एनआईसी एसिया र सिबिआइएल क्यापिटलको म्युचुअल फण्ड मध्ये कुनमा लगानी गर्नु उत्तम ?

जान्नुहोस म्युचुअल फण्डमा लगानी कति उत्तम
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 07:58:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा रहेको 'एनआइसी एशिया ग्रोथ फण्ड' र सिटिजन्स बैंकद्वारा प्रवर्दित सिबिआइएल क्यापिटलको व्यवस्थापनमा रहेको 'सिटिजन म्युचुअल फन्ड १' को इकाई बिक्रि खुला भएसंगै बजारमा म्युचुअल फन्डमा लगानी कति उत्तम भन्ने चर्चा आम बनेको छ। 

मुचुअल फन्डमा लगानी किन गर्ने भन्ने बिषयको जानकारी नहुँदासम्म सामुहिक कोषमा लगानी कति उत्तम भन्ने कुराको उत्तर नआउन सक्छ। तसर्थ पाठकहरुका लागि यहाँ म्युचुअल फण्डमा गरिने लगानी कति उत्तम हुन्छ र यसका फाइदा के हुन्छन भन्ने कुरा पस्कने प्रयास गरेका छौं।     

जब जब लगानीको कुरा उठ्छ, तब हरेक लगानीकर्ताको पहिलो चुनौती भनेको नै उपलब्ध विभिन्न बिकल्पबाट अब्बल माध्यम छनौट गर्नु हुन्छ। गत बर्षको विनासकारी भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा लगानीको अवसर र विकल्प झनै खुम्चिएको चर्चा गरिदै आएको छ। यस्तो अवस्थामा सामूहिक लगानी कोष वा म्युचुअल फण्ड, शेयर, बोन्ड्स, ऋण पत्र, बैंकमा फिक्सड डिपोजिट लगानीको विकल्प हुन सक्छ।    

दोस्रो बजार अर्थात धितोपत्र बजारमा लगानीको लागी कम्तिमा पनि यस क्षेत्रसंग सम्बन्धित सामान्य ज्ञानको आवश्यकता  पर्दछ। दोस्रो बजारमा लगानीको अवसर जती उत्तम छ त्यति नै जोखिमपूर्ण पनि छ। त्यसैले लगानीको अवसर खोज्ने नयाँ लगानीकर्ताको लागी सामूहिक लगानी कोष वा म्युचुअल फण्डमा गरिने लगानी सबैभन्दा सजिलो उपकरण बन्न सक्छ।  

नयाँ र सिकारु लगानीकर्ताका लागि बजार प्रवेश गर्ने सबैभन्दा उपयुक्त माध्यम सामुहिक लगानी कोष मानिएपनि यसबारे उचित समिक्षा नगरी गरिएको लगानीको निर्णय  महँगो साबित हुन पनि सक्छ । त्यसैले लगानी गर्नु पुर्व किन लगानी गर्ने भन्ने सामान्य ज्ञान हुन अत्यावश्यक छ।

सामान्य सिद्दान्त अनुसार पैसा भएका तर लगानीसम्बन्धी ज्ञान नभएका अथवा लगानीसम्बन्धी ज्ञान भएका तर कम पैसाका कारण लगानीलाई विविधीकरण गर्न नसक्ने र समय अभावका कारण पर्याप्त सूचना तथा समाचार संकलन गरी लगानीलाई व्यवस्थित गर्न नसक्ने लगानीकर्ताको लगानीलाई सामुहिक रुपमा बिबिध क्षेत्रमा लगानी गरी लगानीकर्तालाई प्रतिफल दिनका लागी म्युचुअल फन्डको स्थापना गरिएका हुन्छन। 


सिटिजन क्यापिटलको व्यवस्थापनमा रहेको म्युचुअल फन्डले ७ वर्षको औसतमा साढे २२ प्रतिशतको वार्षिक प्रतिफल दिने लक्ष्य लिएको छ भने एनआईसी एसिया क्यापिटल व्यवस्थापक रहेको म्युचुअल फन्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ ।

सामान्य रुपमा दुई प्रकारका सामुहिक लगानि कोषको अवधारणा रहेका छन। खुलामुखी र बन्दमुखी। खुलामुखी (ओपन इन्डेड) म्युचुअल फन्ड नै वास्तविक म्युचुअल फन्ड हो। नागरिक लगानी कोषको नागरिक एकांकी योजनमात्र खुलामुखी (ओपन इन्डेड) म्युचुअल फन्ड हो। यद्दपी यसबारे त्यति चर्चा नहुँदा बजारमा खुलामुखी खुलामुखी (ओपन इन्डेड) म्युचुअल फन्ड नभएको भन्ने गरिन्छ।  

खुलामुखी म्युचुअल फन्डको विकल्पमा रुपमा स्थापना भएका यस्ता मुचुअल फन्डले लगानीकर्ताको धेरै अवसर र अधिकार खोसे पनि नेपालको वर्तमान परिपेक्षमा शेयर बजारमा प्रवेश गर्न चाहनेका लागी यो नै उत्तम विकल्पको रुपमा देखिएको छ। 

अर्को तर्फ अधिकांश म्युचुअल फन्डले दिने प्रतिफल सामान्यतया बजारमा चलेको ब्याजदर र मुद्दती निक्षेपमा दिईने ब्याजदर भन्दा बढी नै हुन्छ। एका तर्फ सामुहिक लगानी कोषले दिने प्रतिफल लगानीकर्ताको लागि चल्तीको ब्याजदर भन्दा बढी हुनेगर्छ भने अर्को तर्फ इकाईधनीहरुले आफुले चाहेको बेला आफुसंग भएको इकाई बिक्रि गरी खर्चको जोहो गर्ने बाटो खुला नै हुन्छ।

नेपालमा सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले फन्ड सञ्चालनको सुरुवात गरेसँगै अहिले बजारमा १२ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन्। जस मध्ये १० वटा म्युचुअल फन्ड नेप्सेमा सुचिकृत छन। र केहि म्युचुअल फन्ड चालनमा आउन नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन। 

एनआईसी एसिया र सिबिआइएल क्यापिटलको यो पहिलो म्युचुअल फन्ड हो। अर्थात दुवैले कति प्रतिफल दिन सक्लान भन्ने आंकलन गर्न त्यति सहज छैन। यद्दपी फन्ड संचालनका तथा नियमित सुपरीवेक्षणको लागि विज्ञ र व्यवस्थापकहरुको अनुभवी समूह रहने भएकाले यी संस्थाद्वारा संचालित म्युचुअल फन्डले बजारमा चलेको ब्याजदर भन्दा माथि नै रहेर प्रतिफल दिन सक्ने अपेक्षा गर्न सकिन्छ।  


त्यसो त नेपालमा संचालनमा आएका म्युचुअल फन्डहरु खुलामुखी नभई बन्दमुखी हुन्। जसको लगानीको प्रमुख क्षेत्र सेयर बजार रहेको छ। यस्तोमा म्युचुअल फन्डमा लगानी गर्दाको केहि फाइदाहरु यस्ता छन:

मुद्रास्फीति प्रभाब न्यूनीकरण 

धेरै समय र ठुलो लगानी बिना नै लगानीकर्ताले कोषबाट पाउने प्रतिफल नै फन्डको मुख्य आकर्षण हो। फन्डमा गरिने लगानीबाट प्राप्त प्रतिफलले मुद्रास्फीति प्रभाबलाई न्यूनीकरण गर्ने अवसर सृजना गर्दछ। 

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले दिने औशत ब्याजदर भदा मुद्रास्फीति दर बढी रहेको छ। यद्दपी गत आर्थिक बर्षको प्रथम आठ महिनाको तथ्यांकलाई आधार मान्ने हो भने यो दर ५.१ प्रतिशत छ। बैंक वित्तीय संस्थाहरुले दिने ब्याजदर भन्दा औशतमा मुचुअल फन्डले दिने प्रतिफल  बढी छ। त्यसैले कम जोखिम र थोरै लगानीको हिसाबले पनि मुचुअल फन्डमा गरिने लगानी उत्तम विकल्प बन्न सक्छ।

विशेषज्ञ टोलि 

नेपालको सेयर बजार नै फन्डहरुको लगानीको प्रमुख क्षेत्र रहेपनि सामुहिक लगानी कोषले लगानी निर्णय लिनका लागी यस क्षेत्रसंग सम्बन्धित विशेषज्ञहरु टोलि गठन गरेको हुन्छ। जसले कम्पनीहरुको वित्तीय अवस्थाको अध्ययन गरेर लगानी गर्नको लागी सुझाब दिन्छन। गहन अध्ययन, अनुसन्धान, विश्लेषण पछी मात्र लगानीको निर्णय गरिने हुँदा लगानी र प्रतिफल सुरक्षित हुने गर्दछ। 

सुविधा 

त्यसो त नेपालमा संचालनमा रहेका फन्डहरु बन्दमुखी रहेका छन। जसकारण लगानिकर्ताले आफुले चाहेको बेला आफ्नो इकाई किन बेच गर्न पाउदछ। भने चक्रीय प्रतिफल आर्जन समेत गर्दछ। लगानीकर्ताले सेयर बजारमा प्रवेशका लागी फन्डमा गरिने लगानीलाई मार्ग बनाउन सक्ने सुविधा रहन्छ भने कम अध्ययन र लगानीमा प्रतिफल प्राप्त गर्दछ। 

कम खर्च 

सिधै पुंजी बजारमा गरिने लगानीको तुलनामा फन्डमा गरिने लगानी तुलनात्मक रुपमा कम हुन्छ। कम लगानीसंगै जोखिम र चुनौती समेत कम हुने गर्छ। सम्भवत: समय अभाब भएका, कम जोखिम लिन चाहने र कम लगानी गर्न चाहनेका लागी फन्डमा लगानी उत्तम विकल्प हुन सक्छ। 

विविधिकरण 

त्यसो त व्यक्तिगत रुपमा गरिने लगानीलाई समेत विविधिकरण गर्न सकिन्छ। तर यसका लागी लगानी केहि बढी हुनु पर्दछ भने अध्ययनको पनि उत्तिकै आवश्यकता रहेको हुन्छ। सिद्दान्तत: फन्डमा गरिने लगानीमा विविधिकरण हुने गर्छ। पुंजी बजारमा मात्र नभई फन्डहरुले पूर्वाधार लगायतका अन्य क्षेत्रमा समेत लगानी गरेका हुन्छन। तर नेपालको सन्दर्भमा फन्डहरुले सेयर बजारमा सुचिकृत कम्पनीहरुमा जोखिम र प्रतिफलको हिसाबले लगानीमा विविधिकरण अपनाएका हुन्छन। 

अन्त्यमा, 

सामुहिक लगानी कोषमा गरिने लगानीलाई सेयर बजारमा प्रवेश गर्ने ढोकाको रुपमा चर्चा गरिएपनि फन्डमा लगानी गर्नु पुर्व केहि अध्ययन भने आवश्यक रहेको छ। बजारमा संचालनमा रहेका फन्डहरु मध्य कसले बढी प्रतिफल दिन्छ, कुन फन्ड संचालन गर्ने संचालक र वित्तीय संस्था कस्तो छ भन्ने बिषयहरुको सामान्य ज्ञान राख्न अत्यावश्यक हुन्छ। 

उचित मूल्याङ्कन र बिबिध पक्षको विश्लेषण नगरी कोष लगानीको सबैभन्दा सहज र सजिलो साधन वा लगानी शुरू गर्ने उत्तम विकल्प भन्नु हतार पनि हुन सक्छ। लगानी कोष पनि वित्तीय बजारको एक पाटो भएकाले तुलनात्मक रूपमा जोखीम तथा प्रतिफल केही फरक हुनसक्छ । कुनै पनि लगानीको जोखीम र प्रतिफल त्यसको सञ्चालक÷प्रवद्र्धक, कोष व्यवस्थापक, बजार संरचनाका साथै अन्य विभिन्न बाह्य पक्षमा निर्भर गर्छ । यी बिबिध पक्षहरुको अध्ययन पछि मात्र कोष मा लगानीको निर्णय लिनु बुद्दिमानी ठहरिन्छ।

सिटिजन म्युचुअल फन्ड १

सिटिजन क्यापिटलले १० रुपैयाँ प्रतिइकाईका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला भएको हो।

कम्पनीका अनुसार प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात् १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात् दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ । क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानी कोषमा माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ । म्युचुअल फण्डले ७ वर्षको औसतमा साढे २२ प्रतिशतको वार्षिक प्रतिफल दिने लक्ष्य लिएको सिबिआईएल क्यापिटलले जनाएको छ ।

एनआइसी एशिया ग्रोथ फण्ड

एनआइसी एशिया क्यापिटल म्युचुअल फण्डको आकार एक अर्ब बराबरको छ । जसमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको आठ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री खुला गरेको छ। यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म बिक्री गरिनेछ । 

यो म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त म्युचुअल फण्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ ।



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved