दशैं बिदापछि खुलेको पहिलो दिनको कारोबारमा करिब ७ अंकले बढेको नेप्से दोस्रो दिन बुधबार १३।७० अंकले ओरालो लागेको छ। दोहोरो अंक गुमाएको नेप्से १५४२.६५ अंकमा रोकिएको छ।
बुधबार कारोबारमा आएका १४४ कम्पनीका ६ लाख ६० हजार कित्ता सेयरको खरिद बिक्रिबाट २७ करोड ९७ लाखको कारोबार भएको छ। जसमा सबै भन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ८२ लाखको कारोबार भएको छ।
प्रदेश र संघको निर्वाचनको मुखैमा एमाले, माओवादी केन्द्र सहितका बाम घटकबीच चुनावी तालमेल र पार्टी एकता गर्नेसम्मको प्रारम्भिक सहमतिले राजनीतिक अन्यौल बढ्ने बढ्ने र राजनीतिक अस्थिरता देखिने आशंका लगानीकर्तामा देखिएको छ।
अर्को तर्फ लगानीकर्ता अझै पनि दशैंको मुडमा रहेकाले पनि कारोबार रकममा उत्साह नथपिएको सेयर विश्लेषकको भनाई छ। सत्ता परिवर्तनको खेलले निर्वाचन नै अन्यौलमा पर्ने मानसिक दबाब लगानीकर्तामा परेको छ। यद्दपी बजारले कुन दिशा लिन्छ भनेर अनुमान गर्न केहि दिनको कारोबारलाई पर्खिनु पर्ने छ।
बजार थप घट्ने हो कि भन्ने आशंकामा लगानीकर्ताले अहिले नै सेयर बेचेर असोज मसान्तको ब्याजको जोहो गर्न खोज्दा बिक्रि चाप बढेको एक ब्रोकरले बताएका छन। केहि लगानीकर्ताले घटेर पनि सेयर बेच्न तयार भएकाले पनि दोहोरो अंकको गिरावट आएको उनको भनाई छ। 'करिब २० अंकको गिरावट आउने अवस्था थियो तर टेलिकमको सेयर कारोबारका कारण नेप्से १३ अंकले गिरावटमा थामिएको छ' उनले भने।