कमजोर सुरक्षा, भद्रगोल उद्धार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 06:55:57 AM मा प्रकाशित

laxmi  sunrise bank

दुर्घटनाको १० मिनेटसम्म दमकल पुगेन, पछि सुरक्षाकर्मी मात्र होइन, सर्वसाधारणले पनि धावनमार्ग पार गरे

जहाज धावनमार्ग छाडेर पूर्वी–दक्षिणतर्फको घाँसेमैदानमा जोतियो । जहाजबाट आगो र धुवाँको मुस्लो छुट्यो । त्यसको १० मिनेटपछि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थल पुगे । तर, उद्धार रफ्तारमा हुन सकेन । सुरक्षाकर्मी आपसमा अलमलिरहेका देखिन्थे । उद्धारमा खटिएका नै अलमलमा परेपछि दुर्घटनापछिको परिस्थिति भद्रगोल बन्न पुग्यो । दुर्भाग्यवश ५० यात्रुले ज्यान गुमाए ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा गार्ड प्रमुख एसएसपी प्रेम चन्द उद्धारमा भद्रगोल भएको स्विकार्न तयार छैनन् । कुनै कसर बाँकी नराखी उद्धार गरिएको उनले बताए । उनी भन्छन्, ‘दुर्घटनालगत्तै सुरक्षाकर्मी उद्धारमा खटिएका हुन् । दमकलले आगो निभायो । अति प्रज्ज्वलनशील पदार्थलाई आगोले टिप्ने डरले विशेष खालको ‘फम’ प्रयोग गरियो, घाइतेलाई विमानस्थलको मूलगेटबाट लैजाँदा समय लाग्ने भएकाले भन्सारतर्फको गेट प्रयोग गरियो ।’

विमानस्थलभित्र हुन सक्ने दुर्घटनाको क्षति न्यूनीकरण गर्न र यात्रुको उद्धार गर्न प्रत्येक वर्ष सुरक्षाकर्मीले काल्पनिक घटनाको रिहल्सन (डेमो) गर्ने गर्छन् । त्यसवेला दुर्घटना भएको दुई मिनेटमै घटनास्थलमा सुरक्षाकर्मी पुगेको र उद्धारमा खटिएको देखाइन्छ । तर, सोमबार भएको दुर्घटनामा रिहल्सनमा गरिएझैँ दुई मिनेटमै सुरक्षाकर्मी घटनास्थल पुगेको देखिएन । न त उद्धार नै छरितो भयो । तर, एसएसपी चन्द भने १० मिनेटभित्र यो सब काम भएको भन्दै काम चुस्त भएको दाबी गर्छन् ।

विमानस्थलभित्र  क्षणभरमै सयौँको भिड

विमानस्थलको सुरक्षा अति संवेदनशील मानिन्छ । अत्यावश्यक जाँच गरेपछि मात्रै सर्वसाधारणले विमानस्थलमा प्रवेश पाउँछन् । तर, सोमबार दुर्घटनाग्रस्त जहाज जलेको हेर्न दर्जनौँ सर्वसाधारण घटनास्थलमै पुगे । कतिपय चप्पलसमेत नलगाई घटनास्थलतर्फ हान्निएका देखिन्थ्यो । उनीहरू हात हल्लाउँदै ‘अलिहेसम्म उद्धारका लागि सेना प्रहरी आएको छैन’ भन्दै थिए । यतिसम्म कि रमिता हेर्न केटाकेटीसमेत पुगेका थिए । त्योभन्दा ठूलो भिड विमानस्थलको पूर्वी–दक्षिणतर्फको पेप्सिकोलातिरको गेटमा देखिन्थ्यो । यही गेटबाट सर्वसाधारण विमानस्थलभित्र छिरेका थिए । घटनास्थलमा सर्वसाधारणको भिड बढेपछि गेटमा खटिएका सुरक्षाकर्मीले अरूलाई भने भित्र जान रोकेको थियो । त्यसैले गेटमा भिड बढेको थियो ।

तर, एसएसपी चन्द विमानस्थलभित्र सर्वसाधारण नछिरेको दाबी गर्छन् । ‘विमानस्थलको कुनै पनि गेटबाट सर्वसाधारण घटनास्थल छिरेका छैनन् । मिडियाकर्मीलाई समेत घटनास्थल छिर्न रोक लगाइएको थियो । टाउजर र हाफपाइन्टमा देखिएका त सिभिलमा खटिएका सुरक्षाकर्मी हुन् । तत्काल उद्धारमा खटिनुपर्ने भयो । त्यसैले उनीहरू जस्तो अवस्था थिए, सोही अवस्थामा उद्धारमा खटाइएको हो,’ चन्दले दाबी गरे ।


जगेडा सुरक्षाकर्मी छैनन् 

विमानस्थलमा नियमितबाहेक आकस्मिक सुरक्षामा खटाउन जगेडा सुरक्षाकर्मीको व्यवस्था छैन । त्यसैले सोमबार नियमित सुरक्षामा खटिने २५ सुरक्षाकर्मीलाई दुर्घटनास्थलतर्फ खटाइयो । त्यसपछि मात्रै उद्धारका लागि थप सुरक्षा बल माग गरिएको थियो ।

एसएसपी चन्दले भने, ‘यहाँ रहेका २० देखि २५ सुरक्षाकर्मी तत्काल दुर्घटनास्थलमा खटाइयो । थप सुरक्षाकर्मी त्यसपछि मागिएको हो । त्यसवेलासम्म सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी पनि घटनास्थल आइसकेका थिए । सबै गरी करिब ३ सयको संख्यामा सुरक्षाकर्मी उद्धारमा खटिएका थिए 

विमानस्थलको प्रत्यक्ष सुरक्षा नेपाल प्रहरीको कमान्डमा छ । विमानस्थलभित्रको सम्पूर्ण सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी रहन्छन् । यसका लागि नेपाल प्रहरीको मात्रै ३ सय ७ दरबन्दी छ, कमान्ड डिआइजीले गर्छन् । विमानस्थलको यो नियमति सुरक्षा संयन्त्र हो । यो संयन्त्रमा चौबिसै घन्टा सुरक्षाकर्मी खटिनुपर्छ । त्यसैले यहाँको सुरक्षाकर्मीलाई झिकेर अन्त लैजान सकिँदैन । अत्यावश्यक परे बाहिरैबाट थप सुरक्षाकर्मी माग्नुपर्ने हुन्छ । विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी पनि हुन्छन् । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved