किन नेपाल आउदै छन् पाकिस्तानी प्रधानमन्त्री, यस्तो छ दुवै देशको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 06:50:46 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासी नेपालको निमन्त्रणामा नभई आफ्नै इच्छामा मंगलबार दिउँसो दुईदिने सद्भावना भ्रमणका क्रममा काठमाडौं आउँदै छन् । भ्रमण टोलीमा विदेशमन्त्री खवाजा मोहम्मद असिफ, परराष्ट्र सचिव तेहिमना जान्जुआ, परराष्ट्र प्रवक्ता डा. मोहम्मद फैसललगायत एक दर्जन उच्च अधिकारी रहनेछन् ।


आफ्नै विमानमा आउन लागेका पाकिस्तानी प्रधानमन्त्रीले नेपाली समकक्षी केपी ओलीसँग सोमबार साँझ रात्रिभोजसहित औपचारिक वार्ता गर्दै छन् । उनको भ्रमणबारे औपचारिक घोषणा नहुँदै काठमाडौंका चोकचोकमा शनिबार साँझ नेपाल र पाकिस्तानको झन्डा फहराइएको छ । प्रधानमन्त्रीनिकट एमाले नेताले पाकिस्तानकै इच्छाअनुसार सद्भावना भ्रमण हुन लागेको जानकारी दिएका छन् ।

‘पाकिस्तानका प्रधानमन्त्रीले प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन नेपाल आउने इच्छा गर्नुभयो, बधाई दिन आउँछु भनेपछि नेपालले स्वीकार नगर्ने प्रश्नै भएन,’ एमाले नेता डा.राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘कूटनीतिक च्यानलमार्फत उहाँको भ्रमण तय भएको हो । कूटनीतिक च्यानल र मर्यादा बाहिरबाट भ्रमण हुन लागेको होइन ।’ उनले सोमबार साँझ प्रधानमन्त्री ओली र मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तय भएको छ । भेटवार्तालगत्तै पाकिस्तानी प्रधानमन्त्री स्वदेश फर्किने कार्यक्रम छ ।

विश्व र क्षेत्रीय परिस्थितिबारे छलफल हुने
एमाले नेता भट्टराईले औपचारिक भेटवार्तामा हुने कुराकानीका लागि नेपालका तर्फबाट ठोस एजेन्डा तय नगरिएको बताए । ‘दुईजना शीर्ष नेताको भेटवार्तामा स्वाभाविक रूपमा समसामयिक विश्व परिस्थिति र क्षेत्रीय परिस्थिति, सार्क शिखर सम्मेलन, नेपाल पाकिस्तान सम्बन्धका विषयमा कुराकानी हुन्छ नै, तर यही हुन्छ भन्ने छैन,’ भट्टराईले भने । उनले पाकिस्तानका प्रधानमन्त्रीको भ्रमणले कोही पनि तरंगित हुनु नपर्ने बताए । ‘यो दुई देशको मामिला हो, यसमा कोही पनि उत्तेजित वा तरंगित हुनुपर्ने आवश्यकता छैन,’ भट्टराईले भने ।

भ्रमणबारे थाहा छैन : कांग्रेस
कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणबारे आफ्नो पार्टी जानकार नरहेको बताए । ‘उहाँ कुन सन्दर्भमा आउन लाग्नुभएको हो भन्ने औपचारिक जानकारी छैन, हामीले सञ्चारमाध्यममा आएका खबरभन्दा अरू जानकारी पाएका छैनौँ,’ महतले नयाँ पत्रिकासँग भने, ‘उहाँलाई हामी स्वागत गर्छौँ, सार्क प्रक्रिया बढ्नुपर्छ भन्नेमा कांग्रेस स्पष्ट छ । पाकिस्तानमा १९औँ शिखर सम्मेलन हुन नसक्ने हो भने त्यसैलाई प्रतिष्ठाको विषय बनाएर सम्मेलन रोक्नुहुन्न, सबैलाई सहज हुने अन्य देशमा पनि आयोजना गर्न सकिन्छ । यसबारेमा सरकारले स्पष्ट पार्नुपर्छ ।’

पाकिस्तानको यस्तो तयारी
कूटनीतिक स्रोतका अनुसार पाकिस्तानले सार्कको १९औँ शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवादका लागि पाकिस्तानका प्रधानमन्त्री अब्बासीले ओलीसँग आग्रह गर्ने तयारी गरेका छन् । ४ चैत ०७२ मा पोखरामा सम्पन्न सार्क विदेशमन्त्रीस्तरीय बैठकले २४–२५ कात्तिक ०७३ मा इस्लामाबादमा सार्कको १९औँ शिखर सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । तर, पाकिस्तान र भारतबीचको तनावका कारण अन्तिम समयमा भारतले सहभागी हुन नसक्ने जनाउ दिएपछि सम्मेलन हुन सकेन । भारतलाई बंगलादेश र भुटानले समर्थन गरेका थिए ।

पाकिस्तानले नेपालसँग द्विपक्षीय लगानी संवद्र्धन तथा प्रवद्र्धन सम्झौता (बिप्पा)मा हस्ताक्षर गर्ने प्रस्ताव पुनः दोहोर्‍याउने तयारी गरेको छ । पाकिस्तानले बिप्पाको प्रस्ताव नेपाललाई चार वर्षअघि पठाएको थियो भने नेपालले त्यसको जवाफ पठाएको छैन ।

पाकिस्तानले २४ चैत ०७३ मा नेपालबाट बेपत्ता भएका पाकिस्तानी सेनाका कर्नेल मुहम्मद हबिब जाहिरको खोजीका बारेमा पनि चासो राख्ने बुझिएको छ । ‘यस विषयमा छलफल गर्ने तयारीमा हामी छौँ,’ पाकिस्तानी कूटनीतिक स्रोतले भन्यो । गत चैत २४ गते ओमन एयरलाइन्सको उडान नम्बर डब्लुवाई ०३३३१ बाट काठमाडौं ओर्लेका पाकिस्तानी सेनाका पूर्वलेफ्टिनेन्ट कर्नेल मुहम्मद हबिब जाहिर भैरहवाबाट बेपत्ता भएका थिए । उनको अहिलेसम्म अत्तोपत्तो छैन । पाकिस्तानी राहदानी नम्बर एजे ५१२२९६४ रहेका उनी काठमाडौं ओर्लेलगत्तै बुद्ध एयरको उडानबाट त्यही दिन भैरहवा पुगेपछि बेपत्ता भएको पाकिस्तानी दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

नेपालको तयारी
एजेन्डाविनाको भेटवार्ता भनिए पनि नेपाल र पाकिस्तानका सम्बन्धित अधिकारीले भेटवार्तामा विषयवस्तुबारे तयारी गरेका छन् । नेपालले पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान सुचारु गर्नुपर्ने विषय उठान गर्नेछ । स्रोतका अनुसार भारत र पाकिस्तानबीचको समस्या आपसी संवादबाट शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने नेपालको धारणा प्रधानमन्त्रीले दोहोर्‍याउनेछन् । कुनै पनि बहानामा सार्क प्रक्रिया अवरुद्ध गर्न नहुने, बरु पाकिस्तानमा सम्भव नभए अन्य देशमा भए पनि शिखर सम्मेलन आयोजना गर्नुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राख्ने तयारी गरेका छन् । नया पत्रिका 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved