०७४ को शेयरबजार उथलपुथलको बर्ष: ब्रोकरको हड्तालदेखि सी-आस्वाको कार्यन्वयनसम्म (बिशेष रिपोर्ट)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 13, 2018 | 11:24:49 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७४ साल शेयरबजारमा तिब्र उतार चढाब रह्यो। प्राथमिक बजार उत्साहपूर्ण रहेपनि दोश्रो बजार लगानीकर्ताका लागि शुखद हुन सकेन। २०७४ मा १६५१.६ अंकबाट सुरु भएको नेप्से परिसूचक बर्षको अन्तिम कारोबारमा १२७७.५५ अंकमा ओर्लिएको छ। बर्षभर नेप्सेमा ३७४.०५ अंकको गिरावट आयो। 

यस बर्षको शेयर कारोबार ४५.५२ अंकको गिरावटबाट सुरुवात भएको थियो भने ४.२२ अंकको सुधार भएर बर्षको शेयर कारोबार क्लोजिङ भएको छ। यो बर्ष नेप्सेको न्युनतम बिन्दु ११६८.६२ रह्यो भने अधिकतम उचाई १६९३.७२ रह्यो। 

२०७४ चैत १२ (मार्च -२६, २०१८) को कारोबारमा नेप्से परिसूचक न्युनतम बिन्दुमा ओर्लियो भने २०७४ बैशाख १० गते (अप्रिल २३, २०१७) नेप्से परिसुचक बर्षभरिकै उच्च बिन्दुमा पुग्यो।            

बर्षभरीमा नेप्से परिसुचक ३७४.०५ अंकले ओरालो लाग्दा कुल कारोबार रकममा समेत भारि गिरावट आयो। गत बर्ष २०७३ साउन १ देखि २०७४ बैशाख ३ सम्म (१६ जुलाई २०१६- १६ अप्रिल २०१७) सम्ममा २५१ कम्पनिका १ खर्ब ६१ अर्ब ६१ करोडको कारोबार भएको थियो। तर यस बर्ष साउन १ देखि चैत २९ सम्म (१६ जुलाई २०१७ -१२ अप्रिल २०१८) २५५ कम्पनिबाट ९४ अर्ब ३१ करोडको कारोबार भएको छ। 

गत बर्षसंगको तुलनामा यस बर्ष कुल कारोबार रकम ४१.६४ प्रतिशतले घटेको छ भने कारोबार आएका कम्पनि संख्या ४ ले बढेको छ। त्यस्तै गत बर्ष ३ लाख १० हजार ४६४ कित्ता शेयर खरिद बिक्रि भएको छ भने यस बर्ष २ लाख २५ हजार ६३५ कित्ता शेयर खरिद बिक्रि भएको छ अर्थात २७.३२ प्रतिशतले शेयर खरिद बिक्रि घटेको छ।

यस बर्ष नेप्सेमा सुचिकृत ४ वटा कम्पनिले फर्दर पब्लिक अफरिंग (एफपीओ) निष्काशन गरे। त्यस्तै यसै बर्ष १२ वटा कम्पनिले आइपीओ निष्काशनको अनुमति लिए। त्यस्तै ६९ वटा कम्पनीले ३६ अर्ब ८१ करोड रुपैयाँको हकप्रद बिक्रि गरे भने ५ म्युचुअल फन्डले ६ अर्ब ८९ करोडको इकाई निष्काशन गरे।

बर्षभरिमा सबै भन्दा बढी कारोबार हुने १० कम्पनि:


निराशाजनक रुपमा बितेको दोस्रो बजारलाई महँगो ब्याजदर, तरलता अभाब, सम्पति सुद्दिकरण, हकप्रदको भारि, राजनीतिक घटनाक्रम लगायतका बिषयले बर्षभर पछ्याईरह्यो। यस बर्ष शेयरबजारमा भएका केहि महत्त्वपूर्ण घटना:

सार्वजनिक निष्काशनका शेयर बिक्रि भएनन 

बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाब र लगानीकर्ताको आकर्षणमा आएको कमिको कारण एकै पटक इकाई बिक्रिमा आएका सिटिजन म्युचुअल फन्ड र एनआईसी एसियाको ग्रोथ फण्डको सम्पूर्ण इकाई बिक्रि हुन सकेनन। 

सिटिजन म्युचुअल फण्डले एक अर्बको इकाई निष्काशन गर्दा ८२ करोडको मात्रै बिक्रि भयो। यता एनआईसी एसिया ग्रोथ फण्डको एक अर्बको इकाई निष्काशन हुँदा ८३ करोड ५२ लाखको इकाई मात्रै बिक्रि भयो।

बिकेन बुटवल पावरको एफपीओ

२०७४ सालको अन्तिम ९ महिनापछि शेयरबजारमा बुटवल पावरको एफपीओ को चर्चा ब्यापक बन्यो। एफपीओ निष्काशन प्रक्रिया देखि नै विवादमा मुछिएको बुटवल पावर गत बर्षको नगद लाभांश घोषणा सम्म विवादमा नै रह्यो। विवादमा मुछिएकै कारण बुटवल पावरको एफपीओ बिक्रि नहुँदा प्रत्याभूत गरेका कम्पनिले एफपीओ सकार्नु पर्ने 'आपत' आईलाग्यो।

शेयरबजारमा ब्रोकरको 'हड्ताल'

२०७४ सालको असार १५ गते बिहिबारको दिन नेपाली शेयरबजारको लागि कालो दिन रह्यो। आन्तरिक राजश्व विभागले भ्याटमा दर्ता गर्न पत्राचार गरेको भन्दै शेयर दलाल व्यवसायीले असार १५ गते बिहिबारको दिन शेयर कारोबार बन्द गरेका थिए।

तरलता अभाब र महँगो ब्याजदर

२०७४ सालको सुरुवात देखि नै शेयरबजारलाई तरलता अभाब र महँगो ब्याजदरको 'कालो बादल' ले कहिल्यै छाडेन। जस कारण शेयरबजार निकै प्रभावित बन्यो। तरलता अभाबकै कारण लगानीकर्ताले बर्ष भर महँगो ब्याजदरको मार खेप्नु पर्यो। महँगो ब्याजदरकै कारण केहि संस्थागत लगानीकर्ता मुद्दती निक्षेप तर्फ आकर्षित भए जस कारण शेयरबजारमा माग र आपूर्तिको असन्तुलन बढ्यो। 

हकप्रदको बाढी कायमै 

नेप्सेमा सुचिकृत अधिकांश कम्पनिहरुले (बिशेषत: बैंक वित्तीय संस्था) चुक्ता पुंजी वृद्धिका लागि मर्जर तथा प्राप्तिको विकल्पको साट्टो हकप्रदको विकल्प रोजे। यसै कारण शेयरबजारमा माग र आपूर्तिको सन्तुलन भत्किन पुग्यो र नेप्से परिसूचक बर्षकै न्युनतम ११९२ को बिन्दुमा ओर्लियो। 

हकप्रदले शेयरको आपूर्ति बढ्दै गर्दा एका तर्फ तरलता अभाबको मार खेपेका लगानीकर्तालाई पैसा जुटाउन गाह्रो भयो भने आफुसंग भएको शेयर सस्तोमा बेचेर पैसा जुटाउनु पर्दा ठुलो नोक्सानी समेत बेहोर्न बाध्य भए। 

शेयर बजारमा राजनीतिक तरङ्ग र तरलता अभाब 

२०७४ साल नेपालको लागि एक हिसाबले ऐतिहासिक रह्यो। तीन वटा निकायको चुनाव सम्पन्न भयो। निर्वाचनकै कारण २०७४ सालमा अधिकांश समय निर्वाचन आचार संहिता कायम रह्यो। जस कारण पुँजीगत खर्च लागायतका राज्यको खर्च समयमा हुन सकेन। र परिणाममा बैंकिङ प्रणालीले तरलता अभाबको समस्या भोग्यो। 

निर्वाचनको परिणाम बाम सरकारको पोल्टामा गयो। समाजबाद उन्मुख अर्थतन्त्रको नारा दिएका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारलाई निजि तथा बैदेशिक लगानीकर्ताले बिश्वास गरिनसकेको अवस्थाले समेत लगानीमा संकुचन आयो। यसले पनि बैंकिङ प्रणालीमा आउने पैसाको बाटो रोकियो। 

अर्को तर्फ निर्वाचनमा ठुलो मात्रामा स्रोत नखुलेको पैसा खर्च भयो। तर त्यो पैसा बैंकिङ प्रणालीमा आउन राष्ट्र बैंकको नीति नै बाधक बन्यो। एक लाख बढी डिपोजिट गर्दा स्रोत मागियो भने दैनिक १० लाख भन्दा बढी पैसा बैंकबाट झिक्न कडाई गरियो। यसले एका तर्फ बैंकिङ प्रणालीमा आउन सक्ने सम्भावित पैसाको बाटो रोकियो भने अर्को तर्फ ठेक्का पट्टामा लाग्नेहरुले घरमै 'बैंक' बनाएर कामदार तथा सम्बन्धितलाई पैसा वितरण गरे। जसले बैंकिङ प्रणाली 'बाईपास' हुन पुग्यो। 

ब्याजदरमा तिब्र उतारचढाब 

२०७४ साल लगानीयोग्य रकम अभाबका कारण बैंकिङ प्रणालीमा ब्याजदरमा तिब्र उतार चढाब रह्यो। बजारमा रहेको सिमित पैसा तान्न बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर झन्डै १४ प्रतिशत पुर्याए भने बचत खाताको ब्याजदर ११ प्रतिशतसम्म पुर्याए। संस्थाहरुको निक्षेप तान्न बैंकहरुले ब्याजदरमा वृद्धिमा देखाएको अस्वस्थ प्रतिस्पर्धाले राष्ट्र बैंकलाई समेत 'आच्छु आच्छु' बनायो । 

आस्वा र सीआस्वा 

२०७४ साल शेयरबजारका लागि पुरै नकरात्मक र दुखदायी मात्र रहेन, कयौं प्रशंसनीय घटनाक्रमले समेत स्थान पाए। ति मध्ये आस्वा र सीआस्वा सबैभन्दा महत्वको बिषय बने। 

सार्वजनीक निष्काशन (आइपीओ आबेदन) मा एकीकृत प्रणाली लागू गर्न आस्वा को भूमिका महत्त्वपूर्ण रह्यो।  घन्टौं घन्टौं लाइनमा बसेर सार्वजनिक निष्काशनका शेयरमा आबेदन दिन बाध्य लगानीकर्ताले आस्वा मार्फत सहजै सार्वजनिक निष्काशनको शेयरमा आबेदन दिन पाए। यस प्रणालीले एका तर्फ लगानीकर्ताको समय बचत गरिदियो भने शेयर बाँडफाँड समेत छिट्टै सम्भव बनायो। 

सी-आस्वा 

शेयरबजारलाई बिशेष गरि प्राथमिक बजारलाई प्रविधि मैत्री बनाउन सी आस्वाले उल्लेख्य भूमिका निर्वाह गर्यो। सी आस्वा मार्फत लगानीकर्ताले न केवल अनलाइन मार्फत सार्वजनिक निष्काशनका शेयरमा आबेदन दिए। बरु निष्काशन अवधि सकिएको ३६ घण्टामै शेयर बाँडफाँड समेत संम्भव बनायो। यसले प्राथमिक बजारमा सार्वजनिक निष्काशनमा नेपालको शेयरबजारलाई नयाँ उचाईमा पुर्यायो। 

शेयरबजारको बिस्तार 

शेयरबजारको बिस्तारको लागि पनि बर्ष २०७४ महत्त्वपूर्ण रह्यो। काठमाडौंको चक्रपथमा सिमित रहेको नेपालको शेयर बजार ५० शेयर ब्रोकरका  ४१ शाखा मार्फत राजधानी बाहिर फैलिए। बर्षको अन्त्य तिर थप शाखा बिस्तार गर्न केहि ब्रोकरलाई बोर्डले अनुमति दिने तयारि थालेसंगै शेयरबजार देशभर फैलिन मद्दत पुगेको छ। हालै मात्र जनकपुर र दाङबाट समेत ब्रोकरको माग आएको छ।  

त्यस्तै यस बर्ष मर्चेन्ट बैंकररको संख्या समेत बढेर २७ पुगेका छन भने थप ६ संस्था अनुमति प्राप्तिको बाटोमा छन। मर्चेन्ट बैंकरको विस्तारसंगै शेयरबजारमा लगानीकर्तालाई ठुलो राहत मिलेको छ।

मर्चेन्ट बैंक मध्ये सिद्दार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टको दुई मुचुअल फण्ड परिपक्व भएका छन। अहिलेपनि १२ मुचुअल फण्ड शेयरबजारमा सक्रिय छन भने अझैं केहि मुचुअल फण्ड अनुमतिको पर्खाईमा छन।

गैर आवासीय नेपाली तथा बिदेशी संस्थागत लगानीकर्ता 

गैर आवासीय नेपाली तथा बिदेशी संस्थागत लगानीकर्तालाई शेयरबजारमा भित्र्याउन नेप्सेले कानुनी प्राबधानहरुलाई नेपाल सरकार, राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्से बोर्ड सहितको सहभागितामा धितोपत्र बोर्डबाट एक समिति निर्माण गरि कार्य अगाडी बढाएको छ।  

मार्जिन ल्यान्डिङ 

धितोपत्र दलाल मार्फत मार्जिन ल्यान्डिङ प्रदान गर्ने सन्दर्भमा नेप्सेले प्रारम्भिक छलफल सम्पन्न गरि तय गरिएको प्राबधानलाई हाल धितोपत्र बोर्डले अन्तिम रुप दिने क्रममा छ। धितोपत्र बोर्डबाट यस सम्बन्धि खाका प्राप्त भैसकेपछि र  नेप्से र सीडीएससीले सम्बन्धित सरोकारवालासंग छलफल सकेपछि तथा नयाँ नीतिगत, प्रकृयागत तथा प्राविधिक व्यवस्था मिलाएपछी मार्जिन ल्यान्डिङ कार्यन्वयन हुनेछ। 

सचेतना कार्यक्रम 

सचेतना कार्यक्रम गरि शेयरबजारलाई देशभर फैलाउन र लगानीकर्तालाई शेयर शिक्षा दिन बर्ष भर दर्जनौं संघ संस्थाहरु सक्रीए रहे। जुन शेयरबजारको बिस्तारका लागि कोशेढुंगा साबित भएको छ। सचेत फैलाउने कार्यमा विभिन्न मिडिया, लगानीकर्ताका अगुवा, संघ संस्था, नेप्से र सेबोनको समेत महत्त्वपूर्ण भूमिका रह्यो। 

विकास बैंक र लघुवित्तको समुहलाई अलग्याउने काम सम्पन्न 

नेप्सेले विकास बैंक र लघुवित्तको समुहलाई अलग्याउने काम सम्पन्न गरेको छ। नेप्से प्रमुखमा नियुक्त भए लगत्तै चन्द्र सिंह साउदले असोज २९ गते विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राख्ने निर्णय गरेका थिए। दुवै बिल्कुलै फरक पाटो भए पनि एउटै उपसमूहमा राख्दा लगानीकर्ता अन्यौलमा परेकाले विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राख्ने निर्णय भएको हो। 

नेप्सेको स्थापना हुँदा ६ वटा मात्र उपसमुह थिए। पछी २०५८ सालमा यी ६ वटा उपसूचकलाई पनि टुक्राएर ९ वटा बनाइएको थियो। कम्पनीको प्रकृति अनुसार १३ वटा उपसूचकमा सुचिकृत कम्पनीहरुको कारोबार मापन हुँदै आएको छ। 

नेप्सेमा नागरिक लगानी कोषको समूह परिवर्तन 

२०७४ सालमा नेप्सेले नागरिक लगानी कोषको समूह परिवर्तन गरेको छ । नेप्सेले पुस १९ गतेको निर्णयलाई कार्यन्वयन गर्दै पुस २३ गतेदेखि नागरिक लगानी कोषको समूह परिवर्तन गरेको हो ।   

यस अघि नागरिक लगानी कोषलाई बित्त समूह अन्तर्गत राखी कारोबार गर्दै गराईदै आएकोमा नागरिक लगानी कोषलाई अन्य समूहमा राखी कारोबार सुरु गरिएको हो ।

नगद लाभांश बजार मुल्यको १० प्रतिशत बढी भएमा मुल्य समायोजनको व्यवस्था 

नेप्सेले नगद लाभांश बजार मूल्यको १० प्रतिशत बढि भएमा मूल्य समायोजन गरिने व्यवस्था गर्यो। २०७४ भदौ १५ गते अर्थमन्त्रालयबाट नगद लाभांश समेत समायोजन गर्न निर्देशन प्राप्त भएपश्चात नेप्सेले उक्त व्यवस्था कार्यन्वयन गर्यो।  

यसअघि कम्पनीहरुले दिने बोनस सेयर र हकप्रदको आधारमा मात्र सेयर मूल्य समायोजन हुने गरेको थियो । कम्पनीहरुले लाभांश घोषणापछि साधारण सभाको लागि उल्लेख गर्ने बुक क्लोज मितीमा मूल्य समायोजन गरिने चलन छ ।नेप्सेले कम्पनीको अन्तिम सेयर मूल्यलाई दिने बोनस सेयरको प्रतिशतले भाग गरेर औसत मूल्य निकालेर समायोजन गर्छ ।

गभर्नर खतिवडाको आगमन 

२०७४ सालको अन्त्य तिर शेयरबजारले अर्थतन्त्र बुझेका गभर्नर खतिवडालाई अर्थमन्त्रीको रुपमा पाएको छ। स्पष्ट कुरा गर्ने तर कडा मिजासका अर्थमन्त्री खतिवडा प्रति शेयरबजार सकारात्मक बन्न सकेन। यस्तो हुनुमा उनको भनाईलाई 'अतिरन्जित' गरियो भने अर्को तर्फ बाम सरकार शेयरबजार प्रति सकारात्मक छैन भन्ने संदेश दिन अनेक 'तिकडम' गरियो, जस कारण अधिकांश लगानीकर्ताका लागि अर्थमन्त्री खतिवडा 'भिलेन' बन्न पुगे। 

अनलाइन ट्रेडिङ  

२०७४ सालमा सर्वाधिक चर्चाको बिषय बन्यो अनलाइन ट्रेडिङ। २०७२ भदौ १० गते गोरखापत्रमा अनलाइन कारोबार प्रणाली निर्माणको टेण्डर आब्हान गरीएपश्चात सुरु भएको 'अनलाइन ट्रेडिङ' प्रकृया आजको दिनमा पनि कार्यन्वयन हुन सकेको छैन। 

वाईको नामक कम्पनिलाई अनलाइन ट्रेडिङको निर्माणको जिम्मा दिईएपछी सुरु भएको विवाद २०७३ माघ १८ गते अन्त्य भयो र कार्यन्वयनको प्रक्रिया पुन: सुचारु भयो। नेप्सेले २०७४ बैशाख ६ देखि लागू हुने गरि उक्त स्थगित परियोजना १४ महिना भित्र उपलब्ध गराउनुपर्ने गरि वाईको लाई नै अनलाइन ट्रेडिङको निर्माणको जिम्मा दिईयो। 

नेप्से झन्डै ४ महिना कार्यकारी प्रमुख नहुँदाको अवस्थामा शिथिलता आएको भएपनि अहिले अनलाइन ट्रेडिङ निर्माणको कार्य अन्तिम चरणमा पुगेको बिजपाटीलाई जानकारी आएको छ। अनलाइन ट्रेडिङका लागि प्रयोग हुने कुल १६ मोडल र अन्य उप मोडलहरुको परिक्षण सफलता पूर्ण सम्पन्न भईसकेको छ। अब एकीकृत परिक्षण बाँकी रहेको र तोकिएको समयमै अनलाइन ट्रेडिङ कार्यन्वयनमा आउने बताइएको छ। यस अर्थमा  विभिन्न विवादमा रुमलिएको अनलाइन ट्रेडिङ प्रक्रिया कार्यन्वयनको चरणमा प्रवेश गरेको छ।  

नेप्सेको महाप्रबन्धकमा साउदको नियुक्ति

नेप्सेको महाप्रबन्धकमा विमा बिज्ञ चन्द्रसिंह साउदले नियुक्ति पाए। साउदले नेप्से संचालक समितिका अध्यक्ष लक्षमण न्यौपानेबाट असोज २५ गते बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरि कार्यारम्भ गरे     

साउदलाई असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार बर्ष कार्यकालका लागि नेप्सेको प्रमुख कर्यकारी अधिकृतमा नियुक्त गरेको हो।

यस बर्ष धितोपत्र बोर्डबाट भएका महत्त्वपूर्ण काम

-धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका जारी

-मार्जिन कारोबारसम्बन्धी नीतिगत व्यवस्था

-नयाँ क्रेडिट रेटिङ संस्थालाई सञ्चालन अनुमति प्रदान    

-वस्तु विनिमय बजार (Commodity Derivative) सम्बन्धि विधेयक तयार 


२०७४ सालमा शेयरबजारमा भएका महत्वपूर्ण घटनाक्रमलाई यहाँ समेट्ने प्रयास गरिएको छ। यदि तपाईसंग माथि उल्लेख भएका बाहेक  कुनै बिशेष घटनाक्रम स्मरणमा छ भने  [email protected] मा इमेल गर्नुहोस, हामि त्यसलाई स्थान दिनेछौं-सम्पादक

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved