चेक बोक्नुपर्ने झन्झट हट्यो, अब एकै क्लिकमा भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 03:54:21 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकी मुलुक भारत लगायत विश्वका अधिकांश देशमा कार्यन्वयनमा आइसकेको वास्तविक समयमा हुने भुक्तानी सेवा (रियल टाइम ग्रस सेटलमेन्ट ,आरटीजीएस) नेपालमा पनि संचालनमा आएको छ।

भदौ २९ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले उद्घाटन गरेसंगै नेपालमा पनि यस्तो भुक्तानी प्रणालीको औपचारिक सुरुवात भएको हो। माछापुछ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २० करोड रुपैयाँ ट्रान्सफर गरेर गभर्नर नेपालले 'आरटीजीएस' को सुरुवात गरेका हुन। आज उद्घाटन गरिएपनि प्रोडक्सन मोड्युल र लाइभ साइमुल्टेसनको काम सम्पन्न भई भदौ २६ गतेदेखि नै आरटीजीएस कार्यान्वयनमा आइसकेको छ।

यसअघि २ लाख रुपैयाँभन्दा बढी रकम पठाउँदा एकाउन्ट पेयी चेक काटेर दिनुपर्ने र सो भुक्तानी राफसाफ हुन घन्टौं लाग्ने अवस्था थियो। तर  आरटीजीएस प्रणाली कार्यन्वयनमा आएसंगै ठुला भुक्तानीहरु तत्कालै राफसाफ हुने भएको छ। 

आरटीजीएस कार्यान्वयनमा आएसंगै ठुला भुक्तानीको लागि अब चेक बोकेर हिड्नुपर्ने समस्याको समाधान भएको छ। एउटा फर्म भरेर आफूले चाहेको व्यक्तिको खातामा रकम जम्मा गरिदिन सक्नेछन् । 

यो व्यवस्था कार्यान्वयनमा आएसँगै २ लाख रुपैयाँभन्दा बढी रकममा चेकहरु क्लियरिङ गराइराख्नु नपर्ने भएको छ। आरटीजीएस प्रणाली हालका लागि २० लाख रुपैयाँभन्दा बढी कारोबारका लागि अनिवार्य गरिएको छ। तर, २ लाखभन्दा ठूला र २० लाखसम्मका कारोबार भने ऐच्छिक राखिएको छ ।

केन्द्रीय बैंकले भदौ २० गते सबै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई सो सिस्टम लागू गर्न निर्देशन दिएको थियो । त्यसयता २८ वटै ‘क’ वर्गका बैंकहरुले सिस्टम लागू गरिसकेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पुस मसान्तभित्र सो सिस्टममा आबद्ध हुन निर्देशन दिइएको छ। विकास बैंक र फाइनान्सले अहिलेलाई बाणिज्य बैंक मार्फत नै यो सेवा प्रयोग गर्न सक्नेछन। 

यस प्रणालीबाट समयको बचत हुने, खर्च कटौती हुने र रकम थारै समयमै धेरै पटक ट्रान्सफर गर्न सकिने भएकाले मुद्राको गति बढ्ने राष्ट्र बैंक भुक्तानी ब्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बताएका छन। प्रणाली स्वचालित भएकाले कम जनशत्तिबाट कार्यसम्पादन गर्न सकिने छ ।

उद्घाटन अवसरमा बोल्दै गभर्नर नेपालले आरटीजीएस नभएकै कारण कतिपय ठाउँमा मुख लुकाउनु परेको अनुभव सुनाए । “अब मुख लुकाउनु पर्दैन, आरटीजीएसका बारेमा आफ्नो देशको अनुभव सुनाउने बाटो खुलेको छ” उनले भने। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved