प्रहरी प्रमुखको प्रत्यक्ष संलग्नतामा सुन तस्करी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 04, 2018 | 07:10:02 AM मा प्रकाशित

laxmi  sunrise bank

३३ केजी सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेका अभियुक्तबाट चूडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको रहस्य सार्वजनिक भएको छ।

सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा तत्कालीन विमानस्थलका प्रमुख र अन्य अधिकारीको संलग्नता रहेको बयान दिएका छन्। हाल फरार रहेका एसएसपी श्यामबहादुर खत्रीका चालक खड्का एसएसपी खत्री डीएसपी हुँदादेखि नै सवारी चालकका रूपमा कार्यरत थिए।

विमानस्थलका तत्कालीन एसएसपी खत्रीको गाडीमै राखेर उनले तस्करसम्म सुन पु¥याउने गरेको समेत स्वीकार गरेका छन्। खत्रीको निर्देशनमा उनले दाह्रीवाला भनिने मोहन काफ्लेसम्म सुन पु¥याउने गरेको बयान दिएका छन्।
काफ्लेले यस कामबापत उनलाई एकपटक ५ हजार रुपियाँ र अर्कोपटक १० हजार रुपियाँ गरी १५ हजार रुपियाँ दिएका थिए। काफ्लेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा उनीहरू विदेशबाट सुन लिएर अध्यागमनसम्म आउने गरेका थिए।

अध्यागमनको छाप लागेपश्चात् कहिले एसपी विकासराज खनाल र कहिले डीएसपी सञ्जयबहादुर राउतले उनीहरूलाई इस्कर्ट गरेर सीधै डीआईजी गोविन्दप्रसाद निरौला र एसएसपी श्यामबहादुर खत्रीको कार्यकक्षसम्म पु¥याउने गरेको खड्काले बयान दिएका हुन्।

एसपी खनाल प्रहरी प्रधान कार्यालय तानिएपछि डीएसपी राउत र एसएसपी खत्रीले त्यो काम सम्हालेको उनले बयानका क्रममा बताएका छन्। पक्राउ परेका २९ मध्ये बिहीबार ६ जनाको मात्र बयान सकिएको छ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार पक्राउ परेकामध्ये टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान सकिएको हो। जिल्ला अदालत मोरङले मुद्दा हेर्न गोलाप्रथाबाट न्यायाधीश नारायणप्रसाद शर्मालाई छनोट गरेको थियो।

अदालतको ६ नम्बर इजलासमा पहिलो चरणमा ६ जनाको बयान लिइएको हो। स्रेस्तेदार दुलालका अनुसार अन्य आरोपीहरूको क्रमशः बयान लिइनेछ। आइतबारसम्म सबै आरोपीहरूको बयान सकिने उहाँको भनाइ छ। अदालतमा सरकारका तर्फबाट बहस गर्न उच्च अदालत विराटनगरका सहमहान्यायाधिवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा सरकारी वकिलको ५ सदस्यीय टोली गठन गरिएको छ।

टोलीमा उच्च अदालतबाट २ र जिल्ला अदालतबाट ३ सरकारी वकिल झिकाइएका छन्। उच्च अदालतका सहमहान्यायाधिवक्ता पराजुली र उपन्यायाधिवक्ता हिमालय त्रिताल तथा जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकसहित जिल्ला सहन्यायाधिवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेल छन्।

जटिल प्रकारका, ठूला र संगठित अपराधका मुद्दामा सरकारी वकिलको समूह नै बनाएर बहस गर्ने परिपाटी रहेको छ।

पाँचै सरकारी वकिलले मिसिलको अध्ययन गरेर शुक्रबारदेखि बहसको डिजाइन गर्ने तयारी गरेका छन्। सजायमा ३ वर्षभन्दा बढी कैद हुने प्रकृतिका मुद्दामा प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने कानुनी प्रावधान हुँदा सबै प्रतिवादीलाई थुनामा राख्ने माग गरिने बताइएको छ।
यसैबीच राप्रपाका नेतासमेत रहेका भुजुङ गुरुङले पञ्चायतकालदेखि नै एयरपोर्टबाट सुन तस्करी गर्दै आएको खुलासा गरेका छन्।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको छानविन प्रतिवेदनसमेतका आधारमा मोरङ जिल्ला अदालतमा बुझाइएको मिसिलमा गोरेले दुबईबाट भरियालाई बोकाएर थोरै परिणामको सुन ल्याउने गरेकोमा पुराना एवं अनुभवी भुजुङसँग एकता भइसकेपछि थाई एयरकोे ट्वाइलेटमा लुकाएर बैंककबाट समेत सुन ल्याउन थालेको उल्लेख गरिएको छ।

साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका भुजुङले सोल्टी होटलनजिकै रहेको ग्रान्ड होटेलका साहुजीसँग मिलेर २०४० सालदेखि एयरपोर्टबाट सुन भिœयाउने कारोबार गर्दै आएको बयान दिएका हुन्। सुन तस्करी गर्ने क्रममा हरेक महिना ५ देखि १० पटकसम्म सुन आउने गरेको उनले बताएका छन्।

भुजुङले हराएको साढे ३३ केजी सुन जसरी भए पनि पत्ता लगाउनुपर्ने भन्दै आफ्नै समूहका मानिस यसमा संलग्न रहे पनि ज्यान लिनुपर्ने अवस्था आए पनि पछि नहटी सुन पत्ता लगाउनू भनेर निर्देशन दिएको स्वीकार गरेका छन्। उनले गोरेले आफैं र आफ्ना समूहका मानिसद्वारा विभिन्न आशंकित व्यक्तिलाई विभिन्न स्थानमा लगी यातना दिने क्रममा सनम शाक्यको ज्यान गएको बताएका छन्। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved