चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 02:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

 ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पुर्याउन थप छ महिनाको समयसीमा दिएको थियो ।

तर एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर (एफपीओ) बिक्री गर्न लागेको छ । सो समेत गरी कूल सात करोड सात करोड ७१ लाख एक हजार १७० कित्ता शेयर बजारमा आउन लागेको हो ।

सिद्धार्थ बैंकले पनि राष्ट्र बैंककै निर्देशनअनुसार चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्कासन गर्ने बाटो रोजेको हो । सो उपाय अपनाउँदासमेत बैंकको चुक्ता पूँजी रु आठ अर्ब पुग्ने देखिँदैन । हकप्रद शेयर बिक्री गर्दा अपुग हुने रकमका लागि बैंकले बोनस शेयरको अवधारणा अगाडि सारेको छ ।

बैंकले रु छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते हकप्रद शेयर निष्कासनको अनुमति दिएको थियो । हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी रु सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ भने बाँकी रकम परिपूर्ति गर्न बैंकको चालू आवको नाफाबाट बोनस वितरण गरिनेछ ।

त्यसैगरी, कुमारी बैंकले पनि चुक्ता पूँजी रु आठ अर्ब पुर्याउन हकप्रद शेयरकै बाटो रोजेको छ । हकप्रदका लागि बोर्डमा आवेदन दिइसकेको छ । बैंकको चुक्ता पूँजी रु पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार बराबरको २० प्रतिशत अर्थात् १० बराबर दुईका दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिएको छ ।

बैंकले रु एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको जनाएको छ । विभिन्न चारवटा वित्तीय संस्थालाई प्राप्ति गर्दासमेत चुक्ता पूँजी रु आठ अर्ब नपुगेपछि सो बैंकले हकप्रदको बाटो रोजेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले दुई बराबर एक अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । सो बैंकले पनि चुक्ता पूँजी पुर्याउन हकप्रदकै बाटो रोजेको छ ।

चार अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद शेयरपछि चुक्ता पूँजी रु सात सात अर्ब एक करोड ८५ लाख ८७ हजार पुग्नेछ । बाँकी रकम कसरी पुर्याउने भन्ने उपायको खोजी भइरहेको जनाइएको छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्कासन भइसकेको छ । सो बैंकले १० बराबर चार अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर बिक्री शुरु गरिसकेको छ ।

बैंकले गत पुस २० गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयर लिन सक्ने व्यवस्था गरिएको छ । यही माघ ७ देखि फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी रु पाँच अर्ब ८८ करोड १४ लाख छ । चालीस प्रतिशत हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन दिएको निर्देशनअनुसार नै हकप्रद शेयर निष्कासन गरिएको बैंकले जनाएको छ ।

एनएमबी बैंकले एक करोड १४ लाख कित्ता थप फरदर पब्लिक अफर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । तर अनुमति भने पाइसकेको छैन । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

तीन बैंकको विवरण सार्वजनिक

विभिन्न बैंकले चालू आवको छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सानिमा बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आफ्नो विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार सानिमा बैंकको नाफा रु ८२ करोड ४७ लाख पुगेको छ । गत वर्ष पुसमा रु ६२ करोड २४ लाख नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी रु २० रहेको छ ।

सिद्धार्थ बैंकले रु ७७ करोड २८ लाख नाफा गरेको छ । गत वर्षको छ महिनामा रु ७२ करोड ६० लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १।५० प्रतिशत छ भने प्रति शेयर आम्दानी रु २२ रहेको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले चालू आवको छ महिनामा रु ६२ करोड ८६ लाख नाफा गरेको छ । गत वर्ष बैंकले रु ६३ करोड १६ लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १।९४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रु १५ रहेको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved