बिमाबाट ७३ अर्ब प्रिमियम संकलन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 08:52:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बिमा कम्पनीले गत आर्थिक वर्ष ७३ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । बिमा कम्पनी (जीवन र निर्जीवन) ले आर्थिक वर्ष २०७४÷०७५ मा संकलन यो गरेको प्रिमियम (बिमा शुल्क) अघिल्लो आवको तुलनामा २७.८३ प्रतिशत बढी हो । कम्पनीहरूको व्यवसायमा भएको विस्तारसँगै अघिल्लो वर्षको तुलनामा बिमा शुल्क उच्च वृद्धि भएको हो । अघिल्लो आवम ५७ अर्ब २२ करोड रुपैयाँ प्रिमियम संकलन भएको थियो । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि बिमासम्बन्धी चेतना बढेको छ । बिमा कम्पनीले व्यवसाय विस्तार गर्दा यसको असर प्रिमियम संकलनमा देखिएको छ । अघिल्लो आवको तुलनामा गएको आवमा जीवन बिमा कम्पनीले बिमा व्यवसाय विस्तार गरेर ३१.७६ प्रतिशत प्रिमियम बढाएका छन् । गत आवसम्म १७ वटा जीवन बिमा कम्पनीले ५१ अर्ब दुई करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । अघिल्लो आवसम्म आठवटा जीवन बिमा कम्पनीले ३८ अर्ब ७२ करोड प्रिमियम संकलन गरेका थिए ।

नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पछिल्लो समयमा सर्वसाधारणमा बिमासम्बन्धी चेतना वृद्धि र कम्पनीको व्यवसाय विस्तार भएका कारण प्रिमियम संकलन बढेको बताए । ‘बिमामा जनचेतना बढ्दै गएको छ भने पहुँच र बजार पनि विस्तार हुँदै गएको छ । अघिल्ला वर्षको तुलनामा बिमा क्षेत्रको विकास राम्रो भए पनि त्यो पर्याप्त होइन’, झाले भने, ‘बिमाको बजार ठूलो छ, आगामी आवमा अझ बजार बढ्छ ।’ अघिल्लो वर्ष विभिन्न कारणले एजेन्टले राम्रोसँग काम गर्न सकेका थिएनन् तर अहिले राम्रोसँग काम गर्न पाएको कम्पनीहरूको भनाइ छ ।

गत आव २० वटा निर्जीवन बिमा कम्पनीले २२ अर्ब १३ करोड प्रिमियम संलकल गरेको बिमा समितिको तथ्यांक छ । अघिल्लो आवमा १७ वटा निर्जीवन बिमा कम्पनीले १९ अर्ब बिमा शुल्क आर्जन गरेका थिए । आव २०७३÷०७४ को तुलनामा आवको तुलनामा गत आव निर्जीवन कम्पनीले साढे १६ प्रतिशत बढी प्रिमियम शुल्क बुझाएका छन् ।

३० खर्बको अर्थतन्त्र भएको देशमा साढे १६ प्रतिशतले प्रिमियम शुल्क बढ्नु त्यति उत्साहनक नभएको सिद्धार्थ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बताए । व्यापार तथा बैंकिङ कर्जा बढ्दा बिमा व्यवसाय अझ धेरै बढ्नु पर्ने हो’, उनले भने, ‘यो राम्रो वृद्धि होइन सामान्य हो ।’

गत आवसम्म जीवन बिमा कम्पनीले ३१ अर्ब ३८ करोड रुपैयाँ बिमा नवीकरणबाट प्रिमियम संकलन गरेका छन् । बिमा कम्पनीले वैदेशिक रोजगारमा जानेसँग एक अर्ब ८३ करोड रुपैयाँको प्रिमियम संकलन गरेका छन् । एक अर्ब ६ करोड प्रिमियम एकपटक गरिने बिमाबाट संकलन भएको छ । यो बिमा ट्राभल्स तथा अन्य प्रयोजनमा गरिने एकपटक हुने बिमा हो । जीवन बिमातर्फ १५ अर्ब २० करोड पहिलो प्रिमियमबापत संकलन भएको छ ।

गत आव १० वटा नयाँ जीवन बिमा कम्पनी थपिएका छन् । नयाँ बिमा कम्पनीमध्ये आईएमई लाइफ इन्सुरेन्सले ५२ करोड २३ लाख प्रिमियम संकलन गरेको छ । युनियन लाइफले ८४ करोड ९४ लाख, ज्योति लाइफले २८ करोड ४९ लाख, सन् नेपाल लाइफले २९ करोड ६९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । रिलाइन्स लाइफले आठ करोड ६४ लाख, रिलायवल लाइफले ४२ करोड ७७ लाख रुपैयाँको प्रिमियम संकलन गर्न सफल भएका छन् ।

नयाँ बिमा कम्पनीमध्ये सिटिजन लाइफले ४० करोड ३७ लाख, प्रभु लाइफले ११ करोड ७७ लाख र सानिमा लाइफले नौ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

पुनर्बिमा कम्पनीको प्रिमियम तीन अर्ब ८२ करोड

नेपाल पुनर्बिमा कम्पनीले गत आव तीन अर्ब ८२ करोड प्रिमियम संकलन गरेको छ । अघिल्लो आवमा बिमा व्यवसायीले तीन अर्ब ४४ करोड रुपैयाँको प्रिमियम गरेका थिए । हाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब छ । अघिल्लो आवमा पुनर्बिमा कम्पनीमा ५१ करोड ४० लाख रुपैयाँको बिमा दाबी परे पनि गएको आवमा भने दाबी नै नपरेको तथ्यांक समितिले दिएको छ । अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved