नेप्सेको प्रमुख कार्यकारीमा तीन जनाको नाम सिफारिस, कसको पल्ला भारि ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2017 | 08:40:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले अन्तिम तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो ।

नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले ज्योति बिकास बैंकका नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल ईन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको हो।

असार २४ गते यता रिक्त रहेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत लागि अर्थमन्त्रालयले प्रकाशित गरेको अन्तिम ५ जनाको नामावलीमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक लिम्बु, मनोज कुमार ज्ञवाली र सिताराम थपलिया थिए। नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाले आवेदन दिएका थिए। 

समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो। प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा   समितिले ३ जनाको नाम सिफारिस गरेको जनाएको छ। 

सम्भवत: असोज २२ गते बस्ने मन्त्रिपरिषद्को बैठकले 'सर्ट लिस्ट' परेका तीनजना मध्येबाट एकलाई नेप्सेको सीईओमा नियुक्ति गर्नेछ। नियुक्ति पाउनेले आगामी ४ बर्षका लागि नेप्सेको जिम्मेवारी सम्हाल्नेछ।

कसको पल्ला भारि ?

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदला लागि आबेदन दिएर अन्तिम ३ मा पर्नु कम क्षमताको बिषय होइन। हरेक उम्मेदवारसंग कुनै न कुनै क्षमता भएर नै समितिले यी तीन जनाको नाम सिफारिस गरेको हो।   

अन्तिम तीन जनाको नाममा परेका प्रमोद राज शर्मा शिक्षण पेशासीत आबद्द व्यक्ति हुन भने चन्द्र सिंह साउद दुई दशकभन्दा धेरै अवधि बिमा क्षेत्रमा बिताएका बिमा बिज्ञ समेत हुन। त्यस्तै मनोज ज्ञवाली बैंकरको रुपमा परिचित छन भने उनि शिक्षण पेशामा समेत आबद्द छन। 

अन्तिम तीनमा अटाएका तीनै जनामा आ-आफ्नो बिज्ञता रहेको छ। यद्दपी नेपालमा राजनीतिक नियुक्ति कसरि र के को आधारमा हुन्छ भने 'घाम झैँ छर्लंग' भएको कुरा हो। मन्त्रिपरिषदबाट हुने अधिकांश नियुक्ति सक्षम व्यक्ति भन्दा पनि ब्रिफकेशको वजनको आधारमा भएको देखिएकाले नेप्सेको हकमा त्यस्तो नहोस भन्ने सम्पूर्ण लगानीकर्ताको चाहना छ।  

प्रमोद राज शर्मा

त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका प्रमोज राज शर्मा शिक्षण पेशासीत आबद्द व्यक्ति हुन। उनले बिगत २१ बर्षदेखि नेपालका प्रमुख विश्वबिद्यालयहरु मध्येका त्रिभुवन विश्वबिद्यालय, पुर्वान्चल विश्वबिद्यालय र पोखरा विश्वबिद्यालयका बिबिए, एमबिए कार्यक्रममा वित्तीय व्यवस्थापन, मानव स्रोत व्यवस्थापन , रणनीतिक व्यवस्थापन लगायतका बिषयहरू अध्यापन गराउंदै आएका छन। 


 शर्माले नेपाल सरकारको सिंचाई मन्त्रालय अन्तर्गतको भूमिगत जलस्रोत बिकास समितिमा (मन्त्रिपरिषद्को निर्णय अनुसार) कार्यकारी निर्देशकको रुपमा सफलता पुर्वक ४ बर्ष काम गरिसकेका छन।

   

शर्माले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा परिषदले अंगिकार गरेको 'युथ बिजन २०२५' र  'युवा नीति पुनरावलोकन' ड्राफ्ट समितिमा रही महत्त्वपूर्ण योगदान गरेका छन। र उक्त ड्राफ्ट अहिले राष्ट्रिय डकुमेन्ट बन्नुका साथै नयाँ युवा नीतिको रुपमा परिचालित छ। 

शर्मा नेपालको पुंजीबजारलाई नजिकबाट बुझेका तर पुंजीबजारसंग सम्बन्धित कुनै पनि कम्पनी, संघ तथा संस्थामा आबद्द नभएका ब्यक्ती हुन। शर्मा नेप्सेको प्रमुख कार्यकारीमा स्वतन्त्र व्यक्ति आउनु पर्ने स्पष्ट धारणा राख्दछन। 

पुंजीबजारलाई बुझेको तर पुंजीबजारलाई प्रभावित गर्ने कुनै पनि कम्पनी, संस्थामा आबद्द नभएको व्यक्ति नेप्सेको प्रमुख पदमा नियुक्त भएमा    मात्र पुंजीबजारको बिकास र बिस्तारको काम हुन सक्नेमा शर्मा बिश्वस्त छन। 

पुंजीबजारलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लैजाने, नेपालको पुंजीबजारलाई राष्ट्रियकरण मात्र नभई अन्तराष्ट्रिय गर्ने, बिश्व सेयरबजारको प्रविधिलाई नेपालको बजारमा क्रमश: भित्र्याउदै लैजाने र  साना लगानीकर्ताले पनि ढुक्क भएर लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यका साथ नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा आबेदन दिएको शर्माले बिजपाटीलाई बताएका छन। 


मनोज ज्ञवाली 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत बन्ने लाइनमा रहेका मनोज ज्ञवाली ज्योति विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो   जिम्मेवारी सम्हाल्दै आएका छन। 

बैंकरको रुपमा परिचित ज्ञवाली शिक्षण पेशामा समेत आबद्द छन।  विगत १५ बर्ष देखि ज्ञवालीले  पूर्वाञ्चल बिश्वबिद्यालय तथा काठमाडौं विश्वविद्यालय अन्तर्गतका आधा दर्जन कलेजमा व्यबस्थापन संकायका बिद्यार्थीहरुलाई अध्यापन गराउदै आएका छन।

ज्ञवाली जलबिद्युत लगानी तथा बिकास कम्पनीमा निर्देशकका रुपमा काम गरिरहेका छन। भारतीय बोर्ड (आइसीएआई) बाट चार्टड एकाउन्टेन्ट पढेका ज्ञवालीले शंकरदेब क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक गरेका छन।     

ज्ञवालीसंग ग्लोबल आइएमई क्यापिटलमा प्रबन्ध निर्देशक, ग्लोबल आइएमई बैंकमा प्रमुख वित्तीय अधिकृत र प्रमुख संचालन अधिकृत, विदेशी लगानीमा संचालीत हाईड्रोपावरमा संचालक र प्रमुख  वित्त नियन्त्रक, नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक भई नेपाल राष्ट्र बैकको लगानी शाखामा देशको सम्पूर्ण विनिमय व्यबस्थापन गरेको अनुभव छ।  

नेपालको एक मात्र पुंजीबजार नेपाल स्टक एक्सचेन्ज प्रविधिगत, सुचनागत र नीतिगत रुपमा कम्जोर रहेको ज्ञवालीको धारणा छ। नियत सफा राखी स्पष्ट योजनाका साथ अगाडि बढेमा जुनसुकै संस्थाले सोचेको प्रगती हासिल गर्न सक्छ भन्ने कुरामा विश्वास गर्ने ज्ञवालीले लगानीकर्ताले सहज रुपमा ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गर्ने, सक्दो सहज ढंगले सबैमा सूचनाको पहुँच पुर्याउने, देशभर पुंजी बजार बिस्तार गर्ने, वास्तविक क्षेत्रका कम्पनिहरुलाई पुंजीबजारमा भित्र्याउने, अन्तराष्ट्रिय सेयर बजारसंग समन्वय गरी नेपालको पुंजीबजारलाइ प्रविधि मैत्री बनाउने, नियमनकारी निकाय र सरकारी संयन्त्रसंग यथोचित समन्वय गरी पूजी बजारको लक्ष्य पुरा गर्न संरचनात्मक परिवर्तनकोलगी पहल गर्ने, पुंजीबजार र ब्रोकरको क्षमता अभिबृद्धि तथा बिकास बिस्तार गर्दे देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूजी बजारलाई समृद्द अनी विश्वसनीय बनाउने लक्ष्यका साथ नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा आबेदन दिएको ज्ञवालीले बिजपाटीलाई बताएका छन।


चन्द्रसिंह साउद

२०५१ सालमा नेपाल इन्स्योरेन्समा छैठौं श्रेणिको अधिकृत तहबाट काम सुरु गरेका साउद कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत हुन। उनीसंग नेपाल

इन्स्योरेन्समा मात्र दुई दशक बढी समय काम गरेको अनुभव छ।  

महाप्रबन्धकको तह हटाइ त्यसलाई नै प्रमुख कार्यकारी अधिकृत कायम गरिए पश्चात उनी त्यहाँ प्रमुख कार्यकारीमा नियुक्त भएका थिए। दुई दशकभन्दा धेरै अवधि बिमा क्षेत्रमा बिताएका साउद बिमा बिज्ञ समेत हुन। साउदसंग पुनर्बिमा कम्पनीमा समेत ४ बर्ष बोर्ड मेम्बरको रुपमा काम गरेको अनुभव छ।  

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उनी पछिल्लो समय त्रिभुवन विश्वविद्यायलको बिमासम्बन्धी पाठ्यक्रम निर्माणमा पनि सक्रिय छन्। उनी प्लस टु र स्नातक तहमा अध्ययन हुने लेखा र बित्तका पुस्तकहरुको लेखक समेत हुन।  

साउद हाल चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनीका कार्यकारी अध्यक्षको रुपमा काम गर्दै आएका साउद स्थापनाकाल देखि नै पुंजीबजारमा आबद्ध छन। साउदसंग सिंगापुर, थाइल्याण्ड, जर्मनी, स्विजरल्यान्ड, लन्डन र केहि अफ्रिकन देशका पुंजीबजारको स्थलगत अध्य्यनको समेत अनुभब रहेको छ।  

नियमन निकायमा रहेर हालको पुंजीबजारको अवस्थालाई डिजिटलाइज्डमा लैजाने आफ्नो लक्ष्य रहेको साउद बताउछन। नेपालको पुंजीबजारलाई प्रविधिमैत्री बनाउने, संघिय प्रणाली अनुसार नै देश भर पुंजीबजार बिस्तार गरी सर्वसाधारणको पहुँचमा बजारलाई पुर्याउने, राजधानी र देशको प्रमुख शहरमा सिमित पुंजीबजारलाई सबैको पहुँचमा पुर्याउने, बैंक वित्तसंग सम्बन्धित संस्थाहरुको बाहुल्यता रहेको पुंजीबजारमा वास्तविक कम्पनी भित्र्याउने, सानो परिमाणमा लगानी जुटाएर आउने नयाँ लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउने लक्ष्यका साथ नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा आबेदन दिएको साउदले बिजपाटीलाई बताएका छन।


नेप्सेको सीईओको दौडमा नायिकादेखि बिमा बिज्ञसम्म, यस्तो छ अन्तिम ५ को योग्यता र अनुभव

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved