राष्ट्रिय सभा, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवारी दिने गृहकार्यमा वाम गठबन्धन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 08:34:12 AM मा प्रकाशित

laxmi  sunrise bank

वाम गठबन्धनले पार्टी एकताको ‘स्प्रिट’का आधारमा राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार उठाउने गृहकार्य अघि बढाएको छ । प्रदेश सरकार, प्रदेश सभा र राष्ट्रिय सभामा गठबन्धनलाई निरन्तरता दिँदै सबै उम्मेदवार टुंगो लगाउने गरी गठबन्धनले गृहकार्य सुरु गरेको हो । प्रदेश सरकारका मन्त्री, प्रदेश संसद्को प्रमुख सचेतक र सचेतकलगायत पदहरूसमेत आपसी बाँडफाँड गर्ने गरी विस्तृत गृहकार्य गर्न गठबन्धनका तर्फबाट गठित संयुक्त कार्यदललाई कार्यादेश दिइएको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार गठबन्धनका तर्फबाट गठित संयुक्त कार्यदललाई पार्टी एकताको ‘स्प्रिट’का आधारमा राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकारसँग सम्बन्धित सिट र पद बाँडफाँड प्रस्ताव गर्ने गरी गृहकार्य गर्न निर्देशन दिएका हुन् । दुवै अध्यक्षको निर्देशनअनुसार राष्ट्रिय सभा निर्वाचन कार्यतालिकालाई ध्यानमा राखेर काम सुरु भएको कार्यदलका संयोजक सुवास नेम्वाङले बताए । ओलीनिवास बालकोटमा निर्देशन दिँदै दुवै नेताले निर्वाचनअगावै एकता प्रक्रियाको टुंगो लागे एकीकृत पार्टीका तर्फबाट उम्मेदवारी हुने गरी एकता संयोजन समितिले नै अन्तिम टुंगो लगाउने जानकारीसमेत गराएका छन् ।

‘राष्ट्रिय सभा गठन, प्रदेश सभा र प्रदेश सरकार गठनसँग सम्बन्धित सबै विषयमा साझा रूपमा अघि जाने गरी आधार र विषयमा सुझाब दिन अध्यक्षज्यूहरूले निर्देशन दिनुभएको छ,’ एमाले नेता तथा कार्यदलका संयोजक सुवास नेम्वाङले भने, ‘राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार, मुख्यमन्त्री, सभामुखसहित सबै विषयमा कार्यदलले आवश्यक सुझाब दिने गरी काम गर्नेछ ।’ निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार कार्यतालिका प्रकाशित गरेको छ । त्यसअनुसार १० माघका लागि उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएकाले गठबन्धनले माघको पहिलो साताभित्रै साझा उम्मेदवार बाँडफाँडलगायत विषय टुंगो लगाउने गरी गृहकार्य अघि बढाएको छ ।

एमाले अध्यक्ष ओलीनिवास, बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट नेम्वाङ र माओवादीबाट रामबहादुर थापा ‘बादल’ संयोजक छन् । त्यस्तै, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन र मातृका यादव सदस्य छन् ।

कार्यदलका लागि तीन मापदण्ड

ओली र प्रचण्डले मूलतः तीनवटा मापदण्डका आधारमा आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार दुवै दलले प्रतिनिधिसभा र प्रदेश सभामा प्राप्त गरेको जनमत र सिट संख्या, स्थानीय तहमा प्रदेशहरूमा जितेको प्रमुख र उपप्रमुख पदको सिट संख्या, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको ‘स्प्रिट’ र सन्तुलनलाई आधार बनाएर प्रस्ताव तयार पार्न नेताहरूले निर्देशन दिएका छन् । प्रस्तावको गृहकार्य सकिएपछि कार्यदलले पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउनेछ । नयाँ पत्रिकामा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved