प्रधानमन्त्रीको निर्देशनले चीनी महँगो, दशैँको लागि असोज दोस्रो सातादेखि सुपथ पसल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 09:04:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ २७ गते बुधबार प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन्  । कान्तिपुर दैनिकले उपभोक्तालाई चिनी महँगो पर्ने समाचार छापेको छ  । समाचारमा भनिएको छ 'चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालका अनुसार उनको कारखानाबाट प्रतिकिलो ६३ रुपैयाँमा चिनी बिक्री हुन्छ । बजारमा भने चिनीको खुद्रा मूल्य प्रतिकिलो ५९ रुपैयाँँ छ । यही बीचमा प्रधानमन्त्री केपी ओलीले चिनी आयात रोक्न अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।  यदि चिनीको आयात रोकिने हो भने बजार मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा बढी पर्ने व्यवसायी बताउँछन् । स्वदेशी चिनी उद्योगीले यहाँ उत्पादित चिनी बिक्री नभएको र किसानलाई पनि भुक्तानी दिन नसकेकाले आयात बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेपछि उनले आयात रोक्न निर्देशन दिएका हुन् । '

त्यस्तै कान्तिपुर मै सवारीको भन्सार नघट्ने समाचार छ  । राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा रहँदै आएको सवारीको भन्सार महसुल नघट्ने भएको छ । सवारी व्यवसायसँग सम्बन्धितहरूले सवारीमा सरकारले लगाएको भन्सार दर बढी भएको गुनासो गरे पनि अर्थमन्त्री युवराज खतिवडाले तत्काल भन्सार दर परिवर्तन नहुने बताएका हुन् । अर्थमन्त्रीले मंगलबारदेखि काठमाडौंमा सुरु भएको नाडा अटो सोको उद्घाटन गर्दै नेपालको अर्थतन्त्र भन्सार राजस्वमा आधारित रहेकाले तत्काल भन्सार दर घटाउँदा विकास निर्माणका लागि बजेट अभाव हुने दाबी गरे । 

रेस्क्यु उडानका नाममा कर छली भएको खबर पनि कान्तिपुरमा छ । हुम्लामा रहेका निजी हेलिकप्टर कम्पनीले पछिल्लो तीन महिनामा करिब ३० आकस्मिक उडान गरे । अधिकांश उडानमा बिल दिइएन । बिल दिएकाले पनि भ्याट बिल दिएनन् । सिमकोटका पर्यटन व्यवसायी विजय लामाले कसैलाई हेलिकप्टरबाट रेस्क्यु उडानको आवश्यक परे व्यवस्था गर्ने गरेका छन् । लामाका अनुसार रेस्क्यु उडान गर्ने हेलिकप्टर कम्पनीले मूल्य अभिवृद्धि करको बिल दिँदैनन् । कम्पनीको लेटरप्याड प्रयोग गरेर प्रमाणस्वरूप लेखेर दिने गरिएको छ । लाखौं रकमको कारोबार गर्ने हेलिकप्टर कम्पनीसँग भ्याट बिल हुँदैन । लामाका अनुसार यसवर्ष जेठदेखि साउनसम्म जिल्लाभित्र ३० रेक्स्क्यु उडान भएका थिए । एक उडानको ठाउँअनुसार प्रतिउडान ८० हजारदेखि १ लाख २५ हजारसम्म लिने गरिएको छ ।

अन्नपुर्ण पोस्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल लगेपछि बन्द भएका भक्तपुरका बालुवा, ढुंगा र पांगो माटोलगायत खानी खुल्ने भएको समाचार छापेको छ  । तत्कालीन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भई करिब चार वर्ष बन्द भएका जिल्लाका खानी खुल्ने भएका हुन्।

भक्तपुरमा २६ वटा बालुवा, ढुंगा तथा पांगोका खानी छन्। खानी अनियमित रूपमा चलेको उजुरीका आधारमा तिनै खानीका फाइल अख्तियारले कब्जामा लिएको थियो। फाइल लगेको करिब चार वर्षपछि अख्तियारले ती फाइल हालको जिल्ला समन्वय समितिलाई फिर्ता दिएपछि खानी सञ्चालनको बाटो खुलेको हो। भक्तपुरमा रहेका ती सबै खानी चाँगुनारायण नगरपालिका भित्र पर्दछन्। त्यसैले अख्तियारले फाइल फिर्ता गरेलगत्तै चाँगुनारायण नपाले पहिलेका खानी सञ्चालकलाई आधिकारिक कागजात नपामा उपलब्ध गराउन सूचना जारी गरेको छ।

अन्नपुर्ण मै नेपाल वायुसेवा निगमले तीन वर्ष अघि मागेको चीन उडान अनुमति अझै नपाएको खबर छ। निगमले हाल उडानमा प्रयोग गरिरहेको एयरबसको ए ३२०–२०० सिरिजको न्यारोबडी ल्याएपछि अनुमति मागेको थियो। चीनमा वायुसेवा निगमले उडान गर्ने विषयमा पटकपटक कूटनीतिक तवरबाट भएको प्रयास सफल हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए। उनले मंगलबार भने, ‘हामीले चीनसँग सातमध्ये एक÷दुईवटा मात्रै भए पनि उडान अनुमति मागेको छौं तर कुनैमा पनि पाइएको छैन।’

मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको खबर पनि अन्नपुर्णमा छ । गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले मंगलबारदेखि व्यावसायिक उत्पादन थालेको हो। जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालन गरिएको हो। अहिले दैनिक ६ टन उत्पादन सुुरु भएको छ। मिल्स सञ्चालक समितिका अध्यक्ष वसन्त वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिल्सलाई पूर्णक्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए। 

नयाँ पत्रिका दैनिकले राष्ट्रिय गौरबका आयोजनाको कार्यन्वयन प्रगारी निराशजनक भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । बायुसेवा निगमलाई चीनमा अनुमति नदिएको खबरलाई नयाँ पत्रिकाले पनि छापेको छ । 

कारोबार दैनिकले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनका ७ वटा सहरमा सीधा उडानको प्रक्रिया सुरु गरिएको खबर छापेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दिएको जानकारी अनुसार चीनका ७ वटा सहरमा उडान गर्नका लागि प्रक्रिया सुरु भएको हो  । नेपाल र चीनबीच सन् २००९ मा भएको हवाई सम्झौतामा नेपालले चीनका सात सहरमा उडान गर्न पाउने व्यवस्था छ । चीनले अनुमति दिएका सातवटै सहरमा आगामी २ वर्षभित्र निगमले उडान थाल्ने मन्त्री अधिकारीले जानकारी दिए । यी सात सहरमा ग्वान्झाओ, चेन्दु, सांघाई, लुसान, ल्हासा, सिचुवान र बेइजिङ रहेका छन् । सबै गन्तव्यमा सकेसम्म छिटो उडानका लागि प्रक्रिया सुरु भएको मन्त्री अधिकारीले बताए । 

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको बढ्दो व्यापार घाटा कम गर्न सवारीसाधन एसेम्ब्लिङमा लाग्न व्यवसायीहरूलाई आग्रह गरेको खबर पनि कारोबारमा छ। नाडा अटो शो २०१८ कोे उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढाउन अटोमोबाइल क्षेत्रको भूमिका बढी देखिएको भन्दै त्यसलाई कम गर्न उत्पादनतर्फ केन्द्रित हुन व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।  व्यवसायीले एसेम्बल गर्न चाहेमा के कस्तो सुविधा आवश्यक पर्छ सरकार त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको अर्थमन्त्री डा खतिवडाको भनाइ छ । “अहिले सरकारले आयात नियन्त्रण गर्न सवारीसाधनमा कर बढाएको हो,” उनले भने, “व्यवसायीहरू उत्पादनतर्फ केन्द्रित हुनुस् भन्ने सरकारले चाहेको छ ।” राजस्वमुखी अर्थतन्त्रबाट अत्पादनमुखि अर्थतन्त्र बनाउनेतर्फ यो सरकार लाग्ने उनको भनाइ छ । 

त्यस्तै दशैँलाई लक्षित गरेर असोज दोस्रो सातादेखि सहुलियत पसल संचालन हुने खबर पनि कारोबारमा छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved