तत्काल बाम एकताको सम्भावना टर्यो, अब सरकार गठनपछि मात्रै हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 06:21:59 AM मा प्रकाशित

laxmi  sunrise bank

 केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय निष्कर्षमा नपुग्दा एकता प्रक्रिया पछि धकेलिएको हो।

नयाँ सरकार निर्माण, राष्ट्रपति, सभामुखलगायत चुनाव सकेर मात्रै यो विषयमा ‘निर्णायक’ छलफल हुने माओवादी वरिष्ठ नेता तथा पार्टी एकता संयोजन समिति सदस्य रामबहादुर थापा (बादल) ले बताएका छन्।

‘हाम्रो चाहना नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने गरी जानुपर्छ भन्ने थियो तर अहिले सरकार गठनअघि एकता प्रक्रिया निष्कर्षमा पुग्ने देखिएन’, नेता थापाले माओवादीका प्रदेश ३ का सांसदलाई बुधबार पेरिसडाँडामा प्रशिक्षण दिँदै भने, ‘अब सरकार गठन प्रक्रियाले पूर्णता पाएपछि मात्रै पार्टी एकताको विषय निष्कर्षमा पुग्छ।’

पार्टी एकता धकेलिने भएपछि राष्ट्रपति, सभामुखदेखि सबैमा दुई पार्टीले सिट संख्याका आधारमा दलीय भागबन्डा लगाउने भएका छन्। माओवादी नेता थापाले सबै पद दुई पार्टीबीच सहमतिका आधारमा टुंग्याउने र लगत्तै पार्टी एकताको निर्णायक वार्ता हुने बताएको माओवादी केन्द्रका नेता कुमार पौडेलले जानकारी दिए।

‘सरकारको कामले पार्टी एकताको छलफल पछि धकेलियो, अब यो सरकार गठनपछि नै निर्णायक मोडमा जान्छ’, थापालाई उद्धृत गर्दै पौडेलले अन्नपूर्णसँग भने, ‘राष्ट्रपति, सभामुखलगायत सबै विषयमा अब सहमति गरेर भागबन्डा हुन्छ। एकतिहाइका हिसाबले सरकारमा माओवादीले एमालेसँग गठबन्धन सरकारमा सहभागिता जनाउँछ।’

वाम गठबन्धन बनाएर एमाले–माओवादीले प्रतिनिधिसभादेखि प्रदेशसभासम्मको चुनाव संयुक्त घोषणापत्र बोकेर लडेका थिए। घोषणापत्रमा उल्लेख एजेन्डामा टेकेर वाम गठबन्धनकै सरकार निर्माण हुने बताएका थापाले एकता प्रक्रियामा भाँजो हाल्न खोज्नेहरूको सक्रियताका कारण सरकार गठनअगाडि एकता निष्कर्षमा पुग्न नसकेको बताए।


‘पार्टी एकता हुनुपर्छ तर एकतामा भाँजो हाल्ने प्रयास अहिले हुन थालेको छ। पार्टी नेतृत्व नदिने र माओवादीलाई साइजमा ल्याउने प्रयासमा एमालेभित्रका केही साथी लाग्न खोजिरहनुभएको छ, यसले पनि समस्या ल्याइरहेको छ’, थापाको भनाइ थियो।

पार्टी नेतृत्वका सवालमा विभिन्न विकल्पमा छलफल भए पनि छलफल निष्कर्ष उन्मुख हुने संकेत नदेखिएको थापाले प्रस्ट्याएका थिए। ‘पटक–पटक एमाले मूल नेतृत्वसँग छलफल भएका छन् तर ठोस निष्कर्षमा पुग्न सकिएको छैन’, थापाले भने।

पार्टी मूल नेतृत्वको विषयमा दुई वटा विकल्पमा छलफल भएको उनको भनाइ थियो। ‘पार्टी एकतापछि अध्यक्षमण्डल बनाएर पार्टी एकता गर्ने वा संसदीय दलका नेता र प्रधानमन्त्री एक जना, एकीकृत पार्टी अध्यक्ष एक जना हुने गरी जाने भन्ने विकल्पमा छलफल छ’, थापाले भने, ‘तर टुंगो लाग्न गाह्रो भइरहेको छ।’

प्रदेशसभा बोर्ड गठन

तीन नम्बर प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा प्रदेश सांसदहरूलाई माओवादीले संसदीय नियम, पार्टीले खेल्ने भूमिकादेखि राष्ट्रियसभा चुनावमा मतदान गर्ने तरिकामा केन्द्रित रहेर प्रशिक्षण पनि दिएको थियो। प्रदेश नियमावली, संविधानले व्यवस्था गरेको प्रादेशिक संरचनामा रामनारायण बिडारी र मुक्ति प्रधान तथा राष्ट्रियसभा चुनावको मतदान प्रक्रियाका विषयमा डोरप्रसाद उपाध्यायले प्रशिक्षण दिएका थिए।

बैठकले शालिकराम जम्मकट्टेलको संयोजकत्वमा प्रदेश संसद्लाई संयोजन गर्ने गरी प्रदेशसभा बोर्ड बनाएको छ। बोर्डमा मकवानपुरकी प्रदेश सांसद कुमारी मोक्तान र सिन्धुलीका प्रदेश सांसद वसन्त माझी सदस्य छन्। बोर्डले प्रदेश सभामुख, नियमावली, कार्यविधिलगायत संसदीय संरचना निर्माणमा दलको तर्फबाट भूमिका खेल्नेछ। अन्नपुर्ण 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved