सुन तस्करीमा हुन्डी कारोबारी सक्रिय, गोरेले खोले दाउदको कनेक्सन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 06:56:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सुन तस्करीमा हुन्डी कारोबारीहरूको सक्रिय सहभागिता रहेको पाइएको छ । यस्तो कारोबारमा नेपाल, दुबई र भारतका ठूला व्यापारी, गुन्डा नाइके एवं पेसेबर डाँकाको समेत मुख्य भूमिका रहने गरेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानबिन समितिले खुलासा गरेको छ ।

सुन तस्करीका विभिन्न जालोमध्ये हुन्डी कारोबार गर्ने व्यापारीको जालो डरलाग्दो रहेको अनुसन्धानमा खुलेको समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताए । ‘सुन तस्करीका क्रममा हुन्डीबाट ठूलो रकम जम्मा गरी तस्करबीच हिसाब मिलान गर्ने गरेको समेत पाइयो’, उनले भने ।

सुन तस्करीसँगै हुन्डी कारोबारमा मोहनकुमार अग्रवाल, भुजुङ गुरुङ, डेबिट भनिने छिरिङ दोर्जे शेर्पा र सुन काण्डका मुख्य अभियुक्त भनिएका गोरे भनिने चुडामणि उप्रेतीबीच लामो समयदेखि साँठगाँठ रहँदै आएको छ । सुन तस्करीमा मुछिएका यी व्यक्तिको साँठगाँठ कुनै न कुनै रूपमा उच्च तहका राजनीतिक नेतृत्वसँग समेत जोडिएको हुन सक्ने पौडेलको दाबी छ । ‘गोरेले बयानमा केही नेता, भारतीय हुन्डी एवं सुन व्यापारी र कुख्यात अपराधीको समेत नाम खुलाएका छन्’, उनले भने, ‘उनको बयानका आधारमा हामीले पुष्टि हुने लिंक खोजिरहेका छौं ।’

नेपालमा दैनिक अर्ब रुपैयाँभन्दा बढी रकम हुन्डीमार्फत कारोबार हुने गरेको प्रहरी बताउँछ । ‘मुख्य सुन कारोबारीको म नाम दिन्छु, पक्राउ गर्ने हिम्मत छ’ भन्दै गोरेले प्रहरीमाथि प्रश्न तेस्र्याएका व्यक्ति हुन् कुख्यात अन्डरवल्र्ड दाउद इब्राहिम । इब्राहिम भारतीय अन्डरवल्र्ड कुख्यात अपराधी हुन्, जसलाई भारतले मोस्ट वान्डेट सूची र इन्टरपोलमार्फत खोजी गरिरहेको छ । इब्राहिमले हुन्डी व्यवसायसमेत सञ्चालन गर्दै आएको बताइएको छ ।

सुन र हुन्डी कनेक्सनबारे गोरेकै बयानका आधारमा अनुसन्धान भइरहेको समितिका संयोजक पौडेलले बताए । ‘गोरेले बयानमा केही भारतीय व्यापारी र नेताको नाम पनि पोलेका छन्’, उनले भने, ‘हामीले प्रमाण पुग्नेसम्मका व्यक्ति पक्राउ गर्छौं ।’ सुनमा हुन्डी कनेक्सन रहेको र त्यसमा कुन तहसम्म सम्बन्ध रहेको भन्नेबारे समितिले केलाउने उनको भनाइ छ । हुन्डी कारोबारीसँग हाल फरार एसएसपी श्याम खत्रीको सम्बन्ध रहेको र उनलाई पक्राउ गरे थप रहस्य बाहिरिने गोरेले बताएका छन् । समितिले फरार खत्रीसहितका व्यक्तिलाई इन्टरपोलमार्फत खोजी तयारी थालेको छ ।

गोरेले नेपालबाट भारत जाने ठूलो परिमाणको सुन, हुन्डीलगायत अवैध व्यापारमा दाउदको लगानी रहेको बयानमा खुलाएको समितिका एक सदस्यको भनाइ छ । समितिका अनुसार गोरेले दुई भारतीय व्यापारीका नाम पोलेका छन्, जो हुन्डी व्यापारमा सक्रिय छन् । भारतीय नागरिकसँग दाउदको कनेक्सन जोडिएको र उनीहरूले नेपालको विमानस्थलमा सेटिङ गराउँदै आएको गोरेले बयानमा खुलाएका छन् ।

गोरेको कनेक्सन भारतीय दुई व्यापारी र ती व्यापारीको कनेक्सन प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनसँग रहेको समेत अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारी बताउँछन् । पुन पनि मारिनुअघि अन्डरवल्र्डकै संरक्षणमा रहेको प्रहरी अधिकारीले यसअघि नै खुलाएका थिए । विमानस्थलमा सुन तस्करीको बाटो खुला गर्ने सम्पूर्ण जिम्मा भुजुङ गुरुङ, व्यापारी मोहन अग्रवाल र भुजुङको सालो नाता पर्ने डेबिट भन्ने छिरिङ दोर्जेले गर्दै आएको गोरेले बयान दिएका छन् । भुजुङले हुन्डीमार्फत दुबईबाट सुन मगाउने, गोरेले दुबईमा रहेका व्यापारीलाई पैसा तिरिदिने र सुन व्यवस्थापनको काम दोर्जेले गर्दै आएको गोरेले खुलासा गरेका छन् । गोरेको सहयोगमा हालसम्म विमानस्थलबाट तीन हजार आठ सय किलो सुन तस्करी भएको समितिको दाबी छ ।

यसरी गरिन्छ हुन्डी

तीन वर्षयता नेपाल प्रहरीको अपराध महाशाखाले हुन्डीमार्फत कारोबार गर्न लागिएको सवा चार करोड रुपैयाँ बरामद गरेको छ । साथै त्यसमा संलग्न २९ जनालाई उसले पक्राउसमेत गरिसकेको छ ।

पछिल्लो पटक गत आइतबार महाशाखाले सुनसरी जल्यापुरका बुटिक व्यापारी मोहम्मद वाहिद हुसेन र जाहिद मिया हुसेनलाई १६ लाख चार हजार रुपैयाँसहित नक्साल भाटभटेनीनजिकैबाट पक्राउ गर्‍यो । उनीहरूले बुटिक व्यापारीको आवरणमा नेपालबाट भारतमा हुन्डी कारोबार गर्दै आएका थिए । महाशाखालाई सुरुमा एक करोड रुपैयाँको सूचना आए पनि १६ लाख मात्रै फेला परेको थियो ।

व्यापारको आवरणमा हुन्डी कारोबार गर्दै आएको यो प्रतिनिधि उदाहरण रहेको महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहको भनाइ छ । नेपालमा बस्दै आएका केही व्यापारीले अस्ट्रेलिया, जापान, हङकङ, मकाउ, दुबई, भारत र चीनका व्यापारीसँग मिलेर हुन्डी कारोबार गर्दै आएको महाशाखा बताउँछ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार अस्ट्रेलियाबाट मात्रै दैनिक पाँच करोड रुपैयाँ हुन्डीमार्फत नेपाल आउने गर्छ । नेपालमा दैनिक अर्बभन्दा बढी रुपैयाँ हुन्डीमार्फत कारोबार हुने गरेको प्रहरीको दाबी छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved