नवराज सिलवालसँगको अन्तर्वार्ता 'फरार छैन, माघ ९ गते प्रहरी अधिकृतसँगै बसेर खाना खाएँको थिए'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2018 | 10:44:42 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वडीआईजी तथा नेकपा एमालेबाट निर्वाचित सांसद नवराज सिलवाललाई प्रहरीले खोजि गैरहेको छ । उनी बिरुद्द इन्टरपोलले डिफ्युजन नोटिस समेत जारि गरेको खबरहरु सार्बजनिक भएका छन्  । आईजीपी प्रकरणको विवादमा सर्वोच्च अदालतमा पेश भएका कार्य सम्पादन मूल्यांकन फरकफरक देखिएपछि अदालतले यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न परमादेश दिएको छ ।

यसै बिषयमा अनुसद्न्धन गर्न भन्दै प्रहरीले उनलाई खोजि गरिरहेको छ । तर सिलवाल भने आफु फरार नै नभएको भन्दै हालै मात्र प्रहरी अधिकृत संगै बसेर खाना खाएको दाबी गर्छन । हेर्नुस नेपाल साप्ताहिकमा नवराज सिलवालको अन्तर्वार्ता  ।

तपाईं साँच्चै फरार हो ?

जनताबाट चुनिएको म जनतासँगै छु । सरकार र प्रहरीका केही मानिसले एउटा झुटलाई दश हजार चोटि भन्दा त्यो सत्य हुन्छ भन्ने गोयबल्स शैलीमा ‘नवराज सिलवाल अपराधी हो’ भन्दै दुष्प्रचार गरिरहेका छन् । राज्य संगठित र प्रायोजितरुपमा मविरुद्ध प्रतिशोध साँध्ने हिसाबले प्रस्तुत भएको छ । 

कस्तो प्रतिशोध ? 

राजनीतिक प्रतिशोध देखिन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्रमार्फत् मलाई अदालतका मुद्दा फिर्ता लिएमा प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने प्रस्ताव पठाएका थिए । मैले पद प्राप्तिका लागि नभई अन्यायका विरुद्धमा लडेकाले मुद्दा फिर्ता नलिने बरु एउटा टुङ्गोमा पु¥याउने सन्देश पठाएँ । यही विषयलाई लिएर तत्कालीन प्रधानन्यायाधीशमाथि महाअभियोग लाग्यो । यसका सूत्राधार देउवा नै थिए । त्यसपछि यो प्रकरणका विभिन्न रुप देखिए । म प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा आएँ । त्यस प्रकरणसँग जोडिएका सबै कुरा चुनावी एजेन्डा नै बने र नेपाली कांग्रेसको पक्षमा लज्जास्पद नतिजा आयो । यसको कारण मेरै प्रकरणलाई ठानियो र देउवाले ममाथि राजनीतिक प्रतिशोधको डन्डा चलाइरहेका छन् । 

तपाईंमाथि लागेको आरोप राज्यले अनुसन्धान नै गर्न नपाउने हो र ? 

म नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरेको मानिस । अनुसन्धानको थालनी तथ्यका आधारमा हुनुपर्छ । तर, यहाँ त तथ्य एकातिर छ, अनुसन्धान अर्कैतिर । जहाँबाट सुरु गर्नुपर्ने हो, त्यहाँबाट नगरी एकैचोटि अन्तिममा रहेको ममाथि अनुसन्धान केद्रित छ । निष्पक्ष ढंगले अनुसन्धान गर्ने हो भने त कार्य सम्पादन मूल्यांकन राख्ने अधिकारीदेखि अनुसन्धान सुरु गर्नुपर्छ । कसरी मिडियामा त्यो गोप्य कागजात गयो ? यसमा छानबिन हुनुपर्छ । अनि पो मेरो पालो आउँछ । 

त्यो गोप्य कागजात त तपाईंले नै बुझाउनुभएको होइन, अदालतमा ? 

मैले त मिडियामार्फत जे सार्वजनिक भएको छ, त्यही प्रिन्ट गरेर बुझाएको भनेर बारम्बार भनिसकेको छु । 

तपाईंले बुझाएको फोटोकपीमै किर्ते भएको विधिविधान प्रयोगशालाको परीक्षणबाटै पुष्टि भएको छ नि ? 

८ चैतमा सर्वोच्च अदालतको पूर्ण इजलासको परमादेशमा ‘चार वर्षको कार्य सम्पादन मूल्यांकन कुल अंक सबैभन्दा बढी नवराज सिलवालले, दोस्रोमा प्रकाश अर्यालले, तेस्रोमा बमबहादुर भण्डारीले र चौथोमा जयबहादुर चन्दले प्राप्त गरेको तथ्य सरकारको सम्बद्ध निकायबाट विवादको सुनुवाइको क्रममा उपलब्ध गराइएको कार्य सम्पादन मूल्यांकन फारमको सक्कल प्रतिहरुबाट देखिन आयो’ भनिएको छ । तर पछि सरकारले अर्कैलाई एक नम्बर भनेर आईजीपी बनायो । सर्वोच्चले एक नम्बर भनेर किटान गर्दागर्दै सरकारले मलाई महानिरीक्षक नबनाएपछि न्यायालयको आदेश कार्यान्वयन गरी पाऊँ भनेर फेरि अदालत गएको हुँ । यसबाट दुई खालको कार्य सम्पादन मूल्यांकन सरकारले नै बनाएको देखिएन र ? संसारमा कहीँ पनि कार्यसम्पादन मूल्यांकन सार्वजनिक हुँदैन । यसको गोप्यता र सुरक्षाको काम जसको हो, उसैले यसको जिम्मेवारी लिनुपर्छ । छानबिनको विषय नै यही हो । तर यसमा संलग्नहरुलाई बचाउने र मलाई जसरी पनि अपराधी करार गर्ने दुर्नियत सरकारको छ । प्रहरी शक्तिको चरम दुरुपयोग हो, यो । 

अदालतले पनि छानबिन अघि बढाउन भनेको होइन ? 

मलाई सर्वोच्च अदालतले दोषी भनेको छैन । कार्य सम्पादन मूल्यांकन दुई खालको देखिएकाले यसबारे छानबिन गरी दोषीलाई कारबाही गर्नु भनेको हो । यति संवेदनशील कागजात कसरी बाहिरियो, कसले नक्कली बनायो, छानबिनको दायरामा पहिले नै आउनुपर्नेचाँहि नआउने अनि अन्तिमतिरको मचाहिँ सुरुमै कठघरामा उभिनुपर्ने ? 

तपाईंलाई फेला पारेर प्रहरीले बयान लिन नसक्नुले प्रहरीको अनुसन्धान पद्धति त साह्रै फितलो रहेको भनेर बुझ्दा हुन्छ ? 

यो प्रकरणमा ९९ प्रतिशत प्रहरी मेरो पक्षमा छन् । उनीहरु ‘प्रहरी नेतृत्वले सरलाई अन्याय–अत्याचार गरेको छ, तपाईंलाई हामी सुरक्षा दिन्छौँ’ भन्छन् । म प्रहरीसँगै छु । प्रहरीले नै मलाई संगठनभित्र भएका मेरा विरुद्धका षड्यन्त्रकारी सूचना दिइरहेका छन् । 

प्रहरीभित्रैबाट सूचना चुहिएर तपाईं फेला नपरेको अवस्था पो रहेछ उसो भए ? 

प्रहरीका बहुसंख्यकको मप्रति भरोसा छ । 

अदालतले नै आदेश दिएकाले छानबिन गर्न तपाईंले कसरी सहयोग गर्नुहुन्छ त ? 

अहिलेको जस्तो अनुसन्धान स्वीकार्दिनँ । निष्पक्ष निकायले छानबिन गर्नुपर्छ । यो प्रकरणमा संलग्न मेरो विपक्षीचाँहि शक्ति केन्द्रको ओतमा बसेर मालिकको सेवक बनेर निर्दोष हुन खोज्ने ? मुख्यसचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री देउवालाई खुसी पार्न एकै दिनमा पटक–पटक प्रहरी अधिकारीलाई फोन गरेर ‘सिलवाललाई समात्नुप¥यो’ भन्दै दबाब दिइरहेका छन् । यस्तो दबाबपूर्ण अनुसन्धानको तटस्थता रहँदैन । स्वतन्त्र अनुसन्धानलाई म सहयोग गर्छु । 

फेरि पनि अनुसन्धान गर्ने निकाय त प्रहरी नै हो नि, होइन ? 

प्रहरी नेतृत्व नै मेरो विपक्षी भएकाले उसले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय हुँदैन । 

कसले गर्ने त ? 

अलग खालको निकायले गर्नुपर्छ । एकपक्षीय अनुसन्धान गरेर त हुँदैन । 

विपक्षी संलग्न भएको निकायले अनुसन्धानमा बयान दिन्न, बयान÷अनुसन्धान रोकिपाऊँ भनेर अदालत जाने बाटो त थियो नि तपाईंसँग ? 

यो अदालत जानुपर्ने विषय नै होइन । सही अनुसन्धान हुनुपर्छ । 

आईजीपी बन्नुभएको भए अवकाशपछि राजनीतिमा आउनु हुन्थ्यो ? 

अवकाशपछि विश्वविद्यालयहरुमा पढाउने योजना थियो । किताब लेख्छु, पढ्छु भन्ने सोच थियो । तर परिस्थितिले राजनीतिमा हुत्यायो । आफ्नो क्षमता नयाँ प्लेटफर्ममा उपयोग गर्छु र मुलुकलाई योगदान गर्न सक्छु भन्ने मलाई विश्वास छ । 

राजनीतिक दलको छहारीचाँहि सबैलाई चाहिने रहेछ, होइन ? 

बर्दीमा रहुन्जेल म कुनै पार्टीको विचार, आस्थामा रहेका काम गरिनँ, राजनीतिक हस्तक्षेपको जहिल्यै विरोध गरेँ÷गर्छु । आज बहुसंख्यक प्रहरी मेरो पक्षमा उभिनुको कारण पनि मेरो व्यावसायिक निष्ठा र नैतिकता नै हो । तर सबै कुराले सक्षम हुँदाहुँदै पनि देउवाले मलाई प्रहरी नेतृत्वमा पुग्नबाट रोके । प्रचण्डले एक नम्बरलाई नबनाउँदा पापै लाग्छ भन्दा देउवाले सरकार नै छाड्ने धम्की दिए । देउवाको अन्यायपूर्ण प्रहारविरुद्ध म एक्लै लडिरहेको अवस्थामा विपक्षी दलका नेता केपी शर्मा ओलीले सदनमै मेरो न्यायको पक्षमा बोल्नुभयो । त्यसले मलाई तत्काल ठूलो राहत मिल्यो र कालान्तरमा पार्टीमै गएँ । 

आईजीपी नियुक्ति प्रकरणदेखि सांसद चुनिँदासम्मको उतारचढावलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

यो प्रकरणले नेपालको राजनीति, न्याय प्रणाली, प्रहरी प्रशासनको अवस्थिति सर्लक्क देखाइदियो । मुलुकले भविष्यमा सुधार गर्नुपर्ने पाटो देखाएको छ । 

शपथ कसरी लिनुहुन्छ त अब ? 

लिइहाल्छु  । जनता, प्रहरीकै माझमा छु । मेरो प्रतिरोध भनेको यो अनुसन्धानको नियतप्रति मात्रै हो । 

अनि, किन लुक्नुभएको त ? 

कसरी लुकेँ ? हिजो (९माघ) मात्रै प्रहरी अधिकृतसँगै बसेर खाना खाएँ । यति प्रहरी पठाएँ, उति उठाएँ भनेर नाटक मञ्चन गर्नेले मलाई देख्नै सक्दैन । 

अलि सहज भएपछि सबैले देख्नेगरी आउनुहुन्छ, त्यसो भए ? 

सहजभन्दा पनि निष्पक्ष अनुसन्धान भएमा कुन प्रश्नको कहाँ गएर उत्तर दिनुपर्ने हो दिन तयार छु । अनुसन्धानको दायरामा भएका १५ जनामध्येको एक हुँ । पहिले ती सबैको अनुसन्धान गरियोस् अनि म जवाफ दिन्छु । अनुसन्धानको चेन र सिद्धान्त मिल्नुप¥यो । 

भनेपछि आफू अनुकूलको अनुसन्धान हुने भए सहयोग गर्नुहुन्छ ? 

आफू अनुकूलको अनुसन्धान भनेकै छैन । निष्पक्ष, स्वतन्त्र र कानुनसम्मत अनुसन्धान हुनुप¥यो, अहिले नै तयार छु । बहुला कुकुर टोक्नका लागि आइरहेका छन् भने म निर्दोष भनेर उभिने कि बच्ने ? बच्नैप¥यो । 

भोलि तपाईंको पार्टी पनि सत्तामा आउँछ, फेरि प्रतिशोधको अर्को चक्र सुरु हुने होला होइन ? 

मलाई हिजो देउवाले र उनका सिण्डिकेटवालाले दुःख दिएकाले अझ फराकिलो क्षितिजयुक्त प्लेटफर्म पाएँ । जनताको माया पाएँ । उनीहरुको यो योगदान त धन्यवादको हकदार छ । हिजोबाट पाठ सिकेर अगाडि जाने हो । प्रतिशोधको निकृष्ट सोचबाट माथि उठेको मानिस हुँ म । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved