नेपाली भूमि कब्जा गरी घरटहरा बनाउदै भारतीय नागरिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 06:54:36 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घरटहरा बनाउन थालेका छन् । उनीहरूले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन् ।

जिल्लाका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् । यसबारे जिल्ला प्रशासन भने बेखबरझैं छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घरटहरा बनाएका छन् । केही वर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिमा आएका हुन् । गोबरगाढा बस्तीदेखि उत्तर र कोसी ब्यारेजको पश्चिमदेखि दक्षिणतर्फको टापु अतिक्रमणमा परेको छ । गोबरगाढामा मात्र भारतीय नागरिकले ५० बिघाभन्दा बढी जग्गामा खेती गरिरहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिए । भारतीयले कति नेपाली भूमिमा खेती गरिरहेका छन् भन्ने यकिन गर्न लागिएको पनि उनले बताए ।

गोबरगाढामा सीमानजिकैका र केही भित्री बस्तीका भारतीय पनि आएर घर बनाइरहेका छन् । केही दिनअघि कोसी ब्यारेजको पश्चिमी क्षेत्रभन्दा ४ किमि दक्षिणतर्फ सुरतलाल मुखिया गहुँ भित्र्याइरहेका थिए । उनी भारत, बिहारको सुपौल जिल्लाअन्तर्गत कोरियापट्टीका स्थायी बासिन्दा हुन् । १० बिघा जग्गामा गहुँ खेती गरिरहेको उनले सुनाए । मुखियाले उक्त जग्गामा चारैतिर तारबारले घेरा हालेका छन् ।

भैंसीले बालीनाली नष्ट गर्ने भएकाले तारबार लगाएको उनले बताए । खेतनजिकै मुखियाले घरसमेत बनाइसकेका छन् । ‘बर्खामा आफ्नै घर भारततर्फ बस्न जान्छौं,’ उनले भने, ‘बर्खा सकिएपछि यतै बस्छौं, खेती गर्छौं ।’ टापुमा गरिएको खेतीबाट राम्रो आम्दानी भइरहेको मुखियाले बताए । मुखियाका अनुसार नेपाली भूमिमा बस्नुअघि उनले कसैसँग अनुमति लिएका छैनन् । ‘कसलाई सोधेर बस्नु ?,’ उनले भने, ‘जग्गा खाली भएकाले खेती गरेको हुँ, कसैलाई समस्या पारेको छैन ।’ मुखियाकै गाउँका अन्य ५ परिवार पनि उनीसँगै बसाइँ सरेर टापु आएका छन् । त्यहाँका जग्गा कब्जा गरी थातथलो जोडेका छन् । उनीहरूको खास घर भने नेपाल–भारत सीमास्तम्भबाट ५ किमि दक्षिणमा पर्छ ।

मुखियाले कब्जा गरेको स्थानभन्दा केही मिटर उत्तरतर्फ पनि १० परिवारको बस्ती छ । उनीहरू सबै बिहारको समदा कटैयाका बासिन्दा हुन् । ‘हाम्रो आफ्नो ठाउँमा पनि घर छ । यहाँ जग्गा खाली भएकाले खेती किसानी गर्न घर बनाएका हौं,’ एक मुस्लिम महिलाले भनिन् । उनले नाम भने बताउन चाहिनन् । ती महिलाले आफूहरू बर्खा लागेपछि भारत जाने र अन्य बेला टापुमै बस्ने गरेको बताइन् । टापु नेपालमा पर्ने भए पनि कहींकतैबाट कुनै अवरोध नरहेकाले बस्न आएको उनले जनाइन् । ‘हाम्रै गाउँबाट थप परिवार टापुमा आउने तयारी गरिरहेका छन्,’ उनले भनिन् । गोबरगाढावासीका अनुसार बर्खाबाहेकको समयमा सीमावर्ती बिहारका रतनपुरा, छतौनी, कोरियापट्टी, समदा कटैया, रानीगन्ज, भटनिया, बाइसीसम्मका व्यक्ति टापुमा आई नेपाली भूमिमा खेती गर्ने गरेका छन् ।

भारतीयले टापुमा सयौंको संख्यामा भैंसीपालनसमेत गरेका छन् । ठूलो भूभाग चरन क्षेत्र रहेको गोबरगाढा टापु भैंसीपालनका लागि प्रसिद्ध छ । यहाँ दुवैतर्फका नागरिकका गरी १० हजारभन्दा बढी भैंसी छन् ।

गोबरगाढा र आसपासको जग्गा पहिला नेपाली नागरिकको नम्बरी थियो । तर, कोसीले कटान गर्दै जाँदा बसोबास गरिरहेका अन्यत्रै गएको तथा ०२४ सालको नापीका बेला जग्गाधनीले नापी गराउन नसक्दा सरकारको अधीनमा आएको थियो । त्यही भूमि अहिले भारतीयले कब्जा गर्दै घर बनाउन थालेका हुन् ।

छिन्नमस्ता गाउँपालिकास्थित लालापट्टी क्षेत्रमा पनि यस्तै अवस्था छ । साबिक लालापट्टी गाविसदेखि गोविन्दपुरसम्म लगभग सात किमि दशगजामा भारतीयले लामो समयदेखि खेती गरिरहेको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले बताए । ‘हाम्रो गाउँमा त दशगजा नै छैन,’ उनले भने, ‘सबै भारतीयले कब्जा गरेर खेत बनाएका छन् ।’ लालापट्टीमा करिब पाँच दशकदेखि भारतीयले नेपाली भूमि उपभोग गर्दै आए पनि कसैले रोक्ने पहल गरेको छैन । भारतीयले ग्रामीण सडक बनाउन दशगजाकै माटो काटेर लैजाँदा त्यहाँ नदीजस्तै बनेको छ । सप्तरीका प्रजिअ भागीरथ पाण्डेले भारतीयहरूले नेपाली भूमि कब्जा गरी खेती गरिरहेकोबारे कुनै जानकारी नरहेको बताए । ‘कतैबाट यस्तो सूचना आएको छैन,’ उनले भने ।

पिल्लर पनि अतिक्रमणमा
भारतीय नागरिक र सुरक्षाकर्मीले कैयौं सीमास्तम्भसमेत अतिक्रमण गरेका छन् । जिल्ला प्रशासनका अनुसार सप्तरीमा भारतीय सीमामा राखिएका ६ सय ५० वटा पिल्लरमध्ये अहिले २ सय २५ वटा मात्र कायम छन् । २१ वटा पिल्लर खोलाले बगाएको र बाँकी सबै गायब पारिएकाले यसबारे भारतीय पक्षसित कुराकानी गर्न जिल्ला प्रशासनले गृह मन्त्रालयमा लेखी पठाएको छ । यही महिना हुने नेपाल–भारत गृहसचिवस्तरीय वार्तामा सीमास्तम्भबारे कुरा उठाउन गृहलाई लिखित रूपमा आग्रह गरिएको प्रशासनले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved