ग्यासको मूल्य बढाउने तयारी, यस्तो आयो यूएस–बंगला बिमान दुर्घटनाको छानविन प्रतिवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 09:06:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ ५ गते बुधबार प्रकशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाइ प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् । गोरखापत्र दैनिकले नेपाल आयल निगमले एल.पी ग्यासको घाटा कम गर्न व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने ग्यासको मूल्य बढाउने तयारी गरेको खबर छापेको छ । दुई रङको सिलिण्डिर लागू गरी रातो रङको घरायसी प्रयोजनका लागि वितरण गर्ने र नीलो रङको व्यावसायिक प्रयोजनका लािग प्रयोग गर्न दिने तयारी भएको निगमले जनाएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरी निगमले व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने ग्यासको मूल्य घरायसी प्रयोजनको ग्यासभन्दा महँगो बनाएर घाटा कम गर्नुपर्ने बताएको हो । 

गोरखापत्र मै यातायात व्यवस्था विभागले मागअनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न नसकेपछि निजी क्षेत्रलाई प्रिन्ट गर्न दिने तयारी गरेको खबर छ  । यातायातको क्षेत्रमा एकाधिकार प्राप्त विभागबाट दुई वर्ष कुर्दा पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन नसकेपछि जनगुनासो व्याप्त आउन थालेको छ । सवारी साधनको दर्ता, रुट परमिट, लाइसेन्स वितरण, नियमनलगायतका सम्पूर्ण काम गर्दै आएको विभाग लाइसेन्स वितरणको कार्य कछुवा गतिमा भइरहेको छ । 

कान्तिपुर दैनिकले गत साता काठमाडौंमा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलनमा परराष्ट्रबाहेकका निकायले करिब १५ करोड रुपैयाँ खर्चको प्रस्ताव पेस गरेको खबर छापेको छ ।अर्थ मन्त्रालयका अनुसार ४ मन्त्रालयले बिमस्टेकको खर्च सहमति माग्ने क्रममा करिब १५ करोड रुपैयाँ खर्चको विवरण पेस गरेका हुन् । सबैभन्दा बढी खर्चको माग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ ।

कान्तिपुर मै गुणस्तरीय इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको खबर छ । एक वर्षको अवधिमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या तीन गुणा बढेको हो । द्रुत र गुणस्तरीय इन्टरनेटको प्रयोगकर्ता बढे पनि यसको प्रयोग भने युटयुब र फेसबुकको प्रयोगमा खर्च हुने तथ्यांकले देखाएको छ ।

तरकारी तथा फलफूल कारोबारमा देखिएको विकृतिलाई रोक्न सरकारलाई सन्दर्भ मूल्य तोक्न सिफारिस गरिएको खबर पनि कान्तिपुरमा छ । बिचौलियाको तह घटाउन गठित कार्यदलले मूल्य तोक्नेसहित दर्जनभन्दा बढी सुझाव दिएको हो ।

अन्नपुर्ण पोस्ट दैनिकले वैदेशिक रोजगारीमा ठगी डेढ अर्ब, असुली २० करोड शिर्षकको समाचार छापेको छ ।  एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ । यसरी ठगिएको मध्ये २० करोड रुपैयाँ मात्रै असुली भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब ५२ करोड २० लाख ७१ हजार दुई सय ५५ रुपैयाँ ठगी भएको छ । तर ठगी भएमध्ये असुली दर निकै कम छ । विभागका अनुसार उक्त अवधिमा २० करोड १९ लाख ९४ हजार आठ सय ७१ रुपैयाँ मात्रै असुली भएको हो । 

त्यस्तै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूची (अटेर)मा परेका व्यापारीलाई हटाउने निर्णय गरेको खबर पनि अन्नपूर्णमा छ। सञ्चालक समितिको मंगलबार बसेको बैठकले अटेर गर्ने ६ जना व्यापारीलाई हटाउने निर्णय गरेको हो। 

कारोबार दैनिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते भएको यूएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सम्बन्धि समचार छापेको छ ।  जाँचबुझ आयोगले तनावमा रहेका विमान चालकको लापरवाहीले दुर्घटना भएको तथ्य पत्ता लगाएको छ । गठन भएको ५ महिना २१ दिनपछि आयोगले मंगलबार पाइलट नै मुख्य दोषी रहेको प्रतिवेदन सरकारलाई बुझाएको हो । जाँचबुझ आयोगका अध्यक्ष पूर्वसचिव यज्ञ गौतमसहितको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको यो प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषद्मा पेश गर्नेछन् । 

प्रतिवेदनमा पाइलट नै मुख्य दोषी देखिएको र त्यसमा एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको उल्लेख गरिएको छ । प्रतिवेदनमा क्याप्टेन अविद सुल्तान मानसिक परूमा तनावमा रहेकोसमेत पाइएको उल्लेख गरिएको छ । आयोगका एक सदस्यका अनुसार क्याप्टेन पाइलट ‘इमोसनल डिष्टर्ब’मा देखिएको बताए । ‘फ्लाइट डाटा रेकर्ड’ (एफडीआर) र ककपिट भ्वाइस रेकर्ड (सीभीआर) को अध्ययनपछि पाइलट नै मुख्य दोषी रहेको निष्कर्ष आयोगले निकालेको हो । 

जाँचबुझ आयोगका एक सदस्यका अनुसार ककपिटको भ्वाइस रेकर्डरमा रहेको रेकर्डअनुसार क्याप्टेनले पुराना कुरा झिकेर को–पाइलट प्रिथुला रसिदसँग समेत झगडा गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाइलटले आफ्ना कुनै पुराना प्रेमिकको कुरा को–पाइलटसँग गरेर समय–समयमा चिच्याएको पनि रेकर्डमा पाइएको छ । पाइलटले ककपिटभित्रै पटक–पटक चुरोटसमेत पिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनको क्रममा क्याप्टेन सुल्तान यूएस–बंगला एयरलाइन्सकै कुनै को–पाइटलसँग प्रेममा रहेको र उनको ढाकाबाट काठमाडांैं उड्ने क्रममै झगडा परेको समेत देखिएको छ । 

कारोबार मै नेपाली सेनाले राखेको नाफामूलक व्यापार-व्यवसाय सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव रक्षा मन्त्रालयले रोकिदिएको खबर छ । सैनिक कल्याणकारी कोषको रकमलाई घरेलु तथा मझौला उद्योगमा लगानी गर्न सैनिक मुख्यालयले गरेको प्रस्ताव रक्षाबाट रोकिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved