सुन तस्करीको लागि यसरी हुन्थ्यो सेटिङ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 07:08:45 AM मा प्रकाशित

laxmi  sunrise bank

अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाइन मिलाउने काम गरेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाइन मिलाउँदै आएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७३ पुस २१ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो। त्यति बेला रञ्जितकुमार गुप्ताले सिआइबीलाई दिएको बयानअनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत रहँदा पनि उनी सुन व्यापारीसँग उठबस गर्थे । खत्रीले त्यति बेला गुप्तालाई महँगो ब्याजदरमा ऋण दिनुका साथै गुप्ताले सञ्चालन गरेको साडी कुर्ता पसलमा समेत लगानी गरेका थिए।

सिआइबीको प्रतिवेदनअनुसार खत्रीले श्रीमतीका नाममा पाँच वर्षअघि ‘अलंकार इन्टरप्राइज’ नामको सुन पसल दर्ता गराएका थिए । खत्रीले सुन माफियासँग सम्बन्ध बढेपछि नै पसल दर्ता गराएका हुन् तर सञ्चालनमा नल्याई उनले तीन वर्षअघि रवीन्द्र केसीलाई पसल बिक्री गरेका थिए। खत्रीले गुप्तालाई १७ लाख रुपैयाँ ऋण दिएका थिए । यो स्रोत भेटिएको थिएन। खत्रीले सुरुमा महिनाको २ प्रतिशतका दरले रुपैयाँ ब्याजमा लगाएका थिए। पछि ब्याज बढाएर तीन प्रतिशत पु‍-याएका थिए।

सिआइबीले बरामद गरेको साढे ३३ किलो सुन तस्करी प्रकरणमा प्रहरीका तर्फबाट खत्री प्रमुख सहयोगी देखिएका थिए। त्यति बेला पक्राउ परेका श्रीनारायण यादवको बयानमा पनि खत्रीले रकम लिएर सुन पास गराउन सहयोग गरेको उल्लेख छ। सिआइबीले त्यति बेला खत्रीलाई पक्राउ गरी अनुसन्धानपछि अदालतमा मुद्दा दायर गरेको थियो। २०७३ चैत ५ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले दुई लाख रुपैया धरौटी लिई खत्रीलाइ छाड्ने आदेश दिएको थियो। त्यसपछि उनी प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखामा हाजिर भएका थिए।

२०७२ असोजमा प्रहरी तालिम केन्द्र नेपालगन्जबाट सरुवा भएर त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा आएका खत्रीले सुरुदेखि नै सुन तस्करलाई संरक्षण गर्दै आएका थिए। सुन तस्करीका नाइके भुजुङ गुरुङ, छिरिङ वांगेल घले तथा एमके भन्ने मोहनकुमार अग्रवाललाई आरके ज्वेलर्सका राजेन्द्र शाक्यले चिनजान गराएपछि खत्रीले सुन तस्करीको लाइन मिलाएको सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समिति स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी महाशाखामा कार्यरत छँदा नै सुन तस्करसँगको संगतमा परेका थिए।

सुन तस्करीमा पक्राउ परेका चूडामणि उप्रेती (गोरे) ले प्रतिकिलो ५० हजार रुपैयाँ लिएर खत्रीले तस्करकहाँ सुन पु-याउने गरेको बयान दिएका छन्। ‘ड्राइभर र अंगरक्षकलाई प्रयोग गरी सुन तस्करकहाँ लगिदिन्थे। त्यसबापत उनले प्रतिकिलो ५० हजारका दरले पैसा लिन्थे। प्रहरीलाई सेटिङ नगरी सुन पास गराउन कठिन हुने भएकाले श्याम खत्री उपयुक्त पात्र थिए’, तस्कर समूहका सदस्य गोरेको बयानमा उल्लेख छ। गोरेको बयानअनुसार विमानस्थलबाट सुन पास गराउने र त्यस्तो कार्यमा संलग्न हुने व्यक्तिलाई पक्राउ हुन नदिनेसमेतको जिम्मेवारी खत्रीले लिने गरेका थिए। विमानस्थल क्षेत्रमा खटिने सुरक्षाकर्मीको ड्युटी सुपरीवेक्षण, नियन्त्रण, निर्देशनको जिम्मेवारी पाएका कारण पनि उनलाई तस्करीको लाइन मिलाउन सहज भएको समितिको ठहर छ।

गोरे, गुरुङ, घले र अग्रवाल समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रहरी प्रमुख डिआइजी गोविन्द निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जयकुमार राउतसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको समितिको ठहर छ। सुन तस्करीको आरोपमा पक्राउ परेका सात प्रहरीमध्ये प्रहरी जवान तथा एसएसपी खत्रीका चालक विष्णुबहादुर खड्काले तस्करीमा आफ्नो संलग्नता स्वीकार गर्दै त्यस बेला विमानस्थलमा खटिएका अन्य प्रमुख अधिकारीसमेत संलग्न रहेको बयान समेत दिएका थिए।

निरौला, खत्री, खनाल तथा राउत २०७२ असोजपछि विमानस्थलमा कार्यरत थिए। खड्का खत्री डिएसपी हुँदा देखि नै सवारी चालकका रुपमा कार्यरत थिए। खत्रीको गाडीमा सुन राखेर आफूले तस्करसम्म पु-याउने गरेको बयान खड्काले दिएका छन्। उनले खत्रीको निर्देशनमा सुन दाह्रीवाला भनिने मोहन काफ्लेसम्म पु-याउने गरेका थिए। कहिले एसपी खनाल त कहिले डिएसपी राउतले तस्करलाई इस्कर्ट गरेर सिधै डिआइजी निरौला र एसएसपी खत्रीको कार्यकक्षसम्म लैजाने गरेको खड्काले बयान दिएका छन् । सुन आउने समय निरौला र खत्रीले आफ्नो कार्यकक्षमा कुरेर बस्ने गरेको पनि उनले बताएका छन्। गोरेको बयानमा समेत प्रहरी सेटिङको मुख्य नाइके एसएसपी खत्री भएको उल्लेख छ। एसपी खनाल प्रहरी प्रधान कार्यालय तानिएपछि डिएसपी राउत र एसएसपी खत्रीले त्यो काम समालेको उनको बयानमा उल्लेख छ । खत्रीका अंगरक्षक प्रहरी जवान अमरबहादुर थापा मगरले समेत अफिस छेउबाट स्कर्टिङ गरेर सुन पठाउने गरेका थिए।

‘तेस्रो लाइनको सुन फ्लाई दुबई र थाई एयरलाइन्सबाट आउने भएकाले विमानस्थलका एसएसपी खत्रीकै निर्देशन र उनकै गाडीबाट सुन बाहिर जाने गरेको थियो। सो लाइनबाट एक पटकमा २५ देखि ३० केजीसम्म सुन आउँथ्यो’, गोरेको बयानमा उल्लेख छ। सुन बोक्ने भरियालाई एसएसपी खत्रीले नै पास उपलब्ध गराउँथे। ‘त्यो लाइनबाट भारतीय व्यापारी रमेशगोपाल अग्रवाल र मनोजकृष्ण अग्रवालहरुको सुन आउने गरेको थियो’, गोरेले मोरङ अदालतलाई दिएको बयानमा भनेका छन्। नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved