३३ किलो सुन तस्करी : 'ठूला माछा' बिना नै प्रतिवेदन बुझाउने तयारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 29, 2018 | 08:32:29 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले गत जेठ २३ मा सार्वजनिक रूपमै सुन तस्करका तीन तहका गिरोह केलाएका थिए । सुन तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सुन तस्करीको अनुसन्धान गर्न बनेको समितिले ‘ठूला माछा’बिनै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणबारे छानबिन गर्न गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा अघिल्लो वर्ष चैतमा उच्चस्तरीय छानबिन समिति बनेको थियो । समितिले अनुसन्धान टुंगोमा नपुग्दै यसै साता मन्त्री थापालाई प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

चार महिना लामो अनुसन्धानका क्रममा मुख्य आरोपी भनिएका गोरे नामले चिनिने चूडामणि उप्रेतीसहित समितिकै सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा ६३ जनामाथि मुद्दा चलाएको थियो । मुद्दा चलाइएका र त्यसबाहेक गरी ४५ जना पक्राउ परिसकेका छन् । उनीहरू सबै पुर्पक्षका लागि थुनामा छन् ।

समितिका एक सदस्यअनुसार राजनीतिक दलका केही नेता र यसअघि सुन व्यापारमै कहलिएका व्यापारीको नाम खुले पनि थप प्रमाण नभएपछि उनीहरूलाई शंकाको घेरामा राख्ने काम भएको छ । समितिले झण्डै तीन सय जनाको नाम यस्तो शंकाको घेरामा राखेर प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।

‘बहुमूल्य सामान तस्करीमा राज्यको कुनै संयन्त्र र दलका नेता नमिली सम्भव छैन भन्ने कुरा यो घटनामा जोडिएका पक्षले पनि पुष्टि गर्छ’, समितिका ती सदस्य भन्छन्, ‘तर राज्य संयन्त्रका हाँगाहरू आदेश र निर्देशनात्मक ढंगले चल्ने यो मुलुकमा नेताका नाम खुले पनि कारवाही गर्न प्रमाण अभाव भएपछि केही गर्न सकिएन ।’

अनुसन्धानका क्रममा पक्राउ परेका प्रहरीकै डीआईजी तहसम्मका सुरक्षाकर्मी र उनीहरूलाई परिचालित गर्ने सुन तस्करका गिरोहको ‘नेक्सस’ राज्यको उपल्लो तहमै हुने गरेको तथ्य समेत बाहिरिएको छ । बदनामीमा पहिल्यै नाम कमाएका र कारबाही भोगेका प्रहरी कर्मचारीलाई संवेदनशील स्थानमा खटाउँदा त्यसले पार्न सक्ने प्रभावबारे नीतिगत तहमा बसेका कर्मचारी चुकेको यो निष्कर्षमा समेत समिति पुगेको छ ।

विमानस्थलमा खटिएका सुरक्षाकर्मी मात्रै नभएर निजामती कर्मचारी, विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत कर्मचारीमा पैसाको आशक्ति बढ्दा तस्करीले प्र श्रय पाएको निष्कर्ष समितिको छ । हाल पक्राउ परेका अभियुक्तहरूले ‘ होलसेल’मा नेताको पनि मिलेमतो भने पनि व्यक्ति किटान र उसको भूमिकाबारे प्रष्ट बयान नदिंदा ठूलामाछा पक्राउ पर्न नसकेको समितिका ती सदस्य बताउँछन् । उनले भने, ‘एक त यो संगठित अपराधमा धेरै जालो जोडिएका हुन्छन्, मुख्य व्यक्तिसम्म त्यति सजिलो हुँदैन तर मुख्य व्यक्तिका नाम पोलिदिंदा भोलि आरोपित व्यक्तिले नै आफ्नो नाम पोल्ने व्यक्तिविरुद्धमा जाने भएपछि बताउन नचाहेको हामीले बुझ्यौं ।’

समितिले बुझाउन लागेको प्रतिवेदनमा विमानस्थल सुधार, कानुनमा संशोधन, तस्करी हुने तेस्रो मुलुकसँगको आपसी सम्बन्ध, विमानस्थलमा खटिएका कर्मचारीको सरुवाको मापदण्डलगायतका विषयमा समेत थुप्रै सुझाव दिएको छ । पटकपटक सरुवा गर्दा पनि उपल्लो तहको सोर्सफोर्स लगाएर विमानस्थलमै काम गर्न मरिहत्ते गर्ने कर्मचारीबारे सुक्ष्म निगरानी गर्नुपर्ने र सरुवा मापदण्ड बनाउन सुझावसमेत समितिले दिएको छ ।

समितिले २०७० देखि विमानस्थलबाट हुने गरेको सुन तस्करीबारे केलाउँदा तीन हजार आठ सय किलो सुन तस्करी भएको रहस्योद्घाटन गरेपनि त्यसमा पुरानै नाम जोडिएका थिए । तर टनका टन सुन तस्करीका लागि विमानस्थल निर्वाध प्रयोग हुनुले राज्यको प्रशासनिकसँगै सुरक्षा संयन्त्र उदांगिएको बारेमा जिम्मेवार निकायले गम्भीर भएर सोच्नुपर्ने बेला आएको सुझाव समितिको छ ।

समितिले प्रतिवेदनमा भुजुङ गुरुङ, गोरे, रमेश उप्रेती, बेनु श्रेष्ठ, मोहन काफ्ले, टेकराज मल्ल, एमके भन्ने मोहनकुमार अग्रवाल, छिरिङ वाङ्गेल घले, चाचाजी भन्ने महावीरप्रसाद गोल्यान सुनमा लगानीसँगै तस्करीलाई पूर्णता दिने प्रमुख गिरोहका रूपमा उभ्याएको छ । रमेश र बेनुलाई दुबईबाट नेपाल ल्याएपछि मात्रै थप रहस्य बाहिर आउनेमा समिति ढुक्क छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved