मोहम्मद अज्मत अलि/बिजपाटी     Mar 15, 2018 | 06:45:37 AM


sunrisebank ruslan

मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ। नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन्। सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन्। 

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरलायन्सको विमान दुर्घटनामा परी आफ्नो २४ वर्षीया डाक्टर छोरी गुमाएकी उर्मिला प्रधान पोस्ट्रमार्टममा राखिएको छोरीको शवको सम्पूर्ण पहिचानसहित हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन्। ५८ वर्षीया उर्मिला निकै विक्षिप्त अवस्थामा थिइन्। उनी बुधबार दिनभर अस्पताल परिसरमा छिनमै रुने, कराउने र छोरी सम्झिएर बरबराउने  गरिरहेकी थिइन्।

उर्मिला विगत दुई दिनदेखि मृतक छोरी श्वेता थापाको शव बुझ्न त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक ल्याब परिसरमा धर्ना दिएर बसेकी छन्। तर, बुधबार एकाएक सम्बन्ध विच्छेद गरेर बसेका (पूर्वश्रीमान्) गजेन्द्र थापा छोरीको शव दाबी गर्न आएपछि उर्मिला आश्चर्यचकित भइन्।

नुवाकोटको विदुर नगरपालिकास्थित थुम्काका गजेन्द्र थापासँग उर्मिलाको दशकअघि सम्बन्ध विच्छेद भएको थियो। सम्बन्धविच्छेद भएदेखि नै गजेन्द्र थापा छोरी श्वेतालाई उर्मिलासँगै छाडेर अर्की श्रीमती लिएर छुट्टै बस्दै आएका थिए। श्वेतालाई हुर्काउने र पढाउने सबै काम आमा उर्मिलाले नै गरेकी थिइन्।

उनले आप्mनी छोरीलाई डाक्टर बनाउन नेपाल राष्ट्रिय वाणिज्य बैंकको ललितपुर शाखाबाट २० लाख रुपैयाँको शैक्षिक कर्जासमेत लिएको बताइन्। सम्बन्ध विच्छेद भइसकेका श्रीमान्ले गरेको दाबीमाथि प्रश्न गर्दै राजधानी दैनिकका मधुजंग पाण्डेसंग शर्मिलाले भनिन्, ‘मैले छोरी श्वेतालाई हुर्काएर ठूलो बनाएँ।दुःख गरेर पढाएँ। तर, अहिले आएर छोरीको शवमा दाबी गर्दै छ।’ 

कानुनी रूपमै सम्बन्ध विच्छेद गरेर अहिले ललितपुरको गोदावरी टौखेलमा माइतीहरूसँगै छुट्टै घर बनाएर बस्दै आएकी उर्मिलाले छोरीलाई डाक्टर बनाउन बंगलादेशको सिलेटस्थित जलालाबादको रागिव रवैया मेडिकल कलेजलाई ३८ हजार डलर बुझाएकी थिइन्। त्यहाँ होस्टेलमा बसेबापत थप ५ सय डलर तिर्नुपर्ने थियो।

गत सोमबारको दुर्घटनामा ज्यान गुमाएकी श्वेता एमबीबीएस अध्ययन पूरा गरेर घर फर्किंदै थिइन्। उनले काठमाडौं आएपछि आमालाई चन्द्रागिरि र पोखरा जाने योजना बनाउन भनेकी थिइन्। छोरी फर्किने दिन श्वेतालाई लिन आफू विमानस्थलमा पुगेको बताउँदै उर्मिलाले भनिन्, ‘बंगलादेशको विमान ल्यान्ड हुँदै छ भन्ने सूचना आयो।  अब ४० मिनेटपछि बाहिर आउँछे भनेर खुसी भएको थिएँ। तर, त्यसको केही मिनेटमै विमान दुर्घटनाग्रस्त भएको र आफ्नो आँखै अघि छोरी दन्किएको आगोमा पोलिइन्। छोरीले भनेका सबै खत्तम भयो। अब मैले छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ।’

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali










Close in 7