कतारमा नेपालीको न्यूनतम तलब ९ सय रियाल नै यथावत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 10:51:25 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७४-कतारले न्यूनतम तलब ७ सय ५० रियाल तोके पनि नेपाल सरकारले पुरानो निर्णयअनुसार ९ सय रियाललाई नै यथावत् राखेको छ । साताअघि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले अस्थायी रूपमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल (करिब २१ हजार रुपैयाँ) तोकेको थियो । यो नेपालले तोकेको भन्दा १ सय ५० रियाल अर्थात् १८ प्रतिशत कम हो ।

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार दूतावासले ९ सय रियाल दिन तयार भएका कम्पनीको मात्रै मागपत्र प्रमाणीकरण गर्दै आएको छ ।

‘मैले कतारको श्रम मन्त्रालयसँग कामदारको न्यूनतम तलबको विषयमा कुरा राखेको छु । अझै केही कम्पनीले ६ सय रियाल, ५ सय रियाल दिइरहेको कतारी श्रममन्त्रीको भनाइ छ । त्यसलाई रोक्नका लागि कम्तीमा ७ सय ५० रियाल कायम गरिएको भन्ने भनाइ छ,’ कोइरालाले भने, ‘नेपालको भने पूर्ववत् निर्णय यथावत् छ ।’

कम्पनीले कामदारको रोजगार करारपत्र कतारको श्रम विभागबाट प्रमाणीकरण गरेपछि मात्रै कामदारलाई काममा लगाउन पाइन्छ । श्रम विभागले कम्पनी र कामदारको हस्ताक्षर भएको करारपत्रलाई प्रमाणीकरण गर्ने व्यवस्था छ । श्रम विभागले ७ सय ५० रियालभन्दा कम तलब दिने कम्पनीको रोजगार करारपत्र प्रमाणित रोकिएको कतारी श्रममन्त्री इसाविन साद अल जफैल अल नुएमी बताउँछन् ।

राजदूत कोइरालाले निकै कम तलब दिने कम्पनीविरुद्ध रहेको कतारी नियम सकारात्मक रहेको बताए । ‘नेपालले तोकेकोभन्दा कम तलबमा कामदार ल्याउन अनुमति दिनेछैन । हामी यो तलब अझै बढाउने पक्षमा छौं । अहिलेको महँगीअनुसारको कामदारलाई खानाका लागि मात्रै छुट्टै ५ सय रियाल पुर्‍याउनुपर्छ भनिरहेका छौं,’ उनले भने ।

कतारी श्रममन्त्री नुएमीका अनुसार कामदारको बसोवास, खाना र स्वास्थ्य सेवा रोजगारदाताको दायित्वभित्र पर्छ । तर, सबैले कामदारलाई खाना उपलब्ध गराएका छैनन् । कामदार आपूर्ति गर्ने कम्पनीहरूले खानाबापत २ सय रियाल मात्रै दिने गरेका छन् ।

सन् २०१३ मै नेपालले खानाबापत ३ सय रियाल दिनुपर्ने व्यवस्था गरेको थियो । खानाबापत ३ सय र न्यूनतम तलब ९ सय गरी १२ सय रियाल तलब दिन तयार हुने कम्पनीलाई मात्रै कामदार पठाउने गरिएको छ । तर, झन्डै ५० प्रतिशत कम्पनीले कामदारलाई खानाबापत २ सय र तलब ८ सय रियाल मात्रै दिने गरेको भेटिन्छ ।

कामदारहरूका अनुसार नयाँ तलबमान कामदारको हितभन्दा कम्पनी र कतारलाई बढी फाइदा हुने गरी तोकिएको छ । स्थानीय सञ्चार माध्यमहरूका अनुसार फिफा वल्र्डकप फुटबलको तयारीका लागि बन्ने पूर्वाधारका लागि ५० करोड डलर खर्च गर्दै आइरहेको कान्तिपुरमा खबर  छ ।

गत जुनदेखि छिमेकी ३ देशबाट नाकाबन्दी खेपिरहेको कतारले आफ्नो आर्थिक अवस्था हेर्दै तत्कालीन कदमका रूपमा तलब थोरै मात्र बढाएको मन्त्री नुएमीले बताए । श्रममन्त्री नुएमी ७ सय ५० रियाल तलबको समीक्षा हुने बताउँछन् । ‘श्रम मन्त्रालयले यो तलबको विषयमा समीक्षा गर्छ,’ उनले भने, ‘सबै पक्षको विचार गरेर मात्रै थप तलब तोक्ने काम हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved