EXCLUSIVE: के बैंक वित्तीय संस्थाका 'कमाउने' सुनौला दिन सकिएकै हुन ? यो उदाहरण हेर्नुस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 08:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थाहरु धमाधम चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा छन। आजका दिनसम्म सार्वजनिक भएका पहिलो तीन महिनाको वित्तीय विवरणले कतै बैंक वित्तीय संस्थाहरुको 'कमाउने' सुनौला दिन सकिएका त होइनन भन्ने आशंका बढेर गएको छ। 

फर्स्ट माइक्रोफाइनान्सले 'फर्स्ट' हुँदै सार्वजनिक गरेको पहिलो ३ महिनाको प्रगति विवरण देखि कात्तिक १५ गते सार्वजनिक भएको विभिन्न बैंकहरुको वित्तीय विवरणलाई केलाउने हो यस्तो 'आशंका' उब्जिएका छन। 

'हुने बिरुवाको चिल्लो पात, नहुनेको फुर्सो पात' भन्ने नेपाली उखान नै छ। पहिलो तीन महिनाको विवरणका आधारमा उनीहरुको क्षमताको मुल्यांकन गर्न 'हतार' हुने भए पनि उल्लेख्य आम्दानि गरि राम्रो अंकको प्रतिफल दिन सक्छन भन्नेमा बिश्वस्त हुने सम्भावना भने अत्यन्त न्यून देखिन्छ। 

अहिले कायम  प्रति सेयर आम्दानि, प्रति सेयर नेटवर्थ जस्ता वित्तीय सूचकलाई यथावत राख्न सके त्यहि नै ठुलो उपलब्धि हुने एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। 

'राष्ट्र बैंकले ४ गुणा चुक्ता पुंजी बढाउने नीतिको प्रभाब यो बर्ष देखिनेछ, बैंक वित्तीय संस्थाहरुलाई एका तर्फ आम्दानी बढाउनु पर्ने दबाब छ भने अर्को तर्फ चर्को ब्याजदरमा काम गर्नु परेको छ, यस्तो अवस्थामा राम्रो कमाई गरेर उच्च अंकको प्रतिफल दिउला भन्ने भन्दा पनि अहिलेकै 'स्ट्यान्डर्ड' कायम गर्न सके त्यो नै उपलब्धि हो' उनले भने।    

त्यस्तै लघुवित्त कम्पनीहरुको अवस्था पनि कम चुनौतिपूर्ण छैन। लघुवित्तका प्रमुख कार्यकारीहरुलाई एका तर्फ व्यवसाय बिस्तारको दबाब छ भने अर्को तर्फ महँगो ब्याजदरमा बैंकबाट सापटी लिएर अधिकतम १८ प्रतिशतको सिमा भित्र रही कर्जा प्रवाह गर्नुपर्ने चुनौती छ। 

'बैंकहरुको आधार दर नै औषतमा ११ प्रतिशत भन्दा बढी छ, राष्ट्र बैंकले अधिकतम १८ प्रतिशत भन्दा बढी दरमा कर्जा प्रवाह गर्न रोक लगाएको छ, यो सिमित मार्जिनबाट कतिमा लगानी गर्ने हो, कतिले संचालन खर्च धान्ने हो, अनि कति कमाएर सेयरधनीहरुलाई दिने हो' एक राष्ट्रिय स्तरका लघुवित्तका प्रमुख कार्यकारीको भनाइ हो यो।

'राष्ट्र बैंकले बैंकहरुलाई कस्ट अफ फन्डको दरमा नै लघुवित्तहरुलाई कर्जा दिने व्यवस्था गर्नुपर्छ, अन्यथा अहिलेका लघुवित्तको अस्तित्व जोखिममा हुनेछ' उनले भने, 'राष्ट्र बैंकले केहि लघुवित्तलाई पब्लिकबाट एउटा दायरामा रहेर निक्षेप संकलन गर्न पाउने प्राबधान ल्याएपनि यो त्यति सहज भने छैन, यसका लागि पूर्वाधार तयार गर्दा नै खर्चिलो हुने भएकाले यो अधिकांश लघुवित्तको पहुँच भन्दा बाहिरको कुरा हुन पुगेको छ' उनले भने, 'छिमेक लघुवित्तलाई राष्ट्र बैंकले यो अवसर दिएपनि यहि प्राबिधिक कारणले उसले यो अवसरको सदुपयोग गर्न सकेको छैन, समाधान भनेको कस्ट अफ फन्डको आधारमा बैंकहरुले लघुवित्तलाई कर्जा सापटी दिनु हो।'

यी त केवल प्रतिनिधि भनाई मात्र हुन। सुन्दा तितो लागेपनि अहिले वित्तीय क्षेत्रको यथार्थ नै यस्तै देखिएको छ। चुक्तापुँजी वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाको सेयर संख्या थपिन्छन। हकप्रद, मर्जर तथा प्राप्ति मार्फत चुक्ता पुंजी वृद्धि गर्न जति सहज देखिएको थियो, त्यति नै चुनौती आम्दानि बढाएर प्रति सेयर आम्दानि कायम गर्नु हो।   

यसको ज्वलन्त उदाहरण भनेको कात्तिक १५ गते सार्वजनिक भएका नबिल, जनता, एनआईसी एसिया बैंक तथा जानकी फाइनान्स हुन। त्यस्तै यस अघि वित्तीय विवरण सार्वजनिक भएका लक्ष्मी लघुवित्त, स्वदेशी लघुवित्त, मुक्तिनाथ विकास बैंक, सानिमा बैंक, सिटिजन बैंक, एभरेष्ट बैंक, सहयोगी विकास बैंकको प्रगती विवरणले पनि यस्तै संकेत गरेका छन। यद्दपी राष्ट्रिय बाणिज्य बैंक, नेशनल माइक्रोफाइनान्सले भने उल्लेख्य प्रगति गरेको विवरण प्रस्तुत गरी राम्रो कमाई गर्न सक्ने सम्भावना पनि यथावत छ भन्ने उदाहरण प्रस्तुत गरेका छन। हेरौं केहि उदाहरण:  

नबिल बैंक 

नबिल बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा सामान्य प्रगती गरेको वित्तीय बिबरण पेश गरेको छ। यस अवधिमा बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा ७९ करोड ८३ लाख खुद मुनाफा गरेको थियो। 

नबिलले चुक्ता पुंजी ३० प्रतिशतले बढाएर ८ अर्ब ४ करोड पुर्याउदा कमाई करिब ७ प्रतिशतले मात्र वृद्धि हुँदा उसको प्रति सेयर आम्दानिको सन्तुलन बिग्रिएको छ। 

गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको ३० प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा बैंकको प्रति सेयर आम्दानी १८ प्रतिशतले घटेर ४२ रुपैयाँ ३४ पैसामा सिमित भएको छ। बैंकको जगेडा कोष रकम भने ११ प्रतिशतले बढेर ६ अर्ब ९० करोड पुगेको छ।  

जनता बैंक

दुई बलिया बिकास बैंकलाई प्राप्ती तथा मर्जर गरेको जनता बैंकले पनि लगानीकर्तालाई निराश बनाउने गरि वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्ष  एक्लैले ६ करोड ३९ लाख खुद मुनाफा गरेको जनताले यस अवधिमा दुई बिकासबैंकको साथ लिंदा समेत मात्र ६ करोड ४८ लाख खुद मुनाफा गरेको छ। 

खराब कर्जा अनुपात बढ्दा जोखिम बापत १४ करोड ३८ लाख छुट्याउनु पर्दा खुद मुनाफा घट्न गए पनि उसलाई ५ करोड ८३ लाख रुपैयाँ राइट ब्याक हुँदा खुद मुनाफा सन्तुलित हुन पुगेको छ। 

चुक्ता पुंजी २०० प्रतिशतले बढ्दा बैंकको कमाईमा संकुचन हुँदा प्रति सेयर आम्दानी ३ रुपैयाँ ७१ पैसामा सिमित भएको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गर्न भने अझै बाँकी छ। एका तर्फ बैंकले ८ अर्ब चुक्ता पुंजी पुर्याउन झन्डै १५ प्रतिशतले पुंजी बढाउनु पर्नेछ। त्यसका लागि बोनस या हकप्रदको सहारा लिन बैंक बाध्य छ। त्यसपश्चात उसको प्रति सेयर आम्दानी कहाँ पुग्छ त्यो सोचिनीय छ।    

राष्ट्रिय बाणिज्य बैंक 

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले भने उल्लेख्य प्रगति गरेको वित्तीय विवरण पेश गरेको छ। बैंकले यस अवधिमा ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ५० करोड ८ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। 

यस अवधिमा बैंकले १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरि १ खर्ब ६ अर्ब कर्जा लगानी प्रवाह गरेको छ। बैंक चुक्ता पुंजी वृद्धि गर्ने दबाबबाट मुक्त रहंदा उसको प्रति सेयर आम्दानि समेत ४१ प्रतिशतले बढेर ३३ रुपैयाँ ०४ पैसा पुगेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ५८ करोड छ भने जगेडा कोष रकम ३ अर्ब ८२ करोड पुगेको छ। बैंकको खराब कर्जा अनुपात समेत ३।३ प्रतिशतबाट घटेर २।९२ प्रतिशतमा झरेको छ।  

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६.७६ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण प्रस्तुत गरेको छ। 

यस अवधिमा बैंकले २७ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले २६ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

यस अवधिमा बैंकले १ खर्ब ३ अर्ब निक्षेप संकलन गरि ८६ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ७२ अर्ब ४७ करोड निक्षेप संकलन गरि ६१ अर्ब १ करोड कर्जा प्रवाह गरेको थियो। 

बैंकले ५९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानि गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ५६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।  

कारोबार तथा व्यवसाय बिस्तारमा आक्रामक नीति अख्तियार गर्दै शाखा बिस्तारमा तिब्र देखिएको एनआइसी एसिया बैंकको संचालन खर्च र कर्मचारी खर्च सामान्य रुपले बढेको छ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको २० प्रतिशत बोनस सेयरलाई समेत समावेश गरी चुक्ता पुंजी र प्रति सेयर आम्दानि देखेको छ यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड छ भने जगेडा कोष रकम २ अर्ब १८ करोडबाट बढेर २ अर्ब ३६ करोड पुगेको छ। 

बैंकले चुक्ता पुंजी ३८ प्रतिशतले वृद्धि गर्दा प्रति सेयर आम्दानिको सन्तुलन केहि बिग्रिएको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानि १३ रुपैयाँ ८८ पैसा, प्रति सेयर नेटवर्थ १२९ रुपैयाँ ४२ पैसा, मुल्य आम्दानीको अनुपात २७ दशमलब ७५ गुणा रहेको छ। समग्रमा एनआइसी एसिया बैंकको प्रगति विवरण सन्तोषजनक नै रहेको छ। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात समेत ७७।५१ प्रतिशत रहेको छ भने बैंकको कस्ट अफ फन्ड समेत बढेर ८।०३ प्रतिशत पुगेको छ। त्यस्तै खराब कर्जा अनुपात ०।२९ प्रतिशत पुगेको छ।   

केहि बैंकहरुले गत आर्थिक बर्षकमाईबाट वितरण गर्ने लाभांश समेत घोषणा नगरेको परिवेशमा एनआइसी एसियाले भने साधारणसभा समेत सकेर शेयरधनीहरुलाई समेत लाभांश खुवाईसकेको छ भने उसले पहिलो त्रैमासको विवरणमा उक्त बोनस सेयर बितरण मार्फत थप हुने पुंजीलाई समेत समावेश गर्दा समेत इपिएस र मुल्य आम्दानीको अनुपातको सन्तुलनलाई कायम नै राखेको छ।

सहयोगी बिकास बैंक 

सहयोगी विकास बैंकको संचालन खर्च बढेपछि चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नोक्सानी बेहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा १ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा गरेको सहयोगी विकास बैंक यस अवधिमा १ लाख ८६ हजारले नोक्सानी बेहोरेको छ।   

बैकको खुद ब्याज आम्दानी ह्वात्तै घटेपछि उसको वित्तीय विवरणले निराश पारेको हो। गत आर्थिक बर्ष ४ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको सहयोगीले यस अवधिमा ३ करोड २० लाख मात्र खुद ब्याज आम्दानी गरेको छ। त्यसैले पनि बैंकको यो हालत भएको हो।  

अर्को तर्फ खराब कर्जा अनुपात बढेपछि बैंकले जोखिम बापत ३ करोड ७३ लाख छुट्याउन बाध्य भएको छ। उसले यो रकम छुट्याउन नपरेको हुन्थ्यो भने खुद नोक्सानी बेहोर्नु पर्थेन। खराब कर्जा अनुपात १।३६ प्रतिशतबाट बढेर २.८२ प्रतिशत पुगेको छ।   

यस अवधिमा बैंकको चुक्ता पुंजी ४२ करोड ४७ लाख छ भने जगेडा कोष रकम १९ करोड ९७ लाख पुगेको छ। चुक्ता पुंजी ६४ प्रतिशतले बढ्दा त्यहि अनुसार कमाई गर्न नसक्दा बैंकले प्रति सेयर आम्दानी र मूल्य अाम्दानी अनुपात वित्तीय बिबरणमा प्रस्तुत गर्न सकेको छैन।   

स्वदेशी लघुवित्त 

केहि समय अगाडी आइपीओको भर्नेको लर्को लागेको स्वदेशी लघुवित्त पनि धान्ने सहयोगी विकास बैंकको अवस्थामा पुगेको छ। स्वदेशीले राइट ब्याकको कारणले नोक्सानी बेहोर्नु नपरेको वित्तीय विवरण पेश गरेको छ। 

हाल १० करोड चुक्ता पुंजी (३ करोड सर्वसाधारणको) रहेको स्वदेशीले पहिलो तीन महिनामा २६ लाख २४ हजार खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा ५३ लाख ६७ हजार रुपैंया खुद मुनाफा गरेको थियो।  

गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको स्वदेशीको संचालन मुनाफा ३१ लाख ७७ लाख ऋणात्मक छ। जबकि गत आर्थिक बर्षको यस अवधिमा संचालन मुनाफा ३९ लाख २१ हजार थियो। 

लघुवित्तले कर्जा प्रवाह तथा निक्षेप संकलनमा उल्लेख्य प्रगति गरेपनि बैंकबाट लिएको कर्जाको ब्याजदर महँगो हुँदा उसको कमाईमा संकुचन आएको हो। 

लघुबित्तले गत आर्थिक बर्षको कमाईबाट बितरण गरेको बोनस सेयर समायोजन नगरी प्रति सेयर आम्दानी देखाएको छ। यस अवधिमा स्वदेशीको प्रति सेयर आम्दानी १० रुपैयाँ ५० पैसा छ। बोनस सेयर समायोजन पश्चात लघुवित्तको प्रति सेयर आम्दानी ९ रुपैयाँ हारहारी हुन आउंछ। निकट भविष्यमा नै स्वदेशीले शतप्रतिशत हकप्रद बिक्रि गर्ने तयारी गरेको छ।

नेशनल माइक्रोफाइनान्स 

नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा १ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा माइक्रोफाइनान्सको खुद मुनाफा १ करोड ८३ लाख थियो। 

सन्तोषजनक वित्तीय विवरण सार्वजनिक गरेको नेशनल माइक्रोफाइनान्सले यस अवधिमा ४० करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने २० प्रतिशत बोनस सेयर पुंजीकृत गर्दा लघुवित्तको चुक्ता पुंजी १२ करोड पुगेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ६५ दशमलव ७४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ८७ दशमलव ६१ रुपैयाँ छ। अन्य लघुवित्तको कमाई खुम्चिदा नेशनलले उल्लेख्य प्रगती गरेको वित्तीय विवरण पेश गरेर लगानीकर्ताको उत्साहमा उर्जा थपेको छ।

निष्कर्ष:

नेप्सेमा सुचिकृत डेढ सय बढी कम्पनीका वित्तीय विवरण सार्वजनिक हुन बाँकी नै छ। कयौं कम्पनीका वित्तीय विवरण सार्वजनिक हुन बाँकी रहंदा र पहिलो त्रैमासको विवरण हेरेर निराश हुनु लगानिकर्ताको लागि 'घातक' हुन सक्छ। तर सत्य यहि हो कि बिगतका बर्षमा झैँ बैंक वित्तीय संस्थाहरुले टन्न मुनाफा गर्छन र राम्रो प्रतिफल दिन्छन भन्ने भ्रम नपाल्दा नै शेयर लगानिकर्ताका लागि फाइदाजनक हुनेछ।  


 





  

 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved