श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लिलाममा राखेको शेयरमा आवेदन दिने आज चैत्र १६ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ८ गतेदेखि हकप्रदमा अवितरित ३ लाख ४४ हजार ३ सय ७३ दशमलव ६२ कित्ता शेयर लिलाममा राखेको थियो । जस मध्ये २ लाख ७७ हजार ९ सय ९६ दशमलव ५३ कित्ता शेयर संस्थापक तर्फको रहेका छन् भने बाँकि ६६ हजार ३ सय ७७ दशमलव ०९ कित्ता शेयर साधारण समुह तर्फको रहेका छन् ।
इच्छुक बोलकबोलदाताले न्युनतम मूल्य १०० भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । साथै न्युनतम १०० कित्ता कायम हुने गरी र त्यस भन्दा माथि १० ले भाग जाने संख्याको लागि आवेदन पेश गर्न सकिने बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ ।
बोलकबोलदाताले चैत्र १६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन फारम लिन र बुझाउनको लागि उपत्यका भित्र सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीको कार्यालय डिल्लीबजार तोकिएका छन् ।
त्यस्तै उपत्यका बाहिर सिद्दार्थ बैंकको बिराटनगर, बुटवल, सुर्खेत, बिरगंज, नेपालगंज, पोखरा र धनगढी शाखाहरुबाट आवेदन फारम लिन र बुझाउन सकिने छ ।
संस्थापक शेयरको हकमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् ।
आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक पर्ने रकम सिद्दार्थ क्यापिटलको नाममा सिद्दार्थ बैंकमा रहेको खाता नम्बर 00115295849 मा जाम गर्नु पर्ने छ । साथै श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको खाता नम्बर 19080000000053 मा जम्मा गर्नु पर्ने छ । साथै गुड फर पेमेन्ट चेक पनि दिन सकिने छ । सबै भन्दा धेरै मूल्य कबुल गर्नेले शेयर पाउने छन् ।
हाल कम्पनीको चुक्ता पुंजी ३४ करोड ५४ लाख रहेकोमा ८३ प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६३ करोड २० लाख पुग्ने छ ।