इतिहास बन्यो लोडसेडिङ, आजदेखि निजी औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 14, 2018 | 07:37:14 AM मा प्रकाशित

laxmi  sunrise bank

 झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो । प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो । तर, सोमबारबाट लोडसेडिङ इतिहास बनेको छ । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निकै मेहनतसाथ सबै विकल्पको प्रयोग गरेर देशलाई लोडसेडिङमुक्त पारिएको बताउनुभयो । मन्त्री पुनले आन्तरिक उत्पादन बढेको र भारतबाट थप विद्युत् आयात गरी लोडसेडिङ हटाइएको जानकारी दिनुभयो । उहाँले त्यसका लागि विद्युत् चुहावटलाई समेत २६ प्रतिशतबाट २० प्रतिशतमा झारिएको जानकारी दिनुभयो । चुहावट रोक्दा लोड व्यवस्थापनमा सहज भएको छ, उहाँले भन्नुभयो । 
मन्त्री पुनले साधारण अवस्थामा रहिरहे अब देशमा लोडसेडिङ नहुने समेत बताउनुभयो । यो वर्ष निर्माण पूरा हुने आयोजनालाई द्रुत गतिमा अघि बढाउन सरकारले सहजीकरण गर्नेे योजना बनाएको छ । आगामी वर्ष झन् हामीलाई सहज हुनेछ, उहाँले भन्नुभयो ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने क्षणिक प्राविधिक कठिनाइबाहेक प्रसारण लाइन पुगेका कुनै पनि ठाउँमा लोडसेडिङ नहुने बताउनुभयो । 
उहाँ सोमबार राति ९ बजे त्यसकै व्यवस्थापनका लागि प्राधिकरणको स्युचारटारस्थित भार सम्प्रेण केन्द्रमा काम गरिरहनु भएको थियो । प्राधिकरणले आफ्ना विद्युत् आयोजनाको सुधारलाई प्राथमिकता दिएर र अन्य प्राविधिक गडबढीलाई सुधार गरेर लामो प्रयासपछि देशलाई लोडसेडिङमुक्त बनाइएको उहाँले बताउनुभयो ।


ऊर्जामन्त्रीमा पदवहाली गरेलगत्तै गत चैतमा मन्त्री पुनले लोडसेडिङ हटाउन निर्देशन दिनुभएको थियो । त्यसपछि प्राधिकरणले सञ्चालनगत सुधारहरू गरेको छ । कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ हटाउन विद्युत् गृहमा सुधार, पुराना ट्रान्सफर्मर विस्थापन, नयाँ र बढी क्षमताका ट्रान्सफर्मरको स्थापना, प्रसारण लाइनको मर्मत सम्भार र चुहावट नियन्त्रण गरिएको जानकारी दिनुभयो । 

मन्त्री पुनको निर्देशनपछि पहिलो चरणमा वैशाख पहिलो साताबाट सरकारी स्तरमा सञ्चालित बालाजु, पाटन, पोखरा, हेटौँडा र बुटवल औद्योगिक क्षेत्रमा लोडसेडिङको अन्त्य गरिएको थियो । सोमबारबाट निजी औद्योगिक क्षेत्रको लोडसेडिङ पनि पूर्ण रूपमा अन्त्य गरिएको छ । गर्मी बढेसँगै रन अफ रिभर प्रणालीका जलविद्युत् आयोजनाबाट १० देखि १५ प्रतिशत उत्पादन वृद्धि भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । हिउँदमा भन्दा १० देखि १५ प्रतिशत विद्युत् उत्पादन वृद्धि हुँदा लोड व्यवस्थापन गर्न सहज भएको छ, उहाँले भन्नुभयो । 

अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग विद्युत् भारतबाट आयात गरी लोडसेडिङको व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । यसअघि प्राधिकरणले २०७३ तिहारमा लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौँ उपत्ययका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो । मन्त्री पुनले लोडसेडिङको अन्त्यपछि गुणस्तरीय विद्युतीय सेवा प्रवाहमा सरकारको ध्यान जाने बताउनुभयो । 

उहाँले चुहावटलाई आउँदो वर्ष १५ प्रतिशतसम्म झार्ने लक्ष्यका साथ योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने समेत बताउनुभयो । लोडसेडिङमुक्त भए पनि वर्तमान अवस्थामा झैँ कम बिजुली खपत हुने उपकरणको प्रयोग गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved