पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उनले अनशन बसेदेखि खाना बन्द गरेका छन्, स्लाइन लिन पनि मानेका छैनन् ।स्वास्थ्य नाजुक बनेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले बुधबार साँझ ५ बजे प्रहरी घेरा तोड्दै अस्पतालको इमर्जेन्सी वार्डमा पुर्याएका छन् ।
डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि निषेधित क्षेत्र अवज्ञा गर्दै अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए । ‘स्थानीय प्रशासनसँग पटक–पटक डा. केसीको जीवनरक्षाको माग गर्दा पनि सुनुवाइ नभएपछि जबर्जस्ती अस्पताल ल्याएर उपचार थालेका हौं,’ उनले भने, ‘एकजना बिरामी छटपटाइरहेको हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छौं ?’ प्रहरीको सुरक्षा घेरामा रहेका डा. केसीलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको उनले बताए ।
डा. केसीको १५ औं अनशन विगतको भन्दा कष्टपूर्ण बनेको छ । उनले पाँच दिन दुर्गन्धित कभर्डहलमा कष्टपूर्ण रूपमा गुजारे । यसले उनको स्वास्थ्य खराब बन्यो । उनका सहयोगी किशोर केसीका अनुसार काठमाडौंमा ९–१० दिनसम्म खाली पेट अनशन बस्दासमेत खासै समस्या देखिँदैनथ्यो । ‘जुम्लामा भने चार–पाँच दिनमै जटिलता आयो,’ उनले भने, ‘यस्तो अवस्थामा समेत प्रशासनले उपचार गर्ने वातावरण बनाएको छैन ।’
अस्पतालमा पनि डा. केसीलाई सहज छैन । ‘हाम्रो अस्पतालमा आईसीयू छैन, त्यसैले जे–जस्तो सुविधा छ, सोहीअनुसार उपचार प्रयास गर्नेछौं,’ प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेको भनाइ छ । डा. केसी भने मूल माग पूरा नभई काठमाडौं नफर्किने अडानमा छन् । ‘जबसम्म माग पूरा हुँदैन, तबसम्म मेरो सत्याग्रह जारी रहन्छ,’ उनले कान्तिपुरसँग भने, ‘माग पूरा नभई काठमाडौं जान्नँ ।’
यता उनको जीवनरक्षा माग गर्दै मंगलबारदेखि स्वास्थ्य संस्था बन्द गरेर प्रदर्शनमा उत्रिएका चिकित्सकले आन्दोलन जारी राखेका छन् । उनीहरूले बुधबार पनि कभर्डहलअगाडि धर्ना दिए । नागरिक समाजले पनि डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन जारी राखेको छ । कान्तिपुर दैनिकमा खबर छ ।