भारतले बढायो नेपाललाई बेच्दै आएको बिजुलीको भाउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2018 | 07:18:44 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो।

भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु (६.३६ रुपैयाँ) बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ।  नयाँदिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच यही अप्रिलदेखि लागू हुने गरी १५ महिनाको पिपिए भएको हो । पिपिएको म्याद जुन २०१९ सम्म रहनेछ। गत डिसेम्बर २७ मा नवीकरण भएको पिपिएको म्याद यही १७ चैत (३१ मार्च) मा सकिँदैछ।

पिएमा कार्यकारी निर्देशक घिसिङ र एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बुधबार नयाँदिल्लीमा हस्ताक्षर गरेका छन्। प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पिपिए हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट विद्युत् आयात सुनिश्चित भएको बताए। ‘हामीले अहिले दिइरहेको दरमा विद्युत् दिन वार्तामा अडान राख्यौं,’ उनले भने, ‘भारतीय बजारमा विद्युत्को मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत् दिनै नसकिने भारतीय पक्षले अडान राखेपछि ६ महिनाका लागि प्रतियुनिट मूल्य ३.९८ भारु (६.३६ रुपैयाँ) र त्यसपछि बाँकी अवधिका लागि उक्त मूल्यमा पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ।’ 
प्राधिकरणले एनभिभिएनसँग सुरुमा प्रतियुनिट भारु ३.४४ भारु (५.५० रुपैयाँ) मा पिपिए गरेको थियो। भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि बढेर  प्रतियुनिट ३.६० भारु पुगेको छ।

नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत बिजुली आयात गरिरहेको छ। भारत सरकारले एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) लाई नोडल एजेन्सी तोकेको छ । प्राधिकरणले एनभिभिएनसँग पिपिए गरी विद्युत् आयात गरिरहेको छ। एनभिभिएनले भारतीय सर्वोच्च अदालतले वातावरण प्रदूषण कम गर्न न्यूनस्तरको इन्धन पेट्रोलियम कोक (पेट कोक) र फर्नेस आयलमा प्रतिबन्ध लगाउँदा त्यसबाट विद्युत् उत्पादन गर्ने प्लान्टहरु बन्द भएका, पेटकोकबाट कोइला प्रतिस्थापित हुँदा बिजुली उत्पादनमा प्रयोग हुने इन्धनको मूल्य २४ देखि ३५ प्रतिशत बढी पर्ने, भारतको विद्युत् एक्सचेन्ज बजारमा बिजुलीको मूल्य महँगो रहेकोलगायतका कारण देखाउँदै प्राधिकरणको मागअनुसार बिजुली उपलब्ध गराउन सकेको थिएन। 

एनभिभिएनले तिनै कारण देखाउँदै बिजुलीको मूल्य नबढाइ ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्रतियुनिट ३.६० भारुमा बिजुली दिन नसकिने बताउँदै आएको थियो। भारतको विद्युत् एक्सचेन्जको औसत ‘मार्केट क्लियरिङ प्राइस’ प्रतियुनिट ४.१९ भारु छ। भारतले बंगलादेशलाई प्रतिस्पर्धात्मक बोलपत्रमार्फत  १५ वर्षसम्म पाँच सय मेगावाट विद्युत् निर्यातका लागि प्रतियुनिट ७.७ अमेरिकी सेन्ट पिपिए दर तय गरेको छ। भारत सरकारको डिप पोर्टलमार्फत अल्पकालीन बोलपत्र गर्दा निर्धारण भएको बिजुलीको मूल्य प्रतियुनिट ४.२८ देखि ८ भारुसम्म पुगेको पाइएको छ। 

 प्राधिकरणले भारतबाट व्यापारिक रुपमा, विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धिअन्तर्गतको बिजुली ल्याइरहेको छ । भारतबाट व्यापारिक रुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्जअन्तर्गत बिजुली आइरहेको छ।
 
दुई मुलुकबीचको पावर एक्सचेन्च कमिटी (पिइसी) ले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट बिजुली आयात गर्छ।  १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने बिजुलीको प्रतियुनिट मूल्य भारतीय रुपैयाँ क्रमशः ५.५५ भारु (८.८८ रुपैयाँ), ६ भारु (९.६ रुपैयाँ) र ६.४५ भारु (१०.३२ रुपैयाँ) छ। नागरिक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved