भन्दै थापाथलीस्थित नर्भिक, ग्रान्डी र वयोधा अस्पतालमाथि पनि मुद्दा चलाउने तयारी थालेको जनाएको छ ।

रकम उठाउनु गलतः अफिन

निजी अस्पतालहरूको छाता संगठन -अफिन-का उपाध्यक्ष कुमार थापाले गेट शुल्क र कुरुवासँग अस्पतालले रकम उठाउनु गलत भएको बताए ।

‘यस्तो सिस्टम मैले कहीँ पनि सुनेको र देखेको छैन, यदि यसरी पैसा बिरामीसँग उठाएको भए यो क्षम्य हुन सक्दैन,’ उनले भने । थापाले होटलमा एक या दुईजना बस्ने भन्नेमा शुल्क फरक–फरक भए पनि स्वास्थ्य संस्थाका यस्तो प्रवृत्तिबारे आफूलाई थाहा नभएको बताए । बिरामीसँग गैरकानुनी रूपमा रकम उठाएको विषयमा थापाले फरक मत राखेका छन् । उनले राज्यले नै १३ प्र्रतिशत भ्याट लिने व्यवस्था गरेअनुसार अस्पतालले लिएको स्वीकार गरे । नयाँ पत्रिकामा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved