नेपाल इन्भेष्टमेन्ट बैंकको 'टाइपिङ इरर' को भित्रि रहस्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2017 | 06:05:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवाह गरेको लाभांश सम्बन्धी सूचनाको सम्बन्धमा कारबाही प्रक्रिया अघि बढेको छ। लाभांश सम्बन्धि सूचना प्रवाहमा देखिएको 'गल्ति' 'टाइपिङ इरर' मात्र हुन नसक्ने जानकारहरुले बताएका छन। 

भदौ २१ गते कारोबार खुल्ने बित्तिकै बैंकले जारि गरेको लाभांश सम्बन्धी सूचना पत्रमा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने उल्लेख थियो। तर ३० मिनेट भित्र नै बैंकले लाभांश सम्बन्धि 'पहिलो' सूचना पत्रमा 'टाइपिङ इरर' भएको भन्दै अर्को सूचना पत्र जारी गर्यो। जहाँ गत आर्थिक बर्षको कमाई र जगेडा कोष उपभोग गरी बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने उल्लेख छ। 

बैंकका कम्पनी सचिब सुधिर श्रेष्ठले आफ्नो गल्ति स्वीकार गर्दै भन्छन-'हतारमा भएकाले अंक मात्र हेरी हस्ताक्षर गरेको हुँ। अंक मात्र हेरेर ब्योहरा नहेरी हस्ताक्षर गर्नु नैतिकताको हिसाबले मेरो गल्ति भयो।'

कम्पनी सचिब श्रेष्ठको हतारका कारण दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले भने करोडौं गुमाउन पुगेका छन। बैंकको पहिलो सूचनालाई आधार मानेर लगानीकर्ताले सकेसम्म बढी परिमाणमा सेयर खरिद गरेका थिए। भदौ २१ गते बुधबारको कारोबारमा बैंकको ७ करोड रुपैयाँ बराबरको ९१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ। जहाँ बैंकको सेयर मुल्य प्रति कित्ता ६० रुपैयाँ महंगिएको थियो। 

त्यसो त बैंकको भदौ ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाई र जगेडा कोष उपभोग गरी सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो। तर उक्त निर्णय सच्याउदै बैंकको संचालक समितिको अर्को बैठक भदौ २१ बसी सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 

बैंकबाट भएको यस्तो कमजोरीमा आफ्नो कुनै भूमिका रहेको बताउदै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने-'बैंकले लाभांश सम्बन्धी जस्तो सूचना पठायो हामीले त्यसै गरी तत्काल नेप्सेको सूचना बोर्डमा राखिएको दिएको हो।' 

यता नियमन निकाय नेपाल धितोपत्र बोर्डले भने बुधबार नै बैंकसंग स्पष्टीकरण माग गर्दै तीन दिन भित्र जवाफ दिन पत्राचार गरेको छ। उक्त अवधि आइतबार भदौ २४ गते सकिंदै छ। 'बैंकले गरेको गल्ति 'टाइपिङ इरर' मात्र मान्न सकिदैन, बैंकको जवाफ पछि नै कारबाही निर्धारण हुन्छ' बोर्डका प्रवक्ता निरज गिरिले बताएका छन। त्यसो त बोर्डले बैंकको बुधबार भएको सेयर कारोबार राफसाफ नगर्न सिडिएस एण्ड क्लियरिङलाई निर्देशन दिइसकेको छ।

अब के हुनु पर्छ ?

सेयर बजार विश्लेषक तथा अधिवक्ता ज्योति दाहाल बताउछन,'धितोपत्र कानुनमा झुक्याउने विवरण दिनेलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्छ।'

लगानीकर्तालाई झुक्याउने गरि यसरी सूचना प्रवाह गर्ने ब्यक्तीलाई सदाको लागि कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने गरि निलम्वन गर्नु पर्ने दाहालको माग छ।

सेबोनले इन्भेष्टमेन्ट बैंकको कारोबार रद्द हैन यथावत राखेर मर्का परेकाबाट उजुरी मगाई क्षतिपूर्ति भराउनु पर्ने अधिवक्ता दाहालको भनाई छ। 'धितोपत्र बोर्डले थाहा पाइसकेपछी स्पष्टीकरण मात्र मागेर हुन्न । छानबिन नै गर्नुपर्छ र मुद्दा चलाउन पर्छ। बैंकको कार्य ऐन बिपरित हो' उनले भने।  

त्यस्तै सेयरधनी राजन श्रेष्ठ र सेयर लगानीकर्ता बज्रराज बस्नेतले बैंकको लाभांश सम्बन्धि संसोधित घोषणा अघिको कारोबार खारेज गरी समाधानको अर्को बिकल्प नहुँदासम्म बैंकको सेयर कारोबार नै रोक्का राख्न तथा कम्पनी सचिब सुधिर श्रेष्ठलाई कारबाही गर्नु पर्ने प्रस्ताब गर्दै धितोपत्र बोर्डमा निबेदन पेश गरेका छन।   

साथै विभिन्न संघ संस्थामा आबद्द सेयर लगानीकर्ता तथा सेयर बिज्ञहरुले बैंकद्वारा भएको यस प्रकारको गम्भीर गल्तिले लगानीकर्ता मारमा परेकाले उनीहरुलाई क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन भने केहि लगानीकर्ताले बैंकको सेयर कारोबार रद्ध गरिनुपर्ने समेतको माग गरेका छन।    

इन्भेष्टमेन्ट बैंकको बुधबारको सेयर कारोबार राफसाफ नगर्न निर्देशन, बैंकको जवाफ पर्खिदै धितोपत्र बोर्ड

अघि बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंक बिरुद्दको कारबाही प्रक्रिया, के होला अब ?

इन्भेष्टमेन्ट बैंकले पहिलो सूचना अनुसार नै २५% बोनस दिनुपर्ने लगानीकर्ता संघको माग











        




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved