बालकृष्ण ढुंगेललाई माफी दिने तयारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 06:34:48 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई माफी दिन प्रक्रिया अघि बढेको छ । सरकारले गणतन्त्र दिवसका दिन ढुंगेलको बाँकी कैद सजाय माफी मिनाह गर्दै कारागारमुक्तको तयारी थालेको हो । गणतन्त्र दिवस जेठ १५ मा पर्छ ।

कारागार व्यवस्था विभागले सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि, २०७१ का आधारमा ढुंगेललाई छुटाउने प्रक्रिया बढाउन लागेको हो । नियमावली अनुसार सजायको ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको हकमा राम्रो चालचलन र आचरण भएका कैदीलाई माफी दिन सकिने उल्लेख छ ।

ओखलढुंगाका एमाले कार्यकर्ता उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतको सर्वश्वसहित जन्मकैदको फैसला अनुरुप ढुंगेललाई पक्राउ गरी जेलमा राखिएको थियो । हत्या प्रकरणमा उनी द्वन्द्वकालमै साढे सात वर्ष जेल बसिसकेका थिए ।

सर्वश्वसहित जन्म कैद तोक्ने गरी ओखलढुंगा जिल्ला अदालतबाट भएको फैसलालाई उल्टाउँदै तत्कालिन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि उनी बीचमा छुटेका थिए । सरकारको पुनरावेदन अनुरुप सर्वोच्चबाट सुरु जिल्ला अदादलतको फैसला सदर गर्दै कैद सजाय भएपछि फैसला कार्यान्वयनका क्रममा ढुंगेल समातिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत कात्तिक १४ गते ढुंगेललाई ललितपुर महालक्ष्मीस्थानबाट पक्राउ गरेको थियो । जन्म कैद सजाय अधिकतम २० वर्ष हुने मुलुकी ऐनको प्रावधान छ । यसअघिको साढे सात वर्ष जेल र पक्राउपछि ६ महिना जेल भुक्तान भइसकेकाले ढुंगेलको गत वैशाखमै ८ वर्ष कैद भुक्तान भइसकेको छ । २० वर्षको ४० प्रतिशत हिसाब गर्दा ८ वर्ष हुन आउँछ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेलको कैद मिनाहका लागि कारागारले विभागलाई पत्र पठाएको स्रोतले जनायो । विभागले अहिले देशभरका कारागारबाट कैद माफी मिनाहका लागि लगत संकलन गरिरहेको छ । विभागका महानिर्देक हरिप्रसाद मैनालीले अहिले ढुंगेललाई कैद मिनाह दिने वा नदिने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘हामी छलफलमै छौं । अहिल्यै ढुंगेललाई मिनाह दिने कुनै निर्णय भएको छैन’, मैनालीले भने ।

जेलमा बस्दा असल चालचलन र आचरण राम्रो भएको, स्वास्थ्य, कसुर गर्दाको परिस्थिति र आशयलाई टेकेर विभागले ढुंगेलको बाँकी कैद मिनाहा गर्न लागेको हो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा गृहमन्त्री रामबहादुर थापाले ढुंगेललाई कैद मिनाहको तयारी थाल्न विभागलाई निर्देशन दिएका हुन् ।

विभागको प्रतिवेदनका आधारमा गृह मन्त्रालयको प्रस्ताव अनुरुप मन्त्रिपरिषद् बैठकले कैद छुटको निर्णय गर्नेछ । गृहप्रवक्ता रामकृष्ण सुवेदीले विभागकै सिफारिसका आधारमा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने बताए ।

‘अहिले कति जनालाई कैद मिनाहा गर्ने भनेर हामीलाई सूची प्राप्त भएको छैन । विभागले तयारी गरिरहेको होला’, सुवेदीले भने । जबर्जस्ती करणी, जिउ मास्ने बेच्ने, कैदबाट भागे भगाइएको, लागूऔषधको कारोबार, भन्सार चोरी निकासी पैठारी, भ्रष्टाचार मुद्दा र जासुसीलगायत २३ वटा बाहेक अन्य कसुरमा जेल परेकालाई ६० प्रतिशतसम्म कैद मिनाहा गर्न सक्ने प्रावधान कारागार नियमावलीमा छ ।

सजाय माफी दिने आधार

– कसुरको प्रकृति र गाम्भीरता

– कसुर गर्दाको परिस्थिति र आशय

– कैदीको चालचलन

– कसुरदारको विगतको चरित्र

– कैदीको स्वास्थ्य

– कैद भुक्तान गरेको अवधि वा बाँकी कैद अवधि

अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved