EXCLUSIVE: १८ खर्बको बजार धराप हुने गरि कसको स्वार्थमा ल्याइदै छ अर्को स्टक एक्सचेन्ज ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 28, 2017 | 06:30:18 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकी भारत लगायतका मुलुकहरुमा बहु स्टक एक्सचेन्जको अवधारणा हराउंदै गएको अवस्थामा नेपालमा भने बहु स्टक एक्सचेन्जको चर्चा व्यापक बनेको छ।

नेपालको एक मात्र स्टक एक्सचेन्ज (नेप्से) को बिकास तथा बिस्तारमा लाग्नु पर्ने नेपाल धितोपत्र बोर्ड अर्को स्टक चाहियो भन्दै अर्थमन्त्रालय धाउदै गर्दा 'काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर' भन्ने उखानको चरितार्थ भएको छ। 

बजार बिस्तार तथा बिकासको 'मेरुदण्ड' मानिएको अनलाइन ट्रेडिङको कामलाई एक बर्ष पछाडी सारेको धितोपत्र बोर्डले अर्को स्टक एक्सचेन्ज खोल्ने चाहना रहस्यमय बन्दै गएको छ। अहिले संचालनमा रहेको नेप्सेलाई प्रविधिमैत्री तथा लगानीमैत्री बनाउनुको साट्टो अर्को स्टक एक्सचेन्जको अनुमति माग्दै हिड्नुले 'दालमा केहि कालो' पो छ कि भन्ने शंका उब्जिएको छ।  

धितोपत्र बोर्डले अर्को स्टक एक्सचेन्ज ल्याउन पछाडी ३ महत्त्वपूर्ण कारणहरु रहेको विश्लेषण गरिएको छ। पहिलो कारणमा धितोपत्र बोर्डको अध्यक्ष ड़ा रेवत कार्कीको 'इगो' लाई लिइएको छ। त्यस्तै दोस्रो कारणमा केहि ब्यापारी घरानाको स्वार्थ र तेस्रोमा पुर्व अर्थमन्त्रीको स्वार्थलाई औल्याइएको छ। 

बोर्डका अध्यक्ष कार्की र नेप्सेका तत्कालिन महाप्रबन्धक सिताराम थपलियाबीचको 'टसन' का कारण अर्को स्टक एक्सचेन्जको खाँचो परेको हो कि भन्ने आशंका गरिएको छ। थपलियासंगको वाकयुद्ध चल्दै गर्दा अध्यक्ष कार्कीले सार्वजनिक रुपमा नै अर्को स्टक एक्सचेन्ज ल्याउने घोषणा गरेका थिए। थपलियालाई 'देखाईदिन्छु' भन्ने इगोका कारण गरियो त्यो 'घोषणा' अध्यक्ष कार्कीलाई 'बोलिपासो' भएको छ। 

बिश्व बजारमा 'एक्सपायर' भईसकेको बहु स्टक एक्सचेन्ज खोल्ने धितोपत्र बोर्डको चाहनामा अध्यक्ष कार्कीको 'इगो' हाबी भएको शेयरपण्डितहरुको भनाई छ। आफ्नो नाम नलेख्ने सर्तमा एक लगानीकर्ता भन्छन, 'थपलियालाई देखाईदिन्छु भन्ने इगोले कार्कीले अर्को स्टक ल्याउन लागिपरेका हुन।' 

आशंकामा सत्यता कति ?

नेप्सेलाई अनलाइन ट्रेडिङमा लैजाने उदेश्य सहित थपलियाको नेतृत्त्वमा २०७२ पुष ४ गते वाईकोसंग सम्झौता भयो। 'अनलाइन ट्रेडिङ प्रणाली टेस्टेड हो कि होइन, यसमा क्रस बोर्डर ट्रेडिङ सुविधा छ कि छैन' भन्ने प्रश्नका साथ सम्झौताको केहि दिन पश्चात बोर्डले नेप्सेलाई पत्र पठायो।  

जबकी यी दुवै प्रश्न आवश्यक नै थिएनन। बिश्वमा कुनै पनि देशको स्टक एक्सचेन्जमा बजारमा बिक्रिमा राखिएको 'टेस्टेड' अनलाइन प्रणाली राख्ने अभ्यास छैन। हरेक देशले आफ्नो आवश्यकता अनसार नै अनलाइन ट्रेडिङ प्रणालीको विकास गर्ने हो। 

त्यस्तै बोर्डले उठाएको 'क्रस बोर्डर ट्रेडिङ' को प्रश्न झनै हास्यप्स्पद देखिन्छ। नेपालकै कयौं कम्पनीहरु नेप्सेमा सुचिकृत हुन नसकेको अवस्थामा विश्वका जुन सुकै कम्पनी नेपालको स्टक एक्सचेन्जमा र नेपालका कम्पनी विदेशका स्टक एक्सचेन्ज कम्पनीमा सुचिकृत भई कारोबार हुन्छ भन्ने सोच दिवा सपना नभएपनि कम्तिमा पनि यसका लागि अझै दशौँ बर्ष लाग्न सक्छ। 

विश्वमा एकै नीति नियम, उस्तै आर्थिक अवस्था भएका मुलुकहरुमा 'क्रस बोर्डर ट्रेडिङ' को अभ्यास छ। न्युजिल्यान्ड र अष्ट्रेलियाबीच, क्रस बोर्डर ट्रेडिङ हुन्छ भने थाइल्याण्ड, मलेसिया र सिंगापुरबीच समेत क्रस बोर्डर ट्रेडिङ हुनेगर्छ। जबकि नेपालको पुंजीबजारको बिकासका लागि गर्नुपर्ने धेरै काम छन् तर यहि कुरामा बिबाद झिकेर बोर्डले नेप्सेलाई सोध्नु पर्ने आवश्यकता नरहेको बताइएको छ। 

माथि उल्लेख बिषयहरु समावेस गरि नेप्सेले पठाएको पत्रमा बोर्डले 'आफ्नै बिषय हो जे सुकै गर' भन्ने आशयको जवाफ दियो। यहि बीच कसैले अख्तियारमा र सार्वजनिक लेखा समितिमा दिएको उजुरीमा समेत अनलाइन ट्रेडिङ प्रणाली ल्याउने बिषयले 'क्लिन चिट' पायो। 

यसैबीच सम्झौता अनुसार काम अगाडी बढ्न नसकेको भन्दै वाईकोले नेप्से, बोर्ड र सरकार बिरुद्द काठमाडौं अदालतमा उजुरी दियो। काठमाडौं अदालतले सम्झौता अनुसार अघि बढ्न दिएको आदेशप्रति असन्तुष्टि जनाउदै वाईकोले पुन: पाटन उच्च अदालतमा उजुरी दियो। 

उजुरी दिएको झन्डै एक बर्षपछी पाटन अदालतबाट २०७३ माघ १८ मा फैसला आयो। सोहि फैसला अनुसार वाईको र नेप्सेबीच गत बैशाख ६ मा सम्झौताको १४ महिना भित्र अनलाइन ट्रेडिङको काम सक्नेगरि 'पुन: सम्झौता' भयो। 

यदि बोर्डले अनावश्यक बखेडा झिकेर नेप्सेलाई त्यो पत्र नपठाएको भए नेप्से अनलाइन ट्रेडिङ प्रणालीमा हुन्थ्यो र पुंजीबजारले नयाँ उचाई बनाएको हुन्थ्यो। 

पुंजीबजारको पहुँच सर्वसाधारणमा पुर्याउने लक्ष्य अनलाइन ट्रेडिङबाट मात्र पुरा हुन्छ। तर यो प्रक्रियालाई नै असहयोग गरि अर्को स्टक एक्सचेन्ज ल्याउने बोर्डको कदम पक्कै पनि शंकाको घेरामा हुनु स्वाभाविक नै हो।  

ब्यापारी घरानाको स्वार्थमा अर्को स्टक एक्सचेन्ज 

आफ्नै पहलमा अर्को स्टक एक्सचेन्ज ल्याउन पाए 'डाडु पनियो' दुवै आफ्नो हातमा हुने भन्दै बिशाल, आइएमई र प्रभु समुह नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिपरेको खुल्न आएको छ। अर्को स्टक एक्सचेन्ज ल्याएपछी आफु अनुकल ब्रोकर, क्लियारिंग हाउस लगायतका निकायहरु खडा हुने र बजार आफु अनुकुल चल्ने अपेक्षाले यी समुहहरु नयाँ स्टक ल्याउन लागिपरेको बताइएको छ।

पुर्व अर्थमन्त्री कृष्ण बहादुर महराको बचन 

पुर्वअर्थमन्त्री कृष्ण बहादुर महराले केहि ब्यापारी घरानासंगको 'बाचा' पुरा गर्न अर्को स्टक एक्सचेन्ज ल्याउने चाहेका थिए। तर नेपालको अर्थतन्त्रको अर्को स्टक एक्सचेन्ज आवश्यक नरहेको सुझाब प्राप्त भएपछी महराले त्यो 'बाचा' नयाँ जिबन बिमा कम्पनीको लाइसेन्स दिएर पुरा गरेको बुझिएको छ। 

३० करोड चुक्ता पुंजीरहेको नेप्सेमा नेपाल सरकारको ५८।६६ प्रतिशत शेयर स्वामित्व छ भने नेपाल राष्ट्र बैंक, एनआईडिसी डेभलपमेन्ट बैंक र सदस्य व्यवसायीहरुको क्रमश: ३४.६० , ६.१२ र ०.६२ प्रतिशत शेयर छ। सदस्य व्यवसायीहरुमा पुराना २३ ब्रोकर, मर्चेन्ट बैंकर, मार्केट मेकर राष्ट्रिय बाणिज्य बैंक, एनएमबि बैंक, नेपाल शेयर मार्केट पर्छन।

निष्कर्ष:

बजारमा अहिलेको नेप्सेलाई निजीकरण गर्नुलाई समधानको उपायको रुपमा अगाडी ल्याइएको छ। तर यो प्रकिया त्यति सहज भने अवश्य छैन। सरकारलाई नेप्सेलाई निजीकरण गरि शेयर बेचेर खायो भन्ने आरोप समेत लाग्न सक्छ। 

ब्यापारी घरानाको स्वार्थ पुरा गर्ने नै हो भने नेप्सेमा हाल कायम ३० करोड चुक्ता पुंजीलाई १ अर्बको बनाएर (प्रिमियममा) ७० प्रतिशत शेयर  स्वामित्व निजि संस्थालाई दिन सकिन्छ। यसो गर्दा नेप्सेको बिकास तथा बिस्तार गर्न आवश्यक लगानी समेत जुट्छ। 

तर नेप्सेको अहिलेको अवस्थालाई यथावत राखेर अर्को स्टक एक्सचेन्ज ल्याईएमा यसको परिणाम दुखद हुने विश्लेषण गरिएको छ। पछिल्लो समय पुंजीबजारको विकास तथा बिस्तारको नीति अघि सारेर लगानीकर्ताबाट जस कमाउदै आएको धितोपत्र बोर्डले यदि नयाँ स्टक एक्सचेन्ज ल्याउछ भने त्यो निर्णयले २० खर्बको बजारलाई 'धराप' मा पार्न सक्नेछ।

अर्को स्टक एक्सचेन्जको आवश्यकता पुष्टि गर्न नसकेको धितोपत्र बोर्डले बहुबाट एकल स्टक एक्सचेन्जमा फर्किएका छिमेकी देशका स्टक एक्सचेन्जहरुको उदाहरण बिर्सिनु हुँदैन।  

छिमेकी देश पाकिस्तानमा कुनै बेला तीन वटा स्टक एक्सचेन्ज थिए। तर अहिले यी तीनवटा स्टक एक्सचेन्ज एकआपसमा गाभिइसकेका छन् | स्टक एक्सचेन्ज गाभिनु अघि तीनपटकसम्म गम्भीर संकटको सामना गरेको पाकिस्तानी शेयरबजार एकलमा फर्किएपछि अहिले उत्कृष्ट बजार बनिसकेको छ| 

त्यस्तै बिगतमा दर्जनौं स्टक एक्सचेन्ज रहेको भारतमा अहिले मुख्यत: दुईवटा स्टक एक्सचेन्ज सक्रिय छन। बम्बई स्टक एक्सचेन्ज र नेश्नल स्टक एक्सचेन्जलाई समेत मर्ज गरि एक स्टक एक्सचेन्ज बनाउने तयारी समेत सुरु भईसकेको छ। त्यसैले धितोपत्र बोर्ड पनि लगानीकर्ता प्रति इमान्दार भई अहिलेकै नेप्सेको बिकास तथा बिस्तार गर्न लाग्नुपर्छ।    

के नयाँ स्टक एक्सचेन्ज आवश्यक छ ? (विश्लेषण)



     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved