राष्ट्र बैंकको कर्मचारीको मिलोमतोमा सुमार्गीले यसरी भित्र्याए १२ अर्ब ‘अवैध धन’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 09:17:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका अजेयराज सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका छन् । उनले करिब ९ अर्ब रुपैयाँ नेपालका कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचका बलमा भित्र्याइसकेका छन् । उक्त रकम अवैध भन्ने प्रारम्भिक पुष्टि भए पनि चौतर्फी दबाबका कारण थप छानबिन प्रक्रिया शिथिल बन्दै गएको छ ।


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अध्ययन समितिको निष्कर्ष ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसको एयरवेल सर्भिसेज प्रालिका नामबाट मात्र ९ पटक र अर्को टिपोलोजिया लिमिटेडबाट एकपटक बिनास्वीकृति रकम भित्र्याएका हुन् । सबैभन्दा बढी रकम ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीबाट ल्याएका छन् ।

प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसबाट ६ करोड ४८ लाख ५६ हजार ६ सय २३ अमेरिकी डलर (हालको मूल्यअनुसार करिब ६ अर्ब ६३ करोड ९ लाख ४१ हजार १ सय ३५ रुपैयाँ) भित्र्याएका हुन् । प्रतिवेदनअनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट प्रालि, डिलोर भेन्चर प्रालि र नोस्टल बिजनेस कर्पोरेसनबाट रकम भित्र्याएको देखिन्छ । यी तीन कम्पनीबाट मात्रै उनले ५ करोड ४ लाख ७२ हजार ५२ अमेरिकी डलर (५ अर्ब १५ करोड २९ लाख १ हजार ३ सय ७७ रुपैयाँ) रकम भित्र्याएका छन् (विस्तृतमा हेर्नुस् सूची) ।

बाँकी रकम भने इजिप्टको ओरासकम टेलिकम, बेलारुसको मारिया युकी अब्दो र सुमार्गी आफैंले नेपालको बैंक खातामा जम्मा गरेको देखिन्छ । हालसम्म उनले ११ करोड ८० लाख १६ हजार ३ सय ७५ अमेरिकी डलर (१२ अर्ब ६ करोड ५९ लाख ९४ हजार २ सय ६६ रुपैयाँ) र ३ लाख ८० हजार ब्रिटिस पाउन्ड (५ करोड २५ लाख ९२ हजार रुपैयाँ) भित्र्याइसकेका छन् । जुन हालको विनिमय दरअनुसार १२ अर्ब ११ करोड ८५ लाख ८६ हजार २ सय ६६ नेपाली रुपैयाँ हुन आउँछ ।

भित्र्याइएको सबै रकम ट्याक्स हेवनबाट हो । यी मुलुकमा सम्पत्ति र करबारे छानबिन हुँदैन । कागजी कम्पनी खोलेर अन्य मुलुकमा अवैध रकम स्थानान्तरण गर्न यी मुलुकमा सजिलो हुने व्यवसायी बताउँछन् । सुमार्गीले रकम ल्याउन प्रयोग गरेका मुलुकमा कम्पनी दर्ता गर्न, बैंकमा रकम जम्मा गर्न र ती देशबाट विदेश तथा विदेशबाट ती देशमा पैसा पठाउन सहज मानिन्छ, स्रोत खोजिँदैन । सुमार्गीले त्यस्तै मुलुक प्रयोग गरेका छन् ।

यस्ता मुलुकमा सेल कम्पनी खडा गरी विदेशी लगानी भन्दै कालो सम्पत्तिलाई सेतो बनाएर शुद्धीकरण गर्ने चलन बढेको छ । सेल कम्पनी भन्नाले भौतिक उपस्थितिबिनाको कागजी संस्था हो । यस्तो कम्पनीको आफ्नै मौलिक व्यापार व्यवसाय हुँदैन । सम्पत्ति तथा दायित्वहरूसमेत हुँदैन, ठेगाना र नाम मात्रै हुन्छ । यस्तो कम्पनी अपारदर्शी कारोबार गर्नेहरूले खासगरी कर नलाग्ने वा कम लाग्ने, सम्पत्तिको स्रोतमाथिको निगरानी कम भएका मुलुकमा दर्ता गर्छन् ।

प्रतिवेदनअनुसार उनले ८ अर्ब ९५ करोड ११ लाख ९१ हजार ६६ रुपैयाँ कुनै पनि निकायको स्वीकृति नलिई भित्र्याएका हुन् । ३ अर्ब १६ करोड ७३ लाख ९५ हजार २ सय रुपैयाँको मात्रै अनुमति लिएको देखिन्छ । अनुमति नलिई भित्र्याइएको रकममध्ये राष्ट्र बैंक र सम्बन्धित बैंकका अधिकारीहरूबीचको मिलेमतोमा करिब साढे ८ अर्ब रुपैयाँ प्रयोग गरिसकेका छन् । बाँकी भने नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकमा रोकिएको छ । यसबाहेक सुमार्गीले थप ११ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का रूपमा ल्याउने भन्दै उद्योग विभागमा प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावको प्रक्रिया भने अघि बढेको छैन ।



सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अध्ययन समितिको निष्कर्ष ।

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित प्रारम्भिक छानबिन समितिको प्रतिवेदनले सुमार्गीले विदेशबाट ल्याएको र पुन: ल्याउन लागेको २२ अर्ब रुपैयाँभन्दा बढी रकम अवैध रहेको निष्कर्ष निकालेको छ । भित्र्याइसकिएको र उद्योग विभागसमक्ष पेस गरेको प्रस्ताव एउटै हो वा फरक–फरक भन्नेबारे अध्ययन समितिले निष्कर्ष निकाल्न सकेको छैन । यस आधारमा उनले नेपालबाट बाहिर लगेर राखेका केही रकम उतै प्रयोग भइरहेको हुन सक्ने अनुमान गरिएको छ । हालसम्म ल्याइसकिएको र ल्याउन लागिएको रकम ट्याक्स हेवन मुलुकको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपन्यायाधिवक्ताको नेतृत्वमा सीईआईबी, राष्ट्र बैंकका अधिकारी सम्मिलित प्रारम्भिक अनुसन्धान टोलीले सुमार्गीबारे अध्ययन गरेको हो । प्रारम्भिक अध्ययनले अवैध निष्कर्ष निकालेपछि अध्ययन समितिले प्रतिवेदनमा भनेको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १५ अनुसार अनुसन्धान अधिकृत नियुक्त गरी अनुसन्धान गर्न उपयुक्त हुने देखिएको निर्णयार्थ पेस गरेका छौं ।’

ऐनअनुसार विस्तृत अनुसन्धान सुरु भएपछि आवश्यकताअनुसार सम्पत्ति रोक्का राख्नेदेखि लिएर पक्राउसमेत गर्नुपर्ने हुन्छ । तर एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट रही अन्य राजनीतिक दलका नेताहरूको समेत संरक्षण रहेकाले उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाउन नसकेको सरकारी अधिकारी बताउँछन् । हालको सरकारले समेत सुमार्गीको फाइल अघि बढाउन बेवास्ता गर्दै उनलाई संरक्षण गरिरहेको छ । उच्च राजनीतिक संरक्षणका कारण प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिने काम हुन सकेको छैन ।

अध्ययनअनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति दिने निकायहरू– उद्योग विभाग, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन् । २०६८ सालमा करिब तीन अर्ब रुपैयाँ बराबरको अनुमति भने लिएको देखिन्छ । बाँकी रकमका लागि भने कुनै पनि निकायबाट अनुमति नलिई भित्र्याएका हुन् । सुमार्गीको कम्पनीमा आएको रकमका लागि विदेशी विनिमय ऐन, २०१९ अनुसार डलर खातासमेत खोलेको देखिँदैन ।

सुमार्गीले कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन् । यसबाहेक लगानी स्वीकृत भइसकेपछि पनि विदेशी विनिमय ऐनको दफा १० अनुसार राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पालना पनि गरेका छैनन् । सुमार्गीले ४२ पटक रकम भित्र्याएको देखिन्छ ।

बिनाअनुमति भित्र्याइएको रकम नेपालको बैंकमा जम्मा भइसकेपछि उनले अन्य बैंकमा सार्ने, कर्जा लिने, अन्य संस्थाहरूमा राख्ने, परिवारका कम्पनीहरूमा रकमान्तर गर्ने, तोकिएभन्दा बाहेकको अर्को कम्पनीमा लगानी गरेको देखिएको छ । जबकि बिनाअनुमति लगानीकर्ताले यी काम गर्न पाउँदैनन् । त्यसो गर्न आवश्यक भए सरोकारवाला निकायसँग अनिवार्य स्वीकृति लिनुपर्ने तथा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने हुन्छ ।

एकपटक सुमार्गी आफैंले विदेशी लगानी भन्दै बेलायतबाट नेपालको आफ्नो कम्पनीले पाउने गरी रकमसमेत पठाएका छन् । सुमार्गी आफैंले बैंक अफ साइप्रस, बेलायतबाट नेपालमा रहेको आफ्नो कम्पनी मुक्तिश्री सिमेन्टमा समेत कानुनी प्रावधानविपरीत रकम पठाएको विवरण भेटिएको छ । ‘जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अजेयराज सुमार्गी पराजुलीले सन् २०१३ अप्रिल ८ मा २४ लाख ३० हजार ८ सय अमेरिकी डलर (करिब २५ करोड रुपैयाँ) मुक्तिश्री सिमेन्टमा पठाएको देखिन आएको हुँदा उक्त विषय थप शंकाको घेरामा रहेको,’ उक्त प्रतिवेदनमा उल्लेख छ ।

अनुमति दिने निकायले स्वीकृति दिएपछि पनि नेपालमा लगानी गर्न स्वीकृति पाएका विदेशी व्यक्ति तथा कम्पनीले नै यहाँको बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ, तर सुमार्गीले नेपालमा विदेशी लगानी भन्दै स्रोत नखुलेको रकम बेलायतस्थित बैंक अफ साइप्रसबाट आफंैले जम्मा गरेका हुन् । प्रतिवेदनअनुसार सुमार्गीका कम्पनी, उनकी श्रीमती सम्झना अर्याल, भाइ अरुण, बहिनी अनिता, बहिनी ज्वाइँ राजनप्रसाद सुवेदी, छोरा अभिमतराज, आमा विश्वकान्ति कलावती, भाइबुहारी अंकिता र कृष्णप्रसाद शर्मालगायतका नाममा रकम आएको देखिन्छ ।

उताबाट आइसकेको रकम भने जेठीसासू शिशु अर्यालको नाममा कैयौं पटक ट्रान्सफर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाजिम्पाटस्थित शिशु अर्यालका नाममा रहेको घरमा लामो समय बसेका थिए । छोरा प्रकाशको निधनपछि उनले उक्त घर छाडिसकेका छन् ।

कहाँबाट कति ल्याए ?


कान्तिपुर दैनिकबाट साभार

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved