कसले पचायाे हात्ती नियन्त्रणको ८ करोड ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 08:02:58 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत झापाको हात्ती नियन्त्रणका लागि पाँच महिनाअघि ८ करोड ८ लाख ९० हजार रुपैयाँ विनियोजन भए पनि काम हुन सकेको छैन ।

झापाको चारआली र जलथल जंगलको चारैतर्फ झन्डै ७० किलोमिटर सोलार फेन्सिङ गर्न वन विभागले २ असोजमा चलानी नम्बर १४६ बाट जिल्ला वन कार्यालयलाई पत्राचार गरी काम अघि बढाउन निर्देशन दिएको थियो । तर झापा वनले विभिन्न कारण देखाएर सो काम गर्न नसक्ने भनी रायसहित विभागलाई पत्राचार गरेसँगै हात्ती नियन्त्रण र सोलार फेन्सिङ कार्यक्रम अनिश्चित बनेको हो ।

कामको प्रगति विवरणअनुसार रकम निकासा गर्ने र चौमासिक निकासा गरिएको भन्दै विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरी महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक र कोलेनिका झापालाई बोधार्थसमेत पठाइएको थियो । तर रकम भने निकासा नगरिएको झापा जिल्ला वन कार्यालय प्रमुख बोधराज सुवेदीले बताए ।

काम गर्नू भन्ने आदेश आए पनि कोलेनिकामा पैसा नआएको उनको भनाइ छ । ‘ढिलो गरी बजेट पठाउने निर्णय भयो, ठूलो बजेट भएकाले सार्वजनिक खरिद ऐन तथा आवश्यक जनशक्तिको अभावमा समयमै काम सम्पन्न गर्न सम्भव थिएन,’ सुवेदीले भने, ‘हामीले विभागलाई पत्राचार गरेर यो रकम राष्ट्रिय प्रकृति संरक्षणकोष खुमलटारलाई काम गर्ने अधिकार दिई रकमान्तर गर्न उपयुक्त हुने सुझाव दिएका थियौं, के भयो, थाहा छैन ।’

राष्ट्रिय प्रकृति संरक्षणकोष खुमलटारले यसअघि पनि झापाको बाहुनडाँगी नेपाल–भारत सिमानाको मेची नदी किनारमा हात्ती नियन्त्रणका लागि गरेको सोलार फेन्सिङ टिकाउ र भरपर्दो भएको उनले दाबी गरे । उनले फेन्जगार्ड भारत रागामाला कोलेनी तमिलनाडुसँग सोझै सम्झौता गरेर काम गरे प्रभावकारिताका साथै समयमै सकिने उल्लेख गरे ।

हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ बनाउन छुट्टिएको ८ करोडभन्दा धेरै रकम प्रयोगमा नआउँदा झापाको सदरमुकाम चन्द्रगढी, बिर्तामोड, मेचीनगर बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका तथा कचनकवल र हल्दीबारी गाउँपालिकाका जंगलआसपासका हजारौं बासिन्दा रातभर जागै रहन बाध्य रहेको बताइन्छ । ‘हात्तीले रातभरि सुत्न दिन्न,’ बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीले भने, ‘बजेट विनियोजन भए पनि काम नहुनु दुर्भाग्य हो ।’

उता, वन मन्त्रालयका सचिव युवकध्वज जीसीले राजधानीसँग कुरा गर्दै खरिद प्रक्रियाबाट यो काम गर्न समयमै नसकिने देखेपछि रकमान्तरका लागि पटकपटक अर्थ मन्त्रालयमा लेखेर पठाएको जिकिर गरे ।उनले भने, ‘हामी झापाको हात्ती समस्याबारे अत्यन्तै चिन्तित छौं तर अर्थ मन्त्रालयले पैसा पठाउन अटेर गरेको हो, हाम्रो गल्ती छैन ।

जिल्ला वन कार्यालयमा तथ्यांकअनुसार झापामा हात्तीको आक्रमणबाट हालसम्म ३३ जनाको ज्यान गइसकेको छ । त्यस्तै, करोडांै रुपैयाँबराबरको नगदे तथा खाद्यान्न बाली हात्तीले नष्ट गरिसकेको छ । वन सुरक्षाकर्मी र प्रहरी हात्ती धपाउन रातभरि साइरन बजाउँदै खटिरनुपर्ने बाध्यता छ ।

‘जनताले दिनहँु हात्तीबाट प्रताडित हुनुपर्ने समस्याबाट मुक्ति दिलाउन ढिला गर्न नहुनेमा प्रदेशसभा सदस्य एकराज कार्कीले जोड दिए । ‘सरकारी प्रक्रिया र कमजोरीको कारण सोलार फेन्सिङ रोकियो भने जनता सडकमा आउँछन्, समयमै कार्यान्वयन होस्,’ अध्यक्ष कार्कीले भने । राजधानीमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved