सुन प्रतितोला ६० हजार पुग्ने संकेत, यस्तो छ कारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 07:10:47 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनबीच पछिल्ला दिनमा बढेको व्यापारिक विवादको असर सुन बजारमा देखिएको छ । विश्व बजारमा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न सुन रोज्दा दुई दिनमा प्रतितोला झन्डै एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५७ हजार चार सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार पाँच सय रुपैयाँ बढेर ५७ हजार नौ सय पुगेको थियो । शुक्रबार त्यसमा चार सय थपिएर ५८ हजार तीन सय रुपैयाँ प्रतितोला पुग्यो । शुक्रबारको तुलनामा आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेर ५८ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आगामी केही दिनमा सुनको मूल्य भारी रुपमा बढ्न सक्ने विश्लेषकले बताएका छन्।

पछिल्लो समय अमेरिका र चीनबीच व्यापारिक गतिरोध उत्पन्न भएको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘त्यसैका कारण लगानीकर्ता सुनमा आकर्षिक भएका छन्,’ शाक्यले नागरिकसँग भने, ‘आफ्नो लगानी सुरक्षित गर्न सुन किन्नेको संख्या बढेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै स्थानीय बजारमा यसको असर परेको हो।

शाक्यका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार तीन सय ४२ डलर थियो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य एक हजार चार सय अमेरिकी डलरसम्म पुग्न सक्ने विश्लेषण भइरहेको शाक्यले बताए । विश्व बजारमा भएको अनुमान अनुसार सुनको मूल्य प्रतिऔंस एक हजार चार सय डलरसम्म पुगेमा नेपाली बजारमा प्रतितोला ६० हजार रुपैयाँसम्म पुग्ने शाक्यको भनाइ छ।

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनबाट आयात हुने सामानमा भारी कर लगाउने घोषणा गरेको छ । विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार अमेरिकाले चीनबाट आयात हुने ६० अबै डलर बराबरको सामानमा थप कर लगाउने घोषणा गरेको छ ।अमेरिकाको यो घाषणासँगै चिनियाँ राष्ट्रपति सी जिङफिङले अमेरिकी अवरोधको डटेर सामना गर्ने भन्दै अमेरिकाबाट आयात हुने ३.२ अर्ब डलरको सामानमा थप कर लगाउने बताएको समाचार आएको छ।

यी दुई ठूला राष्ट्रबीचको यही ‘व्यापार युद्ध’का कारण विश्व बजारका लगानीकर्ताले सुरक्षित ठाउँ खोजिरहेको विश्लेषकको भनाइ छ । दुई राष्ट्रको टकरावले युरोप लगायतको अर्थतन्त्रमा समेत असर गर्न सक्ने अनुमान चलिरहेको छ । युरोपेली देशहरू पनि अमेरिकाको यो नीतिबाट सशंकित भएको भन्दै यसले विश्व आर्थिक क्षेत्रमा गम्भीर असर गर्न सक्ने अनुमान गरिएको छ ।‘यो विषयलाई केही दिनमा समाधान गरिएन भने सुनको मूल्यमा भारी बढोत्तरी हुन सक्छ,’ शाक्यले भने, ‘आगामी दुई–तीन दिन त उकालो लाग्ने निश्चित नै छ।’   

सुनको मूल्यमा वृद्धि हुनुको अर्को कारणमा अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले यही मार्चसम्ममा वार्षिक ब्याजदर बढाउने भनिए पनि त्यसो नगरेकाले लगानीकर्ता सुनतिर आकर्षित भएको शाक्यको भनाइ छ । ‘बैंकले ब्याजदर बढाउने भनेको एकैपटक नभएर तीनपटक गरेर भएकाले पनि लगानीकर्ता सुनमा आकर्षित भएका छन्,’ महासंघले सुनको मूल्य वृद्धि हुनुको कारण भनेको छ । डलर कमजोर हुनुलाई पनि सुनको मूल्यवृद्धि हुनुको कारण मानिएको छ।

यसअघि भदौमा अमेरिका र उत्तर कोरियाबीच विवाद बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको थियो । त्यो बेला उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण, शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबीच विवाद उत्पन्न भएको थियो ।नेपाली बजारमा हालसम्म सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँसम्म पुगेको अभिलेख छ । २०६९ सालमा प्रतितोला ६३ हजार रुपैयाँ पुगेको सुन त्यसपछि ४८ हजार रुपैयाँसम्म झरेको थियो । नागरिक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved