जलविद्युत् कम्पनीले आईपिओ निष्काशन गर्दा नाफा आउने समय तोक्नु पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2018 | 03:34:50 PM मा प्रकाशित

laxmi  sunrise bank

जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेका बेला नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्थाका बारेमा नागरिकले थाहा पाउने गरी सूचना दिन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । 

विभिन्न १६ वटा जलविद्युत् कम्पनीले साधारण शेयर जारी गर्ने तयारी गरिरहेका बेला बोर्डले आयोजनामा लगानी भएको रकमको नाफा के कति समयमा हुने हो र त्यसको आधार के हुने भन्नेबारेमा जानकारी दिन निर्देशन दिएको हो । 

आर्थिकरुपमा समस्या रहेका जलविद्युत् कम्पनीले समेत नागरिकलाई गुमराहमा राखेर साधारण शेयर जारी गर्ने प्रवृत्ति बढेपछि बोर्डले जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत, विद्युत् उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधिका बारेमा प्रस्ट जानकारी दिन भनेको हो । 

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार जलविद्युत् कम्पनीले सञ्चालन अवधि तीन वर्ष व्यतित भइसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतित भइनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरणबमोजिम प्रतिशेयर खुद सम्पत्ति, प्रतिशेयर आम्दानीका बारेमा जानकारी दिन भनेको हो । 

सरकारले स्थानीय प्रभावितलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत साधारण शेयर दिनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि जलविद्युत् आयोजनाले शेयर दिने प्रचलन बढेको छ । 

समग्रमा शेयर बजार ओरालो लागिरहेका बेला नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत जलविद्युत् कम्पनीहरुको शेयरको मूल्यसमेत घटिरहेको छ । शेयर बजारमा नाम कमाएको चिलिमे जलविद्युत् कम्पनीको शेयरको मूल्य पनि क्रमशः घटिरहेको छ । हाल सो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८८५ रहेको छ । यस्तै निजी क्षेत्रको अर्को कम्पनी अपि पावरको प्रतिकित्ता शेयर ४५० मा पुगेको छ । 

यस्तै हिमालयन पावर पार्टनर कम्पनीको समेत शेयर मूल्यमा कमी आएको छ । सो कम्पनीको प्रतिकित्ता शेयरको ३६७ रहेको छ । बजार प्रभावित भएको र मूल्यमा समेत कमी आइरहेका बेला कमजोर वित्तीय अवस्था भएका कम्पनीको शेयरमा लगानी गर्दा घाटा हुने भएकाले बोर्डले सम्पूर्ण आर्थिक विवरण उपलब्ध गराउन र सार्वजनिक गर्न आग्रह गरेको हो । 

बोर्डले सम्बन्धित जलविद्युत् कम्पनीको लेखापरीक्षण प्रतिवेदनसमेत स्पष्टरुपमा जानकारी गराउन भनेको छ । 

बोर्डको नयाँ व्यवस्थालाई स्वतन्त्र ऊर्जा उत्पादनको संस्था (इपान)ले स्वागत गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले नागरिकलाई प्रस्टरुपमा जानकारी दिनुपर्ने जलविद्युत् कम्पनीको दायित्वलाई व्यवस्थित गरेको बताए । 
उनले भने, “आर्थिक रुपमा सबल होऊ, व्यवस्थित र पारदर्शी कारोबार गर । नागरिकलाई लगानी गरुँगरुँ बनाउने विषय त जायज नै छ । यसमा अरु कुनै टिप्पणी नै जरुरी छैन ।” 

स्टक एक्स्चेन्जमा दर्ता भएका १७ वटा जलविद्युत् कम्पनीमध्ये केही कम्पनी मात्रै नाफामा रहेको पछिल्लोपटक सार्वजनिक गरिएको चालू आवको पहिलो चौमासिक प्रतिवेदनमा उल्लेख छ । 

बोर्डले शेयर निष्काशन प्रक्रियालाई व्यवस्थित, पारदर्शी एवं सरल बनाउन त्यस्तो प्रावधान ल्याइएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved