गठबन्धन सरकारको कार्यक्रम बनाउन गौतमको नेतृत्वमा कार्यदल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 22, 2018 | 06:35:52 AM मा प्रकाशित

laxmi  sunrise bank

 एमाले र माओवादी केन्द्र एकताका लागि गठित पार्टी एकता संयोजन समितिले अब बन्ने वाम गठबन्धन सरकारको कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा एमालेबाट भीमबहादुर रावल र डा. विजय पौडेल तथा माओवादी केन्द्रबाट पूर्वअर्थमन्त्री वर्षमान पुन र नेता गिरिराजमणि पोखरेल सदस्य छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ पनि कार्यदलमा सदस्य छन् ।

यसअघि राष्ट्रिय सभा सिट बाँडफाँड र प्रदेश सरकार गठनको गृहकार्यका लागि गठबन्धनले ६ सदस्यीय कार्यदल बनाएका थिए । गत २५ पुसमा गठित कार्यदलले बैठकमा सिट बाँडफाँडसम्बन्धी प्रतिवेदन एकता संयोजन समितिलाई बुझाएको थियो ।

विकास र सुशासनका कार्यक्रमको गृहकार्य 

वाम कार्यदलले एमाले र माओवादीको गठबन्धन सरकारले तत्काल गर्ने विकास र सुशासनसँग सम्बन्धित कार्यक्रमहरूको गृहकार्य गर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । ‘कार्यदलले आगामी सरकारले गर्ने विकास र सुशासनसँग सम्बन्धित कार्यक्रमहरूको गृहकार्य गरेर एकता संयोजन समितिमा प्रस्तुत गर्नेछ,’ उनले भने ।

गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रस्तुत गरेको संयुक्त चुनावी घोषणापत्रका आधारमा नयाँ सरकारले गर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्रकृतिका कामको विस्तृत खाका बनाउने जिम्मा कार्यदललाई दिइएको नेताहरूको भनाइ छ ।

‘योजना र विकाससँग सम्बन्धित कामका प्राथमिकता निर्धारण गरेर कार्यदलले कार्यक्रम बनाउनेछ,’ बैठकपछि एमाले नेता सुवास नेम्वाङले भने । कार्यदलको कार्यक्रमलाई नै नयाँ सरकारले नीति तथा कार्यक्रमका रूपमा सार्वजनिक गर्ने एकता संयोजन समितिमा समझदारी भएको छ ।

थप छलफलपछि एकता कार्यदल

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच थप छलफल गरेर वैचारिक र सांगठनिक एकतासम्बन्धी कार्यदल गठन गर्ने बैठकले निर्णय गरेको छ । एक–दुई दिनपछि कार्यदल बनाउने समझदारी भएको एमाले नेता नेम्वाङले बताए ।

बैठकमा प्रचण्डले एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त, वैचारिक कार्यदिशा र सांगठनिक एकताका विषयमा ओलीसँग थप छलफलबाट समझदारी बनेपछि कार्यदल बनाइने धारणा राखेका थिए । ‘प्रचण्डको प्रस्तावपछि नेतृत्वमै थप छलफल र गृहकार्यको आवश्यकता महसुस भएकाले अर्को बैठकमा कार्यदल बनाउनेगरी बैठक टुंगियो,’ समितिका एक सदस्यले भने ।

मुख्यमन्त्री र सभामुख कार्यदलले छलफल गर्ने 

प्रदेश मुख्यमन्त्री र प्रदेश सभाका सभामुखबारे वाम कार्यदलमा छलफल हुने भएको छ । सांसदहरूको शपथलगत्तै प्रदेश सरकार गठनको बाटो खुलेकाले कार्यदलले राष्ट्रिय सभामा उम्मेदवारी दर्ता सकिएलगत्तै छलफल अघि बढाउने तयारी गरेको हो ।

‘१० गते राष्ट्रिय सभामा उम्मेदवारी दर्तापछि कार्यदलमा प्रदेश सरकार गठन र सभामुख÷उपसभामुख बाँडफाँडमा छलफल हुन्छ,’ कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘राष्ट्रिय सभाको उम्मेदवारी टुंग्याउन दुवै पार्टी आन्तरिक छलफलमा लाग्नुपर्ने भएकाले तीन–चार दिनपछि मात्रै छलफल अघि बढ्छ ।’

कार्यदलमा माओवादीतर्फका संयोजक रामबहादुर थापा बादल राष्ट्रिय सभामा उम्मेदवार बन्ने निश्चितजस्तै छ । यद्यपि, दुवै दलबीच एमालेले चार र माओवादी केन्द्रले दुई मुख्यमन्त्री लिने समझदारी भइसकेको छ भने सभामुख र उपसभामुखमा भने टुंगो लागेको छैन ।

राष्ट्रिय सभाको सिट बाँडफाँड अनुमोदन 

संयोजन समितिले राष्ट्रिय सभाको सिट बाँडफाँडसम्बन्धी वाम गठबन्धन कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ । यससँगै राष्ट्रिय सभामा एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा गठबन्धन उम्मेदवार उठाउने निश्चित भएको छ ।

३ माघमा सम्पन्न कार्यदलको बैठकले सिट बाँडफाँड टुंगो लगाएको थियो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved