सिंहदरबारका छतहरूबाट एक मेगावाट बिजुली उत्पादन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 25, 2018 | 07:42:56 AM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरूबाट सोलार (सौर्य ऊर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरूबाट सोलारमार्फत विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत् उत्पादन भएको हो । 


सिंहदरबार र आसपासमा रहेका २३ मन्त्रालय र विभिन्न सरकारी निकायहरूमा छतछतमा सोलार राखेर उत्पादन भएको बिजुली नेपाल विद्युत् प्राधिकरण ग्रीडसँग जोडिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । सोलारका लागि चिनियाँ सरकारले नेपाललाई ५५ करोड दिएको थियो भने जडानको काम ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसन लिमिटेड र परामर्शदाता कम्पनी चाइना न्यू इरा इन्टरनेशनल इन्जिनियरिङ कोअपरेसनले गरेको थियो । 


सोलारबाटै विद्युत् आपूर्ति हुन थालेपछि सिंहदरबारमा विद्युत् सेवाका लागि सहज भएको ऊर्जा मन्त्रालयले जनाएको छ । प्राधिकरणको सिंहदरबारमा रहेको ११ केभीको वितरण लाइनमा सिंक्रोनाइज गरिएको छ । मन्त्रालयका इन्जिनियर सञ्जीव रायका अनुसार कुल क्षमताको करिब ६० प्रतिशत सिंहदरबारभित्रका सोलारबाट उत्पादन भइरहेको छ । 


ऊर्जा मन्त्रालयका अनुसार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको छतबाट सबैभन्दा बढी ९४.०८ किलोवाट विद्युत् उत्पादन भएको छ भने कृषि विकास बैंकको छतबाट ९२.१२ र राष्ट्रिय वाणिज्य बैकबाट ८९.३२ किलोवाट विद्युत् उत्पादन भएको छ । सबैभन्दा कम भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पार्किङ क्षेत्रबाट ११.७६ र रेडियो नेपालको छतबाट १२.३२ किलोवाट उत्पादन भएको छ । सिंहदरबारका ऊर्जा, परराष्ट्र, शिक्षा र महिला तथा बालबालिका मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, हुलाक क्षेत्रीय कार्यालय तथा सिंहदरवारसँग जोडिएका जिल्ला विकास समिति, जिल्ला अदालत, लगायतबाट विद्युत् उत्पादन भएको कारोबार दैनिकमा खबर छ ।


२०६७ सालमा सिंहदरबारभित्र ५ मेगावाट सोलारमार्फत उत्पादन गर्ने योजना बनाएपनि साढे तीन बर्ष अघि मात्र चिनियाँ कम्पनीले सिंहदरबारभित्रका ३५ र बाहिरका १५ सरकारी कार्यालयका छतबाट उत्पादनबारे अध्ययन सुरु गरेको थियो । अध्ययनले ती भवनमध्ये आधाबाट मात्र उत्पादन हुन सक्ने देखाएको थियो । टिनका छाना भएका, घाम कम लाग्ने लगायतका कारण कतिपय भवनहरू सोलारका लागि अनुपयुक्त देखिएका थिए ।
सुरुमा सिंहदरबारभित्रका छत उपयोग गर्दा सोलारबाट ५ मेगावाट विद्युत् उत्पादन गर्ने अपेक्षा गरेपनि चिनियाँ कम्पनीले गरेको अध्ययनले एक मेगावाटमात्र उत्पादन गर्ने देखाएको थियो । अध्ययनकै क्रममा २०७२ वैशाखमा भूकम्प आएपछि आयोजना अघि बढाउन ढिलाइ भएको थियो भने यही भुकम्पको कारणले भत्केपछि सिंहदरबारका केही भवन सोलार प्लान्ट जडान गर्न अयोग्य भएका थिए । अध्ययनपछि ३० सेक्टेम्बर २०१६ मा १ मेगावाट बराबर उत्पादन गर्ने गरी मन्त्रालय र चीनीयाँ दुताबासबीच सम्झौता भएकोमा ६ महिना अघिदेखि सोलार जडान सुरु गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved