प्रधानमन्त्रीले चिकित्सकलार्इ भने- ‘गोबिन्द केसीलाई तपाईंहरू नै बचाउनुस्’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 09, 2018 | 08:03:34 AM मा प्रकाशित

laxmi  sunrise bank

चिकित्सकहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटी डा. गोविन्द केसीको जीवन रक्षार्थ पहल गर्न आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले चिकित्सा शिक्षा अध्यादेश अक्षरशः लागू गर्न पनि माग गरेका हुन् ।

चिकित्सकहरूले प्रधानमन्त्रीलाई बिहानै भेटेर जीवन रक्षाका लागि ज्ञापनपत्र बुझाउन चाहे पनि उनले भेट दिएका थिएनन् । ज्ञापनपत्र बुझाउन नपाएको झोंकमा चिकित्सकले सबै प्रकारका सेवा ठप्प पार्ने कडा चेतावनी दिएपछि साँझ प्रधानमन्त्रीले भेट्ने समय दिएका थिए ।

साँझ चिकित्सकको ज्ञापनपत्र बुझे पनि प्रधानमन्त्री ओली आफ्नो पूर्ववत् अडानमा टसमस नभएको भेटमा सहभागी एकजना चिकित्सकले अन्नपूर्णलाई जानकारी दिए । ओलीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने केसीको माग सम्बोधन गर्न नसकिने बताएका थिए ।

ज्ञापनपत्र लिएर गएका चिकित्सकसँग प्रधानमन्त्रीले डा. केसीका माग विपरीतका प्रश्न गरेका थिए– काठमाडौंमा किन मेडिकल कलेज खोल्न नपाउने ? सम्बन्धन किन नदिने ? नेपाली विद्यार्थी विदेश पढ्न गइरहेका छन्, किन नरोक्ने ?

ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ नेतृत्वमा चिकित्सक टोली साँझ प्रधानमन्त्री निवास बालुवाटार गएको थियो ।

नौ दिनदेखि अनशनरत डा. केसीलाई मर्न नदिन आग्रह गर्दा प्रधानमन्त्री ओलीले चिकित्सकलाई नै डा. केसीको जिम्मा लिन भनेका थिए । ‘तपाईंहरू नै जीवन बचाउने व्यक्ति हो । मर्न नदिनुस्, बचाउनुस्’, भेटमा सहभागी एक चिकित्सकले प्रधानमन्त्रीालाई उद्धृत गर्दै अन्नपूर्णलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चिकित्सक संघका पदाधिकारीलाई कुनै पनि हालतमा बन्द र हड्ताल नगर्न समेत चेतावनी दिएका थिए । ‘उपचार सेवा बन्द गर्न वा हड्ताल गर्न पाइँदैन’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै केसीका माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिइएको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।

चिकित्सक संघका अध्यक्ष श्रेष्ठले भने, ‘सार्वजनिक समारोह र घोषणापत्रमा एउटा कुरा गर्ने तर व्यवहारमा गरिब जनतालाई स्वास्थ्य सेवा सुलभ गराउने विषयमा बेवास्ता गरेको देखियो । प्रधानमन्त्री र मन्त्रीहरू पेलेरै जाने मनस्थितिमा देखिन्छन् । उनीहरूका बोली पनि असहिष्णु छन् । मन्त्रीका अभिव्यक्ति हेर्दा दुईतिहाइको दम्भ झल्किएको छ ।’ डा. श्रेष्ठले अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदा पनि सरकार गम्भीर नबन्दा सेवारत चिकित्सकमा आक्रोश थपिएको बताए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved