उपराष्ट्रपति नै क्रिस्चियन धर्मको प्रचार गर्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 08:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार दोलखाको शैलुङमा रहेको शारदा माविको भवन उद्घाटन गर्न गएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रयोग गर्दै आयोजकले क्रिस्चियन धर्मको प्रचार गरेका छन् । विद्यालय भवन निर्माणमा आर्थिक सहयोग गरेको ‘दयाका हातहरू’ नामक संस्थाले उपराष्ट्रपतिलाई प्रयोग गर्दै क्रिस्चियन धर्म प्रचारका सामग्री वितरण गरेको हो ।

कार्यक्रम तालिकाभन्दा बाहिर गएर आयोजकले बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका सामग्री बाँड्न थालेपछि विवादसमेत उत्पन्न भएको थियो । आयोजकले बालबालिकालाई शैक्षिक सामग्री भन्दै क्रिस्चियन धर्मका प्रचार सामग्री बाँड्न थालेपछि शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले उपहार नबाँड्न आयोजकलाई निर्देशन दिएका थिए ।

शैक्षिक सामग्री भन्दै बाँडियो बाइबल
भवनको उद्घाटनपछि आयोजक संस्था दयाका हातहरूका अध्यक्ष बेनीबहादुर कार्कीले ८ नम्बर वडाभरिका विद्यार्थीलाई शैक्षिक सामग्री बाँड्ने भन्दै मञ्चअगाडि भेला पार्न लगाएका थिए । कार्यक्रम तालिकामा शैक्षिक सामग्री वितरण गर्ने उल्लेख नै भएको भन्दै उपराष्ट्रपतिका सुरक्षाकर्मीले कार्यक्रम नराख्न आयोजकलाई आग्रह गरे । तर, प्रतिनिधिमूलक रूपमा मात्र बाँड्ने भन्दै उपराष्ट्रपतिको हातबाट केही विद्यार्थीलाई शैक्षिक सामग्री भन्दै प्याकेट बाँड्न थालियो । बालबालिकालाई बाँडिएको प्याकेट खोलेर हेर्दा कापी, कलमसँगै क्रिस्चियन धर्मका प्रचार सामग्री भेटिएपछि सहभागीले विरोध जनाएका थिए ।

गाउँपालिकाद्वारा उपहार वितरणमा रोक
कलिला बालबालिकालाई उपहारका नाममा धर्म प्रचार सामग्री राखेर वितरण गरेको सार्वजनिक भएलगत्तै शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले तत्कालका लागि बाँकी उपहार वितरण नगर्न निर्देशन दिएका थिए । त्यसपछि मात्र आयोजकले प्याकेट बाँड्न रोकेका थिए । अध्यक्ष दुलालले भने, ‘आयोजकले अरू विद्यालयमा समेत बाइबलका सामग्री बाँड्ने उद्देश्य राखेको जानकारीमा आएको छ । त्यस्ता कार्यक्रम तुरुन्त रोक्नुहोला । अन्यथा कारबाही गर्नेछौँ ।’ एक वर्षअघि पनि शारदा माविमा संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई वितरण गरिएको पुरस्कारमा बाइबलको प्रचार सामग्री राखेर वितरण गरिएको विद्यालय स्रोतले जनाएको छ । सिंगापुर रेडक्रसको सहयोगमा दुई करोड ५० लाख खर्च गरेर भवन निर्माण गरिएको आयोजक संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved