संगठित सुन तस्करी: गोरेले खुलासा गरे पर्दा पछाडीका पात्र

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 23, 2018 | 06:30:54 AM मा प्रकाशित

laxmi  sunrise bank

संगठित सुन तस्करीका मुख्य अभियुक्तका रूपमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका ‘गोरे’ भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । उनी काठमाडौंको गौरीघाटस्थित आफ्नै घरनजिकबाट मंगलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान समितिले दिउँसो पत्रकार सम्मेलन आयोजना गरी उनलाई सार्वजनिक गरेको हो ।


पक्राउपछि गोरेले आफूले सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफूभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो । सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसबापत आफूले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् ।


पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले बताए । ‘एकैछिनमा रुने, गम्भीर हुने र मरौंमरौं लागेको बताउने गरेका छन्,’ ती सदस्यले भने, ‘प्रहरीसमक्ष मलाई बचाइदिनुस् भन्दै रोए ।’ प्रारम्भिक बयानमा गोरेले समातिएकाहरू सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिल्लो तहबारे खुलाएका छैनन् । ‘उनका कुरा गोलमटोल र अस्वाभाविक देखिन्छ,’ ती सदस्यले भने, ‘कुरा लुकाउन खोजेजस्तो पनि देखिन्छ ।’


संगठित सुन तस्करीमा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ (यसअघि पक्राउ परिसकेका) र उनका साला पर्ने छिरिङ वाङ्गेल घलेको कनेक्सन रहेको गोरेले बताएका छन् । विमानस्थलस्थित थाई एयरलाइन्समा लोडर काम गर्ने बालकृष्ण श्रेष्ठले प्रहरीसँग बयानका क्रममा ‘सुन तस्करीमा एमके अग्रवाल भन्ने मोहनकुमार अग्रवालको लगानी र उक्त सुन ल्याउन गोरेसहित भुजुङ र डेबिट भनिने छिरिङले जिम्मा लिएको’ बताएका थिए ।


सुन तस्करीमा प्रहरी संलग्नताबारे सबै कुरा फरार एसएसपी श्याम खत्री र पक्राउ परेका पूर्वडीआईजी गोविन्द निरौलालाई थाहा भएको गोरेको बयान छ । उनले आफूले श्याम, गोविन्द र महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सन्जेललाई मात्रै चिनेको बताएका छन् । गोरेको साथबाट बरामद मोबाइलमा उनकै स्वरमा केही अडियो क्लिपसमेत प्रहरीले फेला पारेको छ । त्यसमा उनले आफू निर्दोष रहेको र सबै दोष आफूमाथि थोपरेर फसाइएको बताएका छन् ।


प्रहरीका उच्च अधिकारी उच्च राजनीतिक संरक्षणविना अवैध सुन तस्करी कसरी सम्भव छ भन्ने प्रश्न गर्छन् । सुन तस्करीमा हुन्डीका ठूला कारोबारी, विदेशबाट ठूलो परिमाणमा विभिन्न वस्तुको न्यून बिजकीकरण गरेर आयात गर्नेहरूको समेत संलग्नता रहने गरेको यसअघिका घटनाले देखाइसकेका छन् । समितिले हुन्डीको कारोबार गर्नेहरू केहीलाई पनि संगठित सुन तस्करीमा समेत संलग्नको आशंकामा पक्राउ गरेको छ । पक्राउ परेकामध्ये धेरैजसो थोरै परिमाणमा खाडी देशबाट हुन्डी कारोबार गर्नेहरू रहेको बुझिएको छ ।


पत्रकार सम्मेलनमा समिति संयोजक पौडेलले प्राप्त प्रमाणका आधारमा थप अनुसन्धान बढाइने बताए । पौडेलले हालसम्म समातिएका अभियुक्तबाहेक अन्य थप सम्भावित तथ्य प्रमाण फेला पारिएको जानकारी गराउँदै भने, ‘अनुसन्धानका विषय अत्यन्त गम्भीर र जटिल प्रकृतिको भएको र यो जेरीजस्तै जेलिएको छ । हामी हरेक जेरीलाई सेलरोटीजस्तै खुलाउँदै जाने चरणमा छौं ।’


गोरेले आफू आत्मसर्मपण गर्ने योजनामा रहेको बारे आफैंले मोबाइलमा भिडियो खिचेर राखेको पनि पाइएको छ । युटयुबमा समेत सार्वजनिक भइसकेको उक्त भिडियोमा गोरेले बारम्बार आफू निर्दोष रहेको दाबी गरेका छन् । उनले सुन चोरी भएका बेला आफू कोलकातामा रहेको र सनमको हत्यापछि मामा भन्ने बालकृष्ण सन्जेललाई शव व्यवस्थापनका लागि आफैंले बोलाएको तर त्यसमा लेनदेनको कुरा बाहिर भनिएजस्तो नभएको भिडियोमा दावी गरेका छन् ।


गोरेले सनमलाई आफूले मात्रै यातना नदिएको, तर सुनको खोजी कार्य गर्न विमानस्थलका कर्मचारीलाई बोलाएर कुराकानी गरेको बताएका छन् । उनले सनम हत्यामा आफू संलग्न नभएको दाबी गर्दै बाहिरिएको भिडियो सनमको मृत्युको अघिल्लो दिनको भएको बताए । गोरेले सनमको गल्ती भेटेपछि त्यसरी कुटपिट गरिएको र आफूहरूबीच कुटपिट भइराख्ने कुरा सामान्य भएको समेत बताएका छन् । भिडियोमा उनले लुटिएको सुन आफ्नो नभएको र मालिक अरू नै रहेको बताए पनि मालिकको नाम भने खुलाएनन् ।


सनमको हत्यापछि ज्यानको माया भएर आफू भागेको बताएका गोरेले सम्पूर्ण दोष आफूलाई लगाइए पनि तस्करीमा छिरिङ र भुजुङसमेत रहेको बताए । सुनका अन्य लगानीकर्तामा एमकेबाहेक अन्य भारतीय रहेको उनले जनाए । एमके प्रहरीको फरार प्रतिवादीमा रहेका मोहनकृष्ण अग्रवाल हुन् । उनले आफूमाथि सुन खोजेर ल्याउन नभएर पैसा तिर्न दबाब दिइएको बताएका छन् । तर त्यस्तो दबाब कसबाट, कसरी आएको थियो भन्ने खुलाएका छैनन् ।


उच्च स्रोतका अनुसार शाक्यको हत्यालगत्तै गोरे भागेर भारत पुगेको सूचना प्रहरीले पाएको थियो । महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले कोलकातास्थित भारतीय प्रहरीका केही उच्च अधिकारीसँग व्यक्तिगत सम्पर्कका आधारमा गोरे उता पुगेको सूचना दिएको महाशाखाका अधिकारी बताउँछन् । संगठित सुन तस्करीबारे गम्भीर अनुसन्धान सुरु भएपछि गोरेको खोजी तीव्र पारिएको थियो । प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।


प्रहरी उच्च स्रोतले गोरे भारतको सिक्किम क्षेत्रमा लुकेर बसेको र उनलाई संगठित सुन ओसारपसारमा संलग्न केही भारतीय लगानीकर्ताले धम्की दिइरहेको सूचना पाएको थियो । ३३ किलो सुनका मुख्य मालिक भनिएका सुनसरी, धरान उपमहानगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्ने मोहनकुमार अग्रवालले गोरेलाई सुन खोज्न वा त्यसबापतको रकम दिन दबाब दिएको स्रोतको दाबी छ । भारतमा रहेको सुनका लगानीकर्ताले गोरेलाई जसरी पनि सुन खोज्न वा आफ्नो लगानी बराबरको रकम फिर्ता दिन दबाब दिएका थिए ।


सुन लुटिएका बेला गोरे भारतमै थिए । सुन हराएको बारे भारतीय लगानीकर्तालाई उनैले बताएका थिए । त्यसपछि उनीहरूले गोरेलाई कुटपिट गरे । जसरी पनि सुन पत्ता लगाएर ल्याउने वाचा गर्दै उनी उम्किएर नेपाल आए । त्यसपछि उनले सुन तस्करीमा संलग्नहरूलाई पूर्वका विभिन्न ठाउँ डुलाउँदै सुन कहाँ छ भन्दै करेन्ट लगाउँथे । अनेक यातना दिन्थे । समितिका एक सदस्यका अनुसार उनले यातना दिएका सबै दृश्य मोबाइलमा कैद गर्थे र सुनको खोजीमा आफू लागिपरेको प्रमाणित गर्न भारतीय लगानीकर्तालाई उक्त भिडियो पठाउँथे ।


शाक्यको हत्यालगत्तै भारत पुगेका गोरेले भारतीय लगानीकर्ताबाटै आफू असुरक्षित रहेको बुझेपछि स्वदेश फर्केर आत्मसर्मपण गरे सुरक्षित भइने ठानेका थिए । फर्कनु अघि उनले झापास्थित केही मानव अधिकारवादी संस्थाका प्रतिनिधिलाई आफूले आत्मसर्मपण गर्न चाहेको सूचना पुर्‍याएका थिए । स्रोतका अनुसार स्थलमार्ग हुँदै काठमाडौं छिरेका गोरे घरमा रहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । कान्तिपुर दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved