बैंकहरूको लाभांश बाँड्न मिल्ने नाफा ३८ अर्ब , विदेशी मुद्रामा ल्याएको ऋण सस्तो नहुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 16, 2018 | 09:15:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज प्रकशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकतामा दिएर समाचार प्रकाशन गरेका छन् । अन्नपूर्ण पोस्टले २७ वटा बाणिज्य बैंकहरुले  ४९ अर्ब नाफा गरेको खबर छापेको छ । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ४८ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन्। हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आव २०७४÷०७५ मा यो नाफा गरेका हुन्। यो नाफा अघिल्लो आवभन्दा करिब १८ प्रतिशत बढी हो। राष्ट्रिय वाणिज्य बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन। आव २०७३/०७४ मा यी बैंकले ४१ अर्ब ५८ करोड नाफा कमाएका थिए। २७ वटा वाणिज्य बैंकमध्ये सिभिल, सेञ्चुरी र जनता बैंकको नाफा अर्बभन्दा कम र अन्यको अर्बभन्दा बढी छ। राष्ट्रिय वाणिज्य बैंकबाहेक गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। नबिलले गत आव चार अर्ब पाँच करोड नाफा गरेको छ। अघिल्लो आवमा यो बैंकको नाफा तीन अर्ब ६१ करोड थियो। नबिलपछि तीन अर्बभन्दा बढी नाफा कमाउनेमा तीनवटा बैंक छन्। कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा साढे तीन अर्बभन्दा माथि छ भने नेपाल बैंकको नाफा तीन अर्ब ३९ करोड छ।

अन्नपुर्ण मै एउटै गाईबाट सवा पाँच लाख आम्दानी शिर्षकको समाचार छ । एउटा गाईले कति लिटरसम्म दूध दिन्छ ? पाँच लिटर वा १० लिटर। तर, बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटरसम्म दूध दिन्छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ। १६ वैशाख २०७३ मा पहिलो बेत ब्याएको यो गाइले आठ महिनामा चार हजार चार सय १० लिटर दूध दियो। २१ वैशाख २०७४ मा दोस्रो बेत ब्याएपछि पाँच हजार दुई सय ८० लिटर दूध दिएको फार्म सञ्चालक शारदा शर्माले बताइन्। ‘पहिलो बेतको सुरुका चार महिना २२ लिटरका दरले दूध दियो। त्यसपछिका तीन महिना १७ लिटर र अन्तिम एक महिनामा आठ लिटरका दरले दूध दिएको थियो’, सञ्चालक शर्माले भनिन्, ‘दोस्रो बेतमा त चमत्कार नै भयो। सुरुका चार महिना २८ लिटरका दरले दूध दियो। त्यसपछिका तीन महिना १८ लिटर र अन्तिम एक महिना १० लिटरका दरले दूध दियो।’

'काठमाडाैंको सडक विस्तार : ठेक्का आठ अर्ब, खर्च पौने तीन अर्ब' को शिर्षकको समाचार पनि अन्नपुर्णमा छ । उपत्यकाको सडक विस्तार गर्न तीन वर्ष अगाडि करिब आठ अर्ब रुपैयाँ खर्च गर्ने गरी लागेको ठेक्कामा निर्माण अवधि सकिने समयसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीन वर्ष अघि लगाएका विभिन्न १० वटा सडक विस्तार गर्न लगाएको ठेक्कामा गत असारसम्म न्यूनतम पाँचदेखि अधिकतम ८५ प्रतिशतसम्म प्रगति भएको छ ।यो सडक गत असार मसान्तसम्म निर्माण सक्नुुपर्ने भए पनि विभिन्न कारण देखाएर आयोजनाले एक वर्षका लागि समयसमेत थप गरेको छ । 

कान्तिपुर दैनिकले विदेशी मुद्रामा ल्याएको ऋण सस्तो नहुने समाचार छापेको छ । वाणिज्य बैंकहरूले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ल्याएको ऋण पनि सस्तो नहुने भएको छ । बैंकहरूले विदेशबाट ल्याएको ऋण पनि प्रचलित ब्याजदरमै लगानी गर्ने छुट राष्ट्र बैंकले दिएकाले अपेक्षा गरिए जस्तो सस्तो नहुने भएको हो । राष्ट्र बैंकले बैंकहरूलाई भारतीय मुद्रामा पनि ऋण ल्याउन बाटो खोलिदिएपछि बजारमा त्यस्तो ऋण सस्तो ब्याजदरमा पाइने चर्चा चल्न थालेको छ । विदेशी मुद्रामा ल्याएको ऋण तोकिएको क्षेत्रमा मात्र लगानी गर्नुपर्ने व्यवस्था रहे पनि सस्तो दरमा दिनुपर्ने बाध्यता नभएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए ।विदेशबाट ल्याएको ऋणको लागत कम भएमा बैंकको आधार दर थोरै हुन्छ । त्यसो हुँदा समग्र ऋणको ब्याजदर घट्छ । तर, विदेशबाट ल्याएको ऋणको मात्र ब्याजदर कम अरूको महँगो भन्ने हुँदैन ।

त्यस्तै 'कृषिमा वैदेशिक अनुदान : दुई सयभन्दा बढी कार्यविधि खारेज हुने' शिर्षकको समाचार पनि कान्तिपुरमा छ सरकारले कृषिमा आउने अनुदान खर्च गर्दा एकरूपता ल्याउनका लागि प्रचलित कार्यविधि/विनियमावलीहरू खारेज गर्ने तयारी गरेको छ ।‘ऐन, नियम, कार्यविधि, निर्देशिका, कानुन गरी दुई सयभन्दा बढी छन्,’ मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले भने, ‘त्यसमा एकरूपता छैन । जति पनि कार्यजोनाहरू छन् । सबैलाई एउटैमा समेट्ने योजना छ ।’

कारोबार दैनिकले बैंकहरूको लाभांश बाँड्न मिल्ने नाफा ३८ अर्ब शिर्षकको समाचार छापेको छ । गत आर्थिक वर्ष २०७४-७५ मा वाणिज्य बैंकहरूले नाफावाट लाभांशस्वरूप ३८ अर्ब ९ करोड रुपैयाँ वितरण गर्नसक्ने अवस्था देखिएको छ । सो अवधिमा बैंकहरूले ४८ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेकाले सो रकम सेयरधनीलाई प्रतिफलस्वरूप बाँड्नसक्ने अवस्था देखिएको हो । बैंकहरूले गरेको खुद नाफावाट सञ्चित कोषमा २० प्रतिशत, सामाजिक उत्तरदायित्वका लागि एक प्रतिशत तथा अन्य सञ्चितिका लागि एक प्रतिशत छुट्याएपछिको नाफा सेयरधनीलाई लाभांश स्वरूप बाँड्न सक्छन् । तर, बैंकहरूले अनिवार्य गरिएभन्दा धेरै पनि सञ्चित कोषमा राख्नसक्ने भएकाले उक्त रकम पूरै सेयरधनीलाई वितरण गर्छन् नै भन्ने निश्चित भने हुदैन । बैंकको वित्तीय अवस्था अनुसारको सञ्चित छुट्यापछिमात्र लाभांश दिने निर्णय गर्छन् । 

कारोबार मै लेखापरीक्षण गर्न सरकारी निकायलाई ६२ पटक ताकेता सम्बन्धि समाचार छ । महालेखा परीक्षकको कार्यालयले सरकारले आर्थिक अनियमितता गर्नेमाथि कारबाही नगरेको भन्दै असन्तुष्टि जनाएको छ । लेखापरीक्षण नगर्ने निकायलाई बोलाएर आफ्नै उपस्थितिमा लेखा परीक्षणकै लागिमात्रै ६२ पटक ताकेता गरेको तर उपलब्धि हासिल हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

महालेखा परीक्षकको ५५ औं प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा गुठी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय आवास कम्पनी लिमिटेड, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, नेपाल रेल्वे कम्पनी र साँस्कृतिक संस्थानले लेखापरीक्षण नै गराएका छैनन् । सरकारी निकायहरूले नै लेखापरीक्षण नगराउँदा मुलुकको बेरुजु कहालीलाग्दो अवस्थामा पुगेको र मुलुकको वित्तीय सुशासनको अवस्था २० वर्षयताकै कहालीलाग्दो अवस्थामा पुगेको महालेखाले जनाएको छ ।

नेपाल रेल्वेको जग्गा आनाधिकृत किनबेच भएको समाचार पनि कारोबारमा छ ।

नयाँ पत्रिका दैनिकले तीन चिनी उद्योगसँग २१ मेगावाट विद्युतकाे पिपिए साताभित्रै शिर्षकको समाचार छापेको छ । नेपाल विद्युत् प्राधिकरणले ३ चिनी उद्योगसँग २१ मेगावाट विद्युत् खरिदबिक्री सम्झौता(पिपिए) यही साता गर्ने अन्तिम तयारी गरेको छ । प्राधिकरणले बाराको रिलायन्स सुगर मिल, सर्लाहीको इन्दुशंकर सुगर मिल र महोत्तरीको एभरेस्ट सुगर मिलसँग पिपिए गर्ने तयारी गरेको हो ।रिलायन्स र इन्दुशंकरले तीन–तीन मेगावाट र एभरेस्टले १५ मेगावाट गरी कुल २१ मेगावाट विद्युत् प्राधिकरणलाई बेच्ने तयारी गरेका छन् । यी उद्योगसँग साताभित्रै पिपिए हुने सम्भावना रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।  ०७६ को हिउँदमा धेरैजसो चिनी उद्योगका विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने छ । 

नागरिक दैनिकले सिक्टा सिचाई आयोजनामा भएको अनियमितताबारेको फलो अपलाई निरन्तरता दिएको छ  । नागरिकले आज आयोजनाको कमसल निर्माणले ६ गाउँ जोखिममा रहेको समाचारलाई प्रमुख स्थान दिएको छ  । त्यस्तै २५ वटा बाणिज्य बैंकको नाफा अर्ब माथि रहेको समाचार पनि नागरिकमा छ  । 

नागरिक मै 'स्वदेशी चिनीले बजार पाएन, किसानले भुक्तानी पाएनन्' शिर्षकको समाचार छ । शिवशक्ति ग्रुपअन्तर्गतको रिलायन्स चिनी उद्योगले यस वर्ष साढे २५ हजार टन चिनी उत्पादन गर्‍यो। किसानबाट १५७ करोडको ४० लाख क्वीन्टल उखु खरिद गरी उक्त परिमाणमा उत्पादन गरेपनि बजारमा ६ हजार मेट्रिक टन चिनी मात्रै विक्री भयो। अहिलेसम्म उत्पादनको ७० प्रतिशत चिनी विक्री हुनुपर्नेमा बजारमा मूल्य नपाउँदा १२४ करोडको चिनी गोदाममा थन्किएको बताउँछन् उद्योग सञ्चालक राजकुमार अग्रवाल। उनका अनुसार चिनी विक्री नहुँदा उखु किसानलाई ५७ करोड भुक्तानी गर्नै बाँकी छ। १ सय करोड ऋणदान गरेर किसानलाई दिइसकिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved