विद्युत् खरिद बिक्रीका लागि भारतसँग ‘पावर बैंक’ सम्झौता गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 09:14:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विद्युत् खरिद बिक्रीका लागि भारतसँग ‘पावर बैंक’ सम्झौता गर्ने भएको छ । विद्युत् निकासी÷पैठारीलाई व्यवस्थित र प्रतिफलमुखी बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यस्तो तयारी गरेको हो ।
ऊर्जामन्त्री वर्षमान पुनसँग विद्युत् जम्मा गर्ने ‘पावर बैंक’बारे संसद्मा समेत छलफल भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेटका क्रममा सांसद विमल श्रीवास्तवले ऊर्जामन्त्री पुनसँग ‘पावर बैंक’को जानकारी दिन माग गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा विद्युत् जम्मा गर्न मिल्ने ‘पावर बैंक’को चर्चा भएको थियो । तर, अहिलेसम्म सदनलाई कुनै जानकारी नभएको भन्दै श्रीवास्तवले जानकारी माग गरेका हुन् ।

ऊर्जामन्त्री पुनले ‘पावर बैंक’बारे नेपाल र भारतबीच छलफल जारी रहेको बताए । यो विषय दुवै देशका लागि आवश्यक रहेकाले थप छलफलपश्चात् यसलाई मूर्तरूप दिइने उनले बताए । प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा यो विषय उठेको भन्दै ऊर्जामन्त्री पुनले भारतले कन्सेप्ट पेपर मागेको र नेपालले त्यो उपलध गराएपछि दुई पक्षबीच एकपटक छलफलसमेत भइसकेको बताए ।
ऊर्जामन्त्री पुनले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोसी आएपछि वर्षायाममा नेपाललाई विद्युत् बढी हुनेछ त्यसैले बढी भएका बेला भारतलाई दिने र नेपाललाई कम भएको बेला लिने काम पावर बैंकबाट हुनेछ ।’

नेपाललाई कहिले बढी हुने र कहिले कम हुने अवस्थामा यो प्रविधि अत्यन्तै उपयुक्त हुन्छ । यसलाई शीघ्र कार्यान्वयनमा लैजान आवश्यक पहल भइरहेको ऊर्जा मन्त्रालयका अधिकारीले बताए । सुरुका दिनमा यसले नेपालको हितमा बढी नै काम गर्ने र पछि नेपालसँग बढी भएको विद्युत् भारतलाई दिन सहयोग पु¥याउने उनीहरूले बताए ।
विद्युत्को क्षेत्रमा भारतले दक्षिण एसियामा शक्ति र स्रोतमाथि पकड जमाउँदै आएको छ । यसक्रममा उसले आफ्ना छिमेकी मुलुकलाई सस्तोमा विद्युत् उपलब्ध गराउने योजनासमेत सुरु गरेको छ । यो तयारीलाई छिमेकी मुलुकलाई सहयोग पनि गर्ने, आफूलाई बढी भएको विद्युत् बिक्री पनि गर्ने र ती मुलुकमा आफ्नो प्रभुत्व कायम राख्न थप सहयोग पु¥याउने उसको रणनैतिक योजनाका रूपमा समेत हेर्न थालिएको छ ।

नेपालमा लोडसेडिङको पूर्ण रूपमा अन्त्यका लागि निरन्तर रूपमा भारतबाट विद्युत् ल्याइँदै आएको छ । विद्युत् प्राधिकरणका अनुसार हाल भारतबाट ४०५ मेगावाट विद्युत् आयात भइरहेको छ । दुई देशबीचको प्रसारण लाइन क्षमता वृद्धिका लागि नेपालले भारतीय पक्षसँग तीनवटा १३२ केभी र दुईवटा ३३ केभी नयाँ प्रसारण लाइन निर्माणको प्रस्तावसमेत राखेको छ । पलिया–धनगढी, नानपारा–कोहलपुर र सम्पतिया–मैनैयामा १३२ केभी तथा नानपारा–खडिया र नौतनवा–भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको हो ।


के हो पावर बैंक ?

पावर बैंक विद्युत् कारोबार गर्ने एक किसिमको विद्युतीय बैंक हो । वाणिज्य बैंकले पैसाको हिसाब राखेजस्तै पावर बैंकले विद्युत् खरिद बिक्रीको हिसाब राख्छ । जसबाट एउटा देशमा विद्युत् कम वा बढी हुँदा सम्झौता भएको अर्को मुलुकबाट विद्युत् आयात वा निर्यात गर्न सकिन्छ र त्यसको हिसाब मिलान पनि सोही पावर बैंकमार्फत हुन्छ ।

पावर बैंक सम्झौता भए विद्युत् व्यापार प्रक्रिया सहज हुनेछ । यस्तो सम्झौतापछि नेपालमा विद्युत् बढी भए भारतमा बिक्री गर्न र कम भएको बेला भारतबाट विद्युत् ल्याउन थप सहज हुनेछ । यसले ऊर्जा सन्तुलनमा समेत सहयोग पु¥याउनेछ ।भारतको नयाँ दिल्लीमा केही महिनाअगाडि सम्पन्न नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम ८ रुपैयाँ ८८ पैसादेखि अधिकतम १० रुपैयाँ ३२ पैसा प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको छ । यसअघि भारतीय पक्षले महँगो मूल्य प्रस्ताव गरेका कारण प्राधिकरणले वर्षाको समयमा ती प्रसारण लाइनबाट थप विद्युत् आयातको विषयमा निर्णय गर्न सकेको थिएन । नेपाललाई भारतले यसअघि उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५ दशमलव ५ प्रतिशतको दरले बढाउँदै आएको थियो । अब भने त्यो प्रावधान हटाई आपसी सहमतिमा विद्युत्को नयाँ मूल्य निर्धारण गर्ने सहमति दुई पक्षबीच भएको छ । राजधानी दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved