दसैंअघि उपत्यकामा मेलम्चीको पानी अाउने, यी हुन् बाँकि कामहरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 26, 2018 | 08:28:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई तीन महिना म्याद थप गरेपछि उसले दसैंअगाबै मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जनाएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालय र इटालियन ठेकेदार कम्पनी सिएमसीबीच गत शुक्रबार भएको सम्झौताअनुसार आगामी दसैैंभित्रै खानेपानी काठमाडौं ल्याउने सहमति भएको हो। ‘मन्त्रालय र ठेकेदार कम्पनीका प्रतिनिधिबीच दसैंअगाडि नै मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सहमति भएको छ,’ खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सोमबार पत्रकार सम्मेलन गर्दै भनिन्, ‘ठेकेदार कम्पनीलाई तीन महिना म्याद थपिदिने र दसैंसम्म उपत्यकामा पानी भित्र्याउने सहमति भएको छ।’

यसअघि ठेकेदार कम्पनीले भूकम्प र नाकाबन्दीलाई कारण देखाई एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरी मेलम्ची सुरुङको इन्भर्ट लाइनिङ (सुरुङको भुइँ) ढलानलगायतका काम ठप्प पारेको थियो। मन्त्री मगरले ठेकेदार कम्पनीले पहिलाको लक्ष्यअनुसार नै उपत्यकामा पानी भिœयाउने सहमति गरेको जानकारी दिइन्।

उनले दसैंभित्र जुनसुकै हालतमा मेलम्चीको पानी भिœयाएर छाड्ने प्रतिबद्धता व्यक्त गरिन्। ठेकेदार कम्पनीले क्षतिपूर्तिको माग राख्दै निर्माण ठप्प पारेपछि मेलम्ची खानेपानी विकास समितिले गत जुन ४ मा इटालीस्थित केन्द्रीय कार्यालयमा पत्राचार गरेर छलफलका लागि प्रतिनिधि पठाउन अनुरोध गरेको थियो।

कम्पनीका बोर्ड अफ डाइरेक्टरका आधिकारिक प्रतिनिधि सदस्य पाउलो पोर्सेलीको नेतृत्वमा गत शुक्रबार आएको टोलीले असार ७ गते मेलम्ची साइटको अवलोकन गर्नुका साथै मेलम्ची खानेपानी आयोजना र मन्त्रालयको टोलीसँग छुट्टाछुट्टै वार्ता गरेको थियो। वार्तामा ठेकेदार कम्पनी र मन्त्रालयबीच कम्पनीले नगद प्रवाहमा देखिएको समस्या हल गर्ने, अब उप्रान्त सिएमसीमार्फत काम गरिरहेका नेपाली निर्माण व्यवसायीलाई सहज रुपमा रकम उपलब्ध गराउने र निर्माण कार्य अघि बढाउने सम्झौता भएको छ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले आयोजना र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार दसैभित्रै मेलम्चीको खानेपानी उपत्यका भित्रिने दाबी गरेका छन्। ‘ठेकेदार कम्पनीले यसअघि अवरुद्ध गरेको काम सञ्चालन गर्ने सहमति भएको छ,’ उनले भने, ‘लक्ष्यअनुसार नै मेलम्चीको पानी उपत्यका भित्रिनेछ।’ उनका अनुसार २७ किलोमिटर सुरुङमध्ये ६.३ किलोमिटर सुरुङको इन्भर्ट लाइनिङ निर्माण कार्य सम्पन्न भइसकेको छ। ‘दुई महिनाभित्रै १९ किलोमिटर सुरुङको इन्भर्ट लाइनिङ तथा फिनिसिङ सम्पन्न गर्नेछौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले नियमित ढंगले काम गर्ने प्रतिबद्धता जनाइसकेका छन्। त्यसैले मेलम्ची आउनेमा शंका नगर्नुस्।’ ठेकेदार कम्पनीका डेपुटी डाइरेक्टर सेटगियो डो गोरियाले पछिल्लो सहमतिअनुसार आफूहरु काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजनाका अनुसार मेलम्चीको हेडवक्र्स निर्माण कार्य ५ प्रतिशतमात्रै सम्पन्न भएको छ। आयोजनाले अस्थायी ड्याम बनाएर मेलम्चीको पानी उपत्यका भित्र्याउने तयारी गरेको छ। ‘हामीले भनेजस्तै काम गरे चार महिनामा नै सुन्दरीजलमा पानी झार्न सकिन्थ्यो,’ कँडेलले भने, ‘अब ठेकेदार कम्पनीसँग विवाद टुंग्याएर अघि बढ्नेछौं।’ आयोजनाका अनुसार हेडवक्र्स निर्माण, सुरुङको प्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसिटिभी क्यामेरा र ट्रिटमेन्ट प्लान्ट बनाउनेलगायत काम गर्नुपर्ने हुन्छ। नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved