एटिएमबाट पैसा निकाल्न कार्ड नचाहिने प्रविधि नेपालमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 24, 2019 | 08:28:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा फाइनान्सका ग्राहकहरुले झैं अब लघुवित्त तथा सहकारीमा खाता भएकाहरुले समेत एटिएम मार्फत पैसा झिक्न पाउने भएका छन, त्यो पनि कार्ड बिना नै। हाम्रो टेक्नोलोजी प्रालिले कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न मिल्ने प्रविधि नेपालमा भित्र्याएको छ।

हाम्रो टेक्नोलोजीले सिभिल बैंकसँगको सहकार्यमा ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो। ‘एम बैंक’ एपमार्फत कम्पनीले यो सेवा सुरू गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले जानकारी दिए।

हाल बैंक, वित्तीय संस्था तथा सहकारी गरी २ सयभन्दा बढीले ‘एम बैंक’ एप प्रयोग गर्दै आएका छन्। यो प्रणालीमा आबद्ध भएका वित्तीय संस्था तथा सहकारीका ग्राहकले अहिलेलाई सिभिल बैंकको एटिएम मार्फत बीना कार्ड पैसा निकाल्न सक्नेछन। ‘एम बैंक’ एपको माध्यमबाटै ग्राहकले सिभिल बैंकको नेपालभर रहेका ६८ एटिएमबाट कार्डबिना रकम झिक्ने सुबिधा पाउने छन। 

यो प्रविधि सफल रुपमा परीक्षण भइसकेकाले केहि दिनमै यसको लन्च गरिने सीईओ महर्जनले बताए। कार्डबिना एटिएमबाट पैसा निकाल्न सकिनेगरी सबै प्राविधिक काम सकेका छौँ' महर्जनले बिजपाटीलाई भने।

मोबाइल बैंकिङको सुविधा लिएका ग्राहकलाई सम्बद्ध संस्थाले दिने मोबाइल एपको प्रयोगमार्फत कार्डबिना नै पैसा झिक्न सकिन्छ। जुन वित्तीय संस्था तथा सहकारीमा खाता छ, उसकै एप मार्फत यो सुविधा लिन मिल्छ। तर यसका लागि आफ्नो खाता भएको वित्तीय संस्था तथा सहकारीको एटिएम भने अनिवार्य हुदैन। 

'एम बैंक' एपमा आबद्ध संस्थाहरुले आफ्नो संस्थाको लोगो र एप मार्फत नै ग्राहकले अर्को संस्था अर्थात टेक्नोलोजीसंग आबद्द संस्थाको एटिएम मार्फत बिना एटिएम पैसा झिक्न मिल्छ। यसबाट एटिएम नै नभएका विकास बैंक, फाइनान्स तथा सहकारीका ग्राहकले धेरै लाभ पाउने अपेक्षा गरिएको छ। अहिलेसम्म १० वटा विकास बैंक तथा फाइनान्स र २ सय भन्दा बढी सहकारी संस्थालाई स्मार्ट मोबाईल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  

'एम बैंक' मा आबद्द संस्थामा अहिलेसम्म एक लाखभन्दा बढी मोबाईल बैंकिङ ग्राहक रहेको टेक्नोलोजीका बिजनेस प्रमुख अधिकृत सन्जय महासेठले बताए। यो सेवा लिनका लागि टेक्नोलोजीमा आबद्ध वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङको सुविधा लिएको हुनुपर्छ। तर त्यसका लागि उनीहरुले आफ्नो संस्थाको लोगो र प्रणालीबाटै यो सुविधा पाउनेछन। 'ग्राहकले लिने यो एप वित्तीय संस्थापिच्छे आफ्नै लोगोसहित फरक फरक हुन्छ' महासेठले भने। 

एटिएम कार्ड बिना नै पैसा कसरि झिक्न मिल्छ ? 

एटिएमको स्थानमा ग्राहकले कोड (ओटिपी:वन टाइम पासवर्ड) बाट आफ्नो खातामा भएको पैसा झिक्न पाउनेछन। आफ्नो खाता भएको संस्था (लघुवित्त, सहकारी, विकास बैंक र फाइनान्स) को लोगो भएको एप मार्फत नै कोडको प्रयोगबाट पैसा झिक्न मिल्छ। 

आफ्नो खाता भएको संस्थाको एप मार्फत आफुले झिक्ने पैसा, खाता भएको वित्तीय संस्थाको खाता नम्बर भरेर ओटिपी (वन टाइम पासवर्ड) का लागि आदेश दिनुपर्छ। आदेशपछि आफ्नो खाता भएको संस्थामा रजिस्टर्ड मोबाइल नम्बरमा ६ अंकको ओटिपि प्राप्त हुन्छ। यो कोड एक पटकको लागि मात्र मान्य हुन्छ। तर यसको आयु दुई घण्टाको हुन्छ।   

उक्त कोर्ड 'एम बैंक' को यस प्रणालीमा आबद्द संस्थाहरुको नजिकको एटिएममा गई त्यसको स्कृनमा देखिने ‘कार्डलेस ट्रान्जेक्सन’ अप्सन छनोट गरि मोबाईल नम्बर, निकाल्ने रकम र ६ अंकको ओटिपी भरेर ‘इन्टर’ वा ‘ओके’ गर्नुपर्छ। त्यसपछि एपमार्फत अघि आदेश भएको  पैसा एटिएमबाट निस्किन्छ। अहिलेलाई यो सुविधा सिभिल बैंकको एटिएममा मात्र उपलब्ध छ। 

सिभिल बैंकको एटिएमबाट कार्ड बिना पैसा कसरि झिक्ने ?   

सिभिल बैंकका एटिएममा गई स्कृनमा देखिने ‘कार्डलेस ट्रान्जेक्सन’ अप्सन छनोट गर्नुपर्छ। सिभिलको सबै एटिएममा अहिले ‘कार्डलेस ट्रान्जेक्सन’ को 'अप्सन' राखिसकिएको छ। 

अप्सनमा क्लिक गरिसकेपछि मोबाईल नम्बर, निकाल्ने चाहेको पैसा र ६ अंकको ओटिपी भरेर ‘इन्टर’ वा ‘ओके’ गरिन्छ। त्यसलगत्तै एपमार्फत अघि आदेश भएको रकम पैसा एटिएमबाट निस्किन्छ।

ओटीपीको आयु दुई घण्टा नै किन ?

सरल र सहज तरिकाले 'एम बैंक' मा आबद्द संस्थाका पाएक पर्ने एटिएमबाट कार्ड बीना नै पैसा झिक्न मिल्ने गरि यो प्रविधि नेपालमा भित्र्याइएको सीईओ महर्जनको भनाई छ। भौगोलिक दृष्टिकोणले टाडा रहेका आफन्त वा आफुले चाहेको व्यक्तिलाई पैसा पठाउन परेमा उसले 'एम बैंक' मार्फत पैसा झिक्न सजिलो होस भन्ने उदेश्यले कोडको आयु २ घण्टा गरिएको हो। 

जस्तो पोखरा बस्ने भाइले काठमाडौंमा बस्ने दाजुले पठाएको कोड प्रयोग गरेर त्यहाँको 'एम बैंक' मा आबद्द संस्ताको एटिएम मार्फत बीना कार्ड पैसा झिक्न सक्छ। त्यसैले अहिलेलाई यसको आयु २ घण्टा गरिएको हो।   

काठमाडौंमा भएको दाजुले १० हजार रुपैयाँ झिक्नेगरी एपमार्फत विवरण भरेर ओटिपी आदेश गर्छ, उसले तुरून्त मोबाइलमा ६ अंकको ओटिपी अर्थात पासवर्ड पाउँछ।  सो पासवर्ड पोखराको भाईलाई पठाएर सिभिलको एटिएममार्फत भाईले १० हजार रुपैयाँ झिक्न सक्छ। यो प्रविधिलाई रेमिट्यान्स पठाउने प्रकृयाको बिकल्पमा समेत प्रयोग गर्न सकिने सीईओं महर्जनले बताए। 

कति लाग्छ शुल्क ?

नेपाल राष्ट्र बैंकले एटिएमका लागि तोकिएको सीमासरह नै हाल एक पटकमा २५ हजार रूपैयाँसम्म वा प्रतिदिन १ लाख रुपैयाँसम्म झिक्न सकिनेछ। एक पटक पैसा झिक्दा २५ रुपैयाँ शुल्क लाग्छ।

अहिले रेमिट्यान्स कम्पनीहरुमार्फत रकम पठाउँदा लाग्ने शुल्कभन्दा यो सस्तो रहेको कम्पनीको दाबि छ। रेमिट्यान्स कम्पनीमार्फत पठाउँदा न्यूनतम एक सय रुपैयाँ शुल्क तोकिएको छ तर यो सुविधामार्फत पठाउँदा २५ रुपैयाँ मात्रै शुल्क लाग्छ। 

सजिलोसंगै सुरक्षित पनि 

यी प्रविधिको प्रयोगले कार्ड बीना नै एटिएम मार्फत पैसा झिक्दा खल्तीमा कार्ड बोक्नु नपर्ने भएकाले कार्ड हराउने वा चोरिने डर हुदैन।   त्यतिमात्र नभई रेमिट्यान्स कम्पनीमा गई फारम भर्नुपर्ने, नागरिकता बोक्नुपर्ने जस्ता समस्या पनि यसमा नरहेको कम्पनीको दाबी छ। सीईओ महर्जनले रेमिट्यान्सका रुपमा यो अझ विस्तार हुने अपेक्षा गरेको बताए।

सिस्टमले प्रदान गर्ने ओटिपी पासवर्ड एक पटकका लागि मात्रै मान्य हुने भएकाले जोखिम न्यून रहन्छ। कार्डमा जस्तो पासवर्ड ह्याक हुने सम्भावना नरहेको सीईओ महर्जनको दाबि छ। 

आफ्नै एटिएम नहुने संस्थाको लागि उचित बिकल्प 

नेपालमा हाल ३८ हजार भन्दा बढी सहकारी संचालनमा छन, जसको आफ्नै एटिएम मेसिन छैनन। त्यसमा पनि कयौं फाइनान्स, विकास बैंक र लघुवित्तका समेत आफ्नै एटिएम मेसिन छैनन।  यी संस्थामा खाता भएकाले चेक बुक मार्फत कारोबार गर्न मिलेपनि एटिएम मार्फत कारोबार गर्ने सुविधाबाट बन्चित छन। बैंकहरुको तुलनामा कम पुंजीको लगानीमा संचालनमा रहेका यी संस्थालाई आफ्नै एटिएम राख्न बढी खर्चिलो हुने भएकाले पनि उनीहरुले आफ्नोमा खाता भएका सदस्यलाई एटिएम सेवा दिन सकिरहेका छैनन। 

तर हाम्रो टेक्नोलोजीले ल्याएको 'एम बैंक' मार्फत देशभरका यी संस्थाले सिभिल बैंकको एटिएम प्रयोग गरि कार्ड बीना नै एटिएमबाट पैसा झिक्न सक्नेछन। यसका लागि संचालनमा रहेका तर आफ्नो एटिएम नभएका संस्था समेतले 'एम बैंक' मा आबद्द हुनुपर्छ। 'अहिलेलाई सिभिल बैंकको एटिएम मार्फत 'एम बैंक' मा आबद्द संस्थाका खातावालहरुले कोडको प्रयोग गरि एटिएम मार्फत बीना कार्ड पैसा झिक्न सक्छन' सीईओ महर्जनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved